पोखराबाट काठमाडौं उपचारार्थ लगिएका बिरामीलाई कोरोना संक्रमण

बिरामीलाई काठमाडौं अस्पतालमै सरेको दाबी

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
corona

काठमाडौंको ह्याम्स अस्पतालमा उपचारार्थ रहेका कास्कीका संक्रमितलाई अस्पतालबाटै सरेको हुन सक्ने दाबी गरिएको छ ।

पोखरामा बस्दै आएका उनी कोठामै बेहोस भेटिएपछि उपचारार्थ गण्डकी मेडिकल कलेज, नयाँबजार पोखरामा लगिएको थियो । उनको केस जटिल बन्दा अस्पतालले थप उपचारार्थ काठमाडौं लैजान सुझाएपछि हेलिकोप्टरमार्फत सोही दिन काठमाडौं लगिएको थियो ।

ती बिरामीसँगै हेलिकोप्टर चढेर काठमाडौं पुगेकामध्ये एक जनाले भने, ‘उहाँलाई पोखरामा त्यस्तो लक्षण देखिएको थिएन । शरीरमा सोडियम मात्रा कम देखिएको भनिएकोमात्र थियो । हामीहरु सोही दिन हेलिकोप्टरबाटै फर्कियौं । मलाई कोरोनाको त्यस्तो कुनै लक्षण छैन । उहाँलाई अस्पतालमै संक्रमित देखिएको हुन सक्छ । ’

काठमाडौंमा सुरुवातदेखि नै भेन्टिलेटरमा राखिर उपचार गरिएकोमा बिहीबारमात्र त्यहाँबाट सारेर आईसीयुमा राखिएको अस्पताल स्रोतले जनाएको छ । त्यहाँ उनको स्वाब कलेक्सन गरी पीसीआर गरिएको थियो ।

उनीसँग धेरैजना सम्पर्कमा आएकोले प्रदेश सरकारले तत्काल कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिन्छ

बेहोस अवस्थामा भेटिएका ती पुरुषलाई उपचारार्थ चारदिन अघि गण्डकी मेडिकल कलेज र काठमाडौं ह्याम्ससम्म पुर्‍याउँदा धेरैजना सम्पर्कमा आएकोले प्रदेश सरकारले तत्काल कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिन्छ ।

आदर्श समाजसँगको कुराकानीमा बिरामीसँगै हेलिकोप्टरमा गएकाले आफूहरुलाई अहिलेसम्म प्रदेश स्वास्थ्य निर्देशनालयबाट सम्पर्क नगरिएको बताए ।

कास्की पनि रहेन अछूतो

नेपालमा अघिल्लो दिन बिहीबारसम्म ६५ जिल्लाका कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । कुल ७७ मध्ये कास्की पनि ‘चोखै’ थियो ।

जिल्लाभित्र वा यहाँ स्थायी बसोबास भइ नेपालमा अन्यत्र जुनसुकै ठाउँमा रहे भए पनि कोरोना संक्रमित पुष्टि भएको थिएन । तर शुक्रबार भने मन्त्रालयले कास्कीका ६० वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा सार्वजनिक गरेको छ । काठमाडौंको निजी अस्पतालमा उपचाररमा भनिएका ती पुरुष कास्की कुन ठाउँका हुन् भन्ने पूरा ठेगाना खुलाइएन ।

यता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशबाहेक बाहिरी जिल्लामा भेटिएकालाई आफ्नो तथ्यांकमा समावेश गर्न छाडेको छ । तर मन्त्रालयले अस्थायी नभई स्थायी ठेगानालाई नै आधार मान्ने गरेको छ । जसले गर्दा कास्कीका भनिएका ती पुरुष प्रदेशको गणनामा छैनन् ।

यसअघि, लमजुङ घर भई काठमाडौंमा संक्रमण पुष्टि भएका ३ वर्षे बालकको पनि प्रदेश स्वास्थ्य निर्देशनालयले संक्रमितको सूचीमा सुरुवातमा समेटेन । पछि ती बालक उपचारपछि निको भई घर फर्केपछि भने जेठ १८ को विज्ञप्तिको कैफियत खण्डमा ‘हिजो रिपोर्ट प्राप्त’ उल्लेख गर्दै आफ्नो सूचीमा समेट्यो । त्यस्तै संक्रमित संख्या ५४ पुग्दासम्म सूचीमा लमजुङ छोडियो । शुक्रबार तनहुँमा थप २ नयाँ संक्रमित भेटिए । योसँगै प्रदेशमा शुक्रबार बिहानसम्म कुल संक्रमित ५६ पुगिसकेको छ । गण्डकी प्रदेशअन्तर्गत गोरखा पनि संक्रमितको सूचीमा परेको छ । त्यहाँ घर भएका एक व्यक्तिलाई धनगढीमा पीसीआर परीक्षणमा शुक्रबार कोरोना देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा गत वर्ष ९ माघमा सर्वप्रथम कोरोना संक्रमण देखा परेको हो । चीनबाट आएका एक विद्यार्थीमा पहिलो संक्रमण देखा परेकोमा त्यसको २ महिनापछि फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी काठमाडौंकी युवतीमा १० चैतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । त्यसपछि सरकारले ११ चैतदेखि लकडाउन सुरुवात गर्‍याे । त्यसको भोलिपल्ट १२ चैतमा धादिङका ३२ वर्षीय युवकमा देखा पर्‍यो । उनी पनि विदेशबाट आई त्रिभुवन विमानस्थल उत्रिएका थिए ।

राजधानी बाहिर भने गण्डकी प्रदेशअन्तर्गत बागलुङमा नयाँ केस देखियो । बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीलाई १५ चैतमा कोरोना पुष्टि भएको हो । उनी मोफसलमा संक्रमित भेटिएकी पाँचौ ‘केस’ हुन् । बागलुङ धौलागिरि अस्पतालमा उपचारपछि १२ वैशाखमा डिस्चार्ज भइन् । छैटाै संक्रमित पुनः बागलुङमै पत्ता लाग्यो । सोही विमानबाट आएकी ६५ वर्षीया महिला उपचारपछि ५ वैशाखमा डिस्चार्ज भइन् । त्यसपछि लामो समयसम्म गण्डकीमा कोरोना संक्रमित फेला परेनन् ।

१ जेठमा आएर नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो । ६ जेठमा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा प¥यो । उनी गण्डकीको लागि चौथो संक्रमित भए । ९ जेठसम्म नवलपुर विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखियो ।

यसरी दुई साताअघिसम्म गण्डकीमा मात्र ५ जना कोरोना संक्रमित थिए । त्यसबेला देशका ४० जिल्लामा फैलिएकोमा संक्रमितको संख्या ५ सय १६ मात्र थियो ।

२३ जेठसम्म देशभर संक्रमितको संख्या भने उच्च छ । देशभर २ हजार ९ सय १२ संक्रमित भेटिएको छ । गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा केस छैनन् । प्रदेशमा क्रमशः स्याङ्जा, म्याग्दी, तनहुँ, पर्वतमा पनि संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये उपचारपछि निको हुने पनि बढ्दै छन् । हालसम्म ३ सय ३३ जना निको भए । गण्डकीबाट ५६ मध्ये ३ लाई निको छ । निको हुनेमा पहिले लमजुङसहित बागलुङका केस जोडिएकोमा पछि लमजुङ प्रतिस्थापन गरी नवलपुरको केसलाई समेटिएको हो ।

अब गण्डकीमै समेट्छौं : शर्मा

फोकलपर्सन रहेका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले गण्डकी प्रदेश स्थायी घर भई बाहिर संक्रमित देखिए पनि अब प्रदेशमै समेट्ने जानकारी दिएका छन् ।

कास्की र गोरखा स्थायी घर भएका व्यक्तिलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको उल्लेख गर्दै उनले ती संक्रमितको गणना गण्डकीमै हुने स्पष्ट पारेका हुन्।

आदर्श समाजसँगको कुराकानीमा उनले भने, ‘पहिले लमजुङको पनि त्यस्तै भयो । अब सुधार हुनेछ । आजको केसमा पनि गण्डकी प्रदेशअन्तर्गत सम्बन्धित जिल्ला समेटिनेछ ।’

५४ केस देखिँदासम्म प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको कोरोना संक्रमितको विवरण । 

प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसअघि लमजुङको केस समेटेर जारी गरेको विज्ञप्ति

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width