दिपायल विमानस्थलको कालोपत्रलगायत स्तरोन्नतिको काम सम्पन्न

रासस
जेठ २२, २०७७
BBB_Doti-jahajkoparkhaimadipayalbimanyasthal(2)

निर्माण सम्पन्न डोटीको दिपायल विमानस्थलको धावनमार्ग । धावनमार्ग संघीय सरकारको बजेटबाट स्तरोन्नति गरिएको हो । तस्वीर विमलबहादुर विष्ट, रासस

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रलगायत स्तरोन्नतिको काम सम्पन्न भएको छ।

विमानस्थलमा कालोपत्रको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाललगायत कामसहित विमानस्थलमा रेखाङ्कन गर्ने कार्य पनि सम्पन्न भएको छ। करिब साढे पाँच करोडको लगानीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम सप्नाग्याल्भा तथा भेबी कन्ट्रक्शनले दुई वर्षपहिले जिम्मा लिएको थियो। विमानस्थल निर्माणको सम्पूर्ण काम सकिएपछि जहाज सञ्चालन गर्न पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।

लामो समयदेखि यात्रु अभावको कारण देखाउँदै बन्द अवस्थामा रहेको दिपायल विमानस्थल डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नति तथा कालोपत्रको काम गरिएको हो । विमानस्थलको सम्पूर्ण काम सम्पन्न भई जहाजको पर्खाइमा रहेपछि स्थानीयबासीमा भने उत्साह छाएको छ।

गत वर्ष असारमा सक्ने लक्ष्यसहित विसं २०७४ मा कालोपत्रसहितको निर्माण शुरु गरिएको थियो । कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम पनि सकिएको भेबी कन्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताए। उनले भन्नुभयो, “हामीले विमानस्थलको सबै काम सकेका छौँ, केही दिनमा विमानस्थल हस्तान्तरण गर्ने तयारीमा छौँ ।” विमानस्थलमा रनवे रेखाङ्कनलगायतका काम पनि सम्पन्न भएको उनले जानकारी दिए।

दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले ढिलै भए पनि अहिले आएर सम्पूर्ण काम सकेको र अब जहाज आउने कार्यमात्रै बाँकी रहेको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए।

उनले भने, “विमानस्थलको सम्पूर्ण काम सकिएको छ, डोटीलगायत समग्र पहाडी जिल्लाको चाँडो विकास गर्ने हो भने अब छिट्टै जहाज चलाउनु जरुरी छ।” निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा उक्त विमानस्थल निर्माण कार्य ढिला हुँदै आएको थियो । विगतमा लक्ष्यअनुसार काम नहुँदा कालोपत्रको काम नै शुरु नभएर यो विमानस्थलको काम अलपत्र परेको थियो।

अहिले बल्ल आएर विमानस्थलको सम्पूर्ण काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका डम्बर भण्डारीले बताए। उनले भने, “विमानस्थलको काम सम्पन्न भएको छ, अब सबै राजनीतिक दलको पहलमा नियमितरुपमा जहाज चलाउनुपर्छ ।” दिपायल विमानस्थल सङ्गै कालोपत्र निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ।

उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा बैतडीका स्थानीयवासी पनि खुशी भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुईवटा विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताए। उनले भने, “हामीसँग अथाह पर्यटन क्षेत्र छन् तिनको विकास र प्रचारप्रसार गर्ने हो भने सुदूरपश्चिम प्रदेशका दिपायल र बैतडीको पाटनमा नियमित जहाज चलानुपर्छ।”

दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडीकेदार, वैद्यनाथ धामलगायतका धार्मिक क्षेत्रमा पर्यटक भित्र्याउन सकिने डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए। उनले भने, “सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँहरु हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके, पर्यटकमात्रै भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो र आम्दानी हुनेछ।”

Related News

सम्बन्धित समाचार

hero news full width