समाजसेवी विष्टलाई ‘कोभिड–१९ हिरो’ अवार्ड

रासस
जेठ २४, २०७७
unnamed (2)

सुर्खेत, २४ जेठ । कोरोना भाइरस कोभिड–१९ विरुद्ध उल्लेखनीय सामाजिक कार्य गरेवापत सुर्खेतका हरि विष्ट सम्मानित भएका छन् । अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाद्वारा उनलार्ई ‘कोभिड–१९ हिरो’ अवार्डबाट सम्मान गरिएको उक्त संस्थाले जनाएको छ ।

उनले लकडाउनका बेला प्रदेश राजधानी वीरेन्द्रनगरमा अतिविपन्न, अपाङ्गता भएका परिवार, डेरामा बस्ने विद्यार्थी तथा बेसाहरा भएका व्यक्तिलाई ग्याससहित खाद्य सामग्री सहयोग गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुक, फोन सम्पर्कमा आएको प्राप्त सूचनाका आधारमा सहयोग सामग्री प्रदान गरेका थिए ।

उनले पछिल्लो दुई महिनाको अवधिमा व्यक्तिगतरूपमा १५० परिवारलाई खाद्यान्न र २१ परिवारलाई खाना पकाउने ग्यास सहयोग गरेको बताए । “समस्यामा परेका नागरिकलाई दिनरात नभनी आफ्नो व्यक्तिगत सम्पत्तिको लोभ नमानेर सहयोग गरेँ, अवार्ड पाउँदा एकदम खुशी छु”, सम्मानित भएपछि उनले भने “समाजसेवी कार्य अझै गरिरहेको छु, भविष्यमा पनि गर्नेछु, मूल्याङ्कन समाजले गर्नेछ, समाजसेवी अभियानबाट थाक्नेछैन ।”

नेपालका विभिन्न स्थान र भारतबाट आउने कर्णालीवासीलाई खाजा, खाना र पानीको व्यवस्था गर्दै आएको उनले बताए । त्यस्तै कतिपयलाई यातायात भाडाका लागि नगद पनि सहयोग गरेको उनको भनाइ छ । ‘हामी नेपाली ग्लोबल’ ले प्रत्येक दुई वर्षमा अवार्ड घोषणा गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width