फराकिलो बन्यो तानसेन-हार्थोक सडक

रासस
जेठ २३, २०७७
Tansen-palpa-Nepal

पाल्पा, २३ जेठ । पाल्पाको मुख्य सडक तानसेन–हार्थोक सडक विस्तारको कामले तीव्रता पाएको छ । तानसेन–तम्घास सडकअन्तर्गत तानसेन नगरपालिकाभित्र पर्ने सडक चौडा बनाउने काम भएको हो । ‘लकडाउन’को अवधिमा पनि तानसेन नगरपालिकाले बतासेडाँडा, ढुङ्गाखानी, सम्मोबारी, सामाकोट र बाहुनडाँडासम्म सडक विस्तारको कामलाई निरन्तरता दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

तानसेन नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को रु ८३ लाख बजेटमा तानसेनदेखि रिब्दीकोट गाउँपालिकाको पूर्वी सिमाना बाहुनडाँडासम्म सडक चौडा गर्ने काम भइरहेको इन्जिनीयर रामप्रसाद श्रेष्ठले बताए । सडकको चौडाइ पराकिलो बनाउने काम झण्डै ७० प्रतिशत सम्पन्न भएको उनको भनाई छ । “सडकको माथिल्लो र तल्लो भागमा पर्खाल लगाउने, बाहुनडाँडा क्षेत्रमा झण्डै २५० मिटर सडक फराकिलो र वनदेवी क्षेत्रमा रुख कटान गर्नेबाहेकका काम पूरा भएको छ”, उनले भने “चालू आवको असार २५ गतेभित्र सडक विस्तारका काम सबै पूरा हुने गरी कार्य भइरहेको छ ।”

तानसेन-हार्थोक सडकमा गुल्मी, अर्घाखाँची, बागलुङ, पाल्पाको ग्रामीण क्षेत्र र रैनादेवी छहराको सिद्देश्वरबाट चुनढुङ्गा बोकेर दैनिक सयौँ साना तथा ठूला सवारी साधन आवतजावत गर्दा सडक अवरुद्ध बन्दै आएको थियो । पाल्पाकै प्रसिद्ध भैरवनाथ मन्दिर र पाल्पा, गुल्मी, स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडी आउनेजाने पर्यटक यही सडक प्रयोग गर्ने भएकाले यातायातको चाप बढ्दो रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

साँघुरो सडकमा साना तथा ठूला यातायातका साधनको चाप बढ्दो थियो । पाँच ६ किलोमिटर सडक फराकिलो हुँदा आवतजावतमा सहज भएको तानसेन नगरपालिकाका प्रवक्ता तथा वडा नं. ११ का वडाध्यक्ष दामोदर घिमिरेले बताए । सडकको स्तरोन्नति भएपछि यातायातका साधन सञ्चालनमा सहज भएको उनको भनाइ छ । सवारी चापका कारण लामो समय सडक जाममा रहनुपर्ने बाध्यता टरेको सवारीचालक रामबहादुर बम्रेलले बताए । हार्थोकदेखि तानसेनसम्मको सडक साँघुरो हुँदा रोकेकोरोकै गर्नुपर्ने अवस्था अहिले हटेको चालक बम्रेलको दाबी छ । यात्रा सहज र छिटो हुने भएपछि चालक तथा यात्री दुबै खुशी छन् ।

कालोपत्रका लागि टेण्डर आह्वान

सडक डिजिभन कार्यालय पाल्पाका प्रमुख केदारप्रसाद नेपालले तानसेन–हार्थोकअन्तर्गत सडकमा कालोपत्रका लागि टेण्डर आह्वान गरिएको बताए । यसै आवमा सम्पन्न हुने गरी रु दुई करोडको लागतमा कालोपत्र हुने उनले बताए ।

ढुङ्गाखानी हार्थोक सडक खण्डमा सडकको सामान्य मात्रामा कटिङ, पर्खाल निर्माण, कालोपत्र र नालीको काम गर्न १५ दिनको म्याद राखी टेण्डर आह्वान गरिएको उनले बताए । पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेको पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटमार्फत कालोपत्र हुने सडक डिभिजन कार्यालयका इन्जिनीयर सुवी खत्रीले बताए ।

तानसेन–बर्तुङ, रिडीको टेण्डर

पाल्पाको तानसेन–बर्तुङ सडकको स्तरोन्नति हुने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु दुई करोड बजेटमा कटिङ, नाली, पर्खाल, कालोपत्र काम हुने सूचना अधिकारी खत्रीले बताए ।

एक हजार ५०० मिटर सडकको स्तरोन्नति हुने र आठदेखि १० मिटरसम्म सडक चौडा बनाउने काम यसै आवमा सम्पन्न गर्ने गरी टेण्डर आह्वान गरिएको छ । त्यसैगरी रिडी–हार्थोक सडक खण्डको स्तरोन्नति हुनेछ । सूचना अधिकारी खत्रीले तीनवटा सडकको स्तरोन्नतिका लागि टेण्डर आह्वान गरिसकिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width