कोरोना संक्रमित बढ्दा जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामद्वारा नमुना संकलन अस्वीकार

Avatar आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७

पाेखरा, २४ जेठ । नेपालमा पछिल्लो समय दिनप्रतिदिन कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जसका कारण कोरोना जाँचका लागि नमुना संकलन पनि त्यत्तिकै संख्यामा बढ्दा परीक्षणमा भने समस्या उत्पन्न भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले सूचना जारी गर्दै दैनिक १ सयमात्र परीक्षण गर्ने क्षमता रहेकोमा करिब ४ हजार बढी नमुना परीक्षण बाँकी रहेको भन्दै हाललाई थप नमुना स्वीकार गर्न नसक्ने जनाएको छ ।

साथै, आफ्नो प्रयोगशालासँग पूर्व स्वीकृतिबिना नमुना नपठाउन अनुरोध गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जेठ २३ को पत्रअनुसार नमुनाको लेवलिङ, प्याकिङ र फाराम भर्नेमा त्रुटिका कारण जेठ २१ र २२ मा पठाइएको परीक्षण रोकिएकोले विभिन्न पालिकाबाट संकलित नमुना सोझौ वा सम्बन्धित जिल्लासँग समन्वय गरी टेकुमा जाँचका लागि पठाउन आग्रह गरिएको छ ।

हाललाई थप नमुना स्वीकार गर्न नसक्ने

आगामी दिनमा सम्बन्धित जिल्लाको कोभिड–१९ समितिबाट स्वीकृति नामावली अनुसार तालिमप्राप्त जनशक्तिबाट नमुना संकलन गर्न गराउन अनुरोध छ, सूचनामा भनिएको छ, प्रयोगशालाका निर्देशक रामविनय शाहद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा प्रदेश २ को सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय एवं पालिकालाई सम्बोधन गरिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । शनिबारमात्र ३ सय २३ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाम्रो सुझाव