‘कहिले सासूको पालो, कहिले बुहारीको पालो !’

prakash dhakal प्रकाश ढकाल
जेठ २२, २०७७

पोखरा । काँग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले कोरोनाविरुद्धको अभियानमा सरकार असफल भएको टिप्पणी गरे । ‘शुरु अवस्थाको लकडाउनबाहेक अरु पक्ष होसपूर्वक नगरिएको जस्तै शुरु शुरु प्लेनमा आउनेलाई एयरपोर्टमा ट्रेसिङ नगरेका कारण बागलुङले शुरुको तनाव भोग्यो । अहिले इण्डियाबाट आउनेहरुका कारण त्यस्तै तनाव छ,’ उनले भने, ‘उनीहरुलाई ठीकसँग व्यवस्थापन नगर्दा क्वारेन्टाइन नै संक्रमण उद्योग बन्न पुग्यो ।’

सांसद कुमार खड्काले सरकारले बोलेको काम पूरा गर्न नसकेको भन्दै नीति तथा कार्यक्रममाथि कटाक्ष गरे । ‘‘फूलको आँखामा फूलै संसार’ गीत खुब घन्किएको छ, संसद्मा । फूल माननीयहरु त्यसमा पनि सूर्यमुखीफूल माननीयहरुले बोल्नुभएको छ, उनले व्यङ्ग्य गरे, ‘हामी त काँडा माननीय परियो । काँडाको धर्म त कोप्ने नै होला । म त्यही कर्तव्य निर्वाह गर्न यहाँ उपस्थित छु । फूलको रक्षाका लागि आवश्यक परे फूललाई नै कोप्नुपरे पनि डग्दैन ।’ उनले सरकारलाई फूल र प्रतिपक्षीलाई काँडाको रुपमा चित्रित गरेका हुन् ।

सांसद कृष्ण थापाले नीति तथा कार्यक्रम चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड भन्दै प्रतिपक्षीमाथि खनिए ।

उनले विगतमा गरेका वाचा र नीति तथा कार्यक्रम पूरा गर्न नसकेकोमा जवाफ मागे । ‘कागजमा लेखिरहने तर काम नगर्ने यो प्रवृत्ति सरकारको लागि लज्जाको विषय होइन ?, उनी भन्छन्, ‘लोमान्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने, पोखरा बसपार्क निर्माण, मुख्य प्रशासनिक केन्द्र, प्रदेशसभा भवन, बहुसांस्कृतिक केन्द्र, प्रदेश परियोजना बैंक, डायलासिस केन्द्र निर्माण लगायत थुप्रै कार्यक्रम सदावहार छन । कागजमा आउने कार्यान्वयनमा नआउने बारे सरकारले बोल्नुपर्दैन ?’

प्रतिपक्षीले सदनमा उठाएका प्रश्नको जवाफ सत्तारुढ सांसदले दिन थालेपछि सांसद भगवत्प्रकाश मल्लले पनि सरकारका प्रवक्ताको सूची मागेका छन् । सदनमा बोल्दै उनले भने, ‘संसद्मा उठेको प्रश्नको सांसदले जवाफ दिने ? सरकारका प्रवक्ता कति जना हुनुहुन्छ ? यसको जवाफ माग गर्दछु ।’ प्रतिपक्षीले नीति तथा कार्यक्रममाथि आलोचना गर्दा सत्तारुढ सांसदहरु प्रतिपक्षीमाथि खनिएका थिए ।

सांसद मल्लले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरे । यस्तै, आन्तरिक श्रोत वृद्धिको लागि पनि सरकारको योजना खोेजेका छन् । ‘सरकार बनेको ३ वर्ष भयो । पहिलो वर्ष पर्यटन, दोश्रो वर्ष भौतिक पूर्वाधार अहिले स्वास्थ्य र कृषि भनियो । तर खै कार्यक्रम कार्यान्वयन भएको ?,’ उनले भने, ‘योजना कार्यान्वयन गर्न पैसा कहाँ छ ? कसरी उठाउने हो ? नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुपर्दैन ?’

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले हरेक वर्ष उही कार्यक्रम दोहो¥याउनुभन्दा एकै वर्ष योजना पूरा हुने गरी बजेट विनियोजन गर्न सुझाव दिए । ‘क्यान्सर रोग, मुटु रोग, मृगौला रोग उपचार गर्ने हस्पिटल कहाँ खोलेको छ ? बजेट त हरेक वर्ष राखेको छ नि त,’ उनले भने, ‘बजेट राख्ने १ करोड अनि क्यान्सर अस्पताल खोल्ने भनेर हुन्छ ? जति काम गर्न सक्र्छौं, त्यतिमात्रै भनौं । नसक्ने काम गर्छु भन्नु कम्युनिष्टको इमान्दारिता हैन ।’ सरकारले प्रशासनिक खर्च बढाउने गरी अनावश्यक संरचना खडा गरेको उनको आरोप छ । उनले प्रदेशको आफ्नै श्रोत खोजी गर्न पनि आग्रह गरे । ‘संघले दिएको बजेट बाहेक नयाँ के श्रोत छ ? समृद्ध बनाउने भनेरमात्रै हुँदैन । च्यालेञ्ज लिनुपर्छ । ५ वटा गौरवका योजना बनाऔं,’ उनी भन्छन्, ‘हाम्रा प्रत्येक पहाडमा गिट्टी छ । सडक बनाउने गिट्टी राजस्थानबाट ल्याएर कहिले समृद्धि आउँछ ? अब केही गर्ने गरी बजेट बनाऔं ।’

समाजवादी पार्टीका हरिशरण आचार्यले कोभिडविरुद्ध लड्न एकै ठाउँमा रहेको सन्देश दिए । ‘राजनीतिमा हामी धेरैतिर फर्किएका छौं । तर कोभिडविरुद्ध एकैमुख छौं, उनले भने, तर विभिन्न बहानामा टुटफुटको कुरा नहोस् । एकोहोरो हिड्ने गलत अभ्यास नगरोस्् ।’ उनले कार्यक्रम कार्यान्वयनमा सरकार चुकेको तर्क गरे । ‘प्रदेश सरकारले निरन्तर कार्यक्रम ल्याइरहन्छ । तर त्यो कार्यान्वयन कहिले र कसरी हुन्छ ? समीक्षा गरौं,’ आचार्यले भने ।

नीति कार्यक्रममा के छैन ?

प्रमुख सचेतक मायानाथ अधिकारीले सरकार सगरमाथाको बाटोमा निरन्तर हिडिरहेको दाबी गरे । ‘सरकारले आफ्नो उद्देश्य तय गर्ने हो । विगतमा पनि भन्यो, जनताका आधारभूत आवश्यकता पूरा गर्छौं । त्यो समीक्षा गरिसकेको छ,’ उनले भने, ‘सगरमाथा एकैचोटी पुगिँदैन । आधार शिविर खडा गर्दै जाने हो । ख्याल पुयाउनुभएन भने हावाहुरीले ढलाइदिन पनि सक्छ । होसियारी अपनाउनुपर्छ । सरकारले त्यो सबै होसियारी अपनाएर अघि बढिरहेको छ ।’ शून्य धरातलबाट २ वर्ष अवधिमा गरेको उपलब्ध सकारात्मक रहेको भन्दै सरकारलाई धन्यवाद दिनुपर्ने अधिकारीको भनाइ छ । उनले अहिलेको परिस्थितिले स्वास्थ्य, शिक्षा र कृषिमा प्राथमिकता छुट्याउन ज्ञान दिएको भन्दै त्यसमा केन्द्रित गरेर नीति कार्यक्रम आएको बताए ।

सत्तारुढ सांसद गायत्री गुरुङले नीति तथा कार्यक्रममा सरकारले आन्तरिक स्रोत वृद्धिबारे बोल्न नसकेको टिप्पणी गरिन् । ‘सीमित स्रोत र साधनबीच उत्कृष्ट बाटो पहिल्याउने गरी यो नीति तथा कार्यक्रम आयो । समग्रमा उत्कृष्ट छ । जनतालाई सुखी बनाउन यो सफल हुनेछ,’ उनले भनिन्, ‘तर स्रोत जुटाउन ध्यान पुगेन । कार्यान्वयन प्रणाली चुस्त भएन । सरकार चुक्यो ।’

सांसद कृष्ण थापाले नीति तथा कार्यक्रम चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड भन्दै प्रतिपक्षीमाथि खनिए । ‘यो कोरा कागजका अक्षरमात्र होइन, गण्डकीका जनताको भाग्य र भविष्य निर्धारण गर्ने समग्र योजना हो,’ उनले भने, ‘यति राम्रो नीति तथा कार्यक्रम ल्याएकोमा सरकारलाई हार्दिक धन्यवाद छ ।’ उनले पोखरास्थित क्याम्पसले सञ्चालन गर्न लागेको शिक्षण अस्पताललाई गौरवको योजनामा समावेश गर्न, पोखरामा बाहिरी र भित्री २ वटा रिङरोड बनाउन, प्रदेशस्तरीय बसपार्क निर्माण र तालहरुको संरक्षण र दीगो विकासको लागि आग्रह गरे । उनले सांसदहरुको क्षमता बढाउने कार्यक्रम पनि मागे ।

सत्तारुढ सांसद मीनप्रसाद गुरुङले नीति तथा कार्यक्रममा कुनै पनि विषय नछुटेको तर्क गरे । ‘नीति कार्यक्रममा के छ होइन, के छैन भनेर हेर्नुपर्ने छ । नीति तथा कार्यक्रम योजनाबद्ध विकासको सार तत्व हो,’ उनले भने, ‘योजनाहरु दोहोरिन्छ, तेहेरिन्छ । अन्त्यमा त्यो पूरा हुन्छ । कार्यक्रम फेरिए पनि प्राथमिकता फेरिएको छैन । त्यो महत्वपूर्ण कुरा हो ।’

अर्का सांसद दीपक थापाले प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने किसिमको प्रभावकारी व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकास अहिलेको आवश्यकता भएको बताए ।

सांसद मीना गुरुङले कोरोनाको कारण शिथिल अर्थतन्त्रलाई उठाउने गरी नीति तथा कार्यक्रम आएको उल्लेख गरिन् । उनले ५ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने नीतिले उद्योगी तथा व्यवसायीमा केही राहत प्रदान हुने विश्वास व्यक्त गरिन् ।

मैले पनि झापाकाण्डबारे बोलें भने के होला ?

अहिले गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । सत्तारुढ र प्रतिपक्षबीच दोहोरी नै जस्तो देखिन्छ । सत्तापक्षका सांसदले सरकारको बचाउ गर्दै प्रतिपक्षीमाथि खनिएका छन् भने प्रतिपक्षी पनि नीति तथा कार्यक्रममा जतिसक्दो धेरै आलोचनामा उत्रिएका छन् । केही सांसदहरुले पार्टीगत रुपमै आरोप प्रत्यारोप पनि चलाइरहेका छन् ।

बुधबार संसद्लाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसद्मा सत्तारुढ सांसदले प्रतिपक्षीमाथि गरेको व्यवहार सच्याउन माग गरे । ‘नेपाली काँग्रेस र नेताहरुलाई गाली नगरी अगाडि बढ्नै नसक्ने परम्परा विगतमा पनि नभएको होइन । वीपी कोइरालालाई त्यतिबेला पनि प्रश्न उठाउने गरिन्थ्यो, खासगरी वामपन्थी दलहरुले । निधनपछि वहाँजस्तो राष्ट्रवादी नेता कोही दिएनन् भन्नुभयो । गिरिजाप्रसाद कोइरालालाई पनि त्यसै भन्नुभयो,’ उनी भन्छन्, ‘हाम्रै प्रदेशसभामा पनि सत्तापक्षका माननीयज्यूहरुले हामीलाई कटाक्ष नगरी आफ्ना भनाइ राख्न नसक्ने प्रवृत्ति देखिन थालेको छ । यसले हामीलाई त केही फरक पर्दैन । तर यसरी विगत कोट्याउने परम्पराले राम्रो गर्दैन ।’
प्रदेशसभा नयाँ भएको भन्दै उनले अहिले गरेका गतिविधि पछिल्ला वर्षहरुमा नजिर बन्ने भएकोले शालिनता देखाउन आग्रह गरे । ‘जसरी नाकाबन्दीसँग जोडेर काँग्रेसको नाम लिनुभो । मैले यदि झापाकाण्डमा जोडेर दुधेबालक काटेको अनि प्रतिगमन आधा सच्चियो भनेको र पढाउँदै गरेको शिक्षक मारेको पार्टी भनें भने सान्दर्भिक हुन्छ ?,’ उनी भन्छन्, ‘यो पहिलो प्रदेशसभा हामीले जे अभ्यास गर्छौं, त्यो भोलिका लागि नजिर बन्छ । बरु छलफल गरौं । विनोदप्रिय, व्यङ्ग्यात्मक यो त गहना हो ।’

पोखरेलले पोखरा १६, बाटुलेचौरको जातीय विभेदको घटना छानवीन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् । अहिलेको अवस्थामा कुनै पनि विभेद रहन नहुने भन्दैै उनले प्रदेशकै राजधानीमा भएको घटनालाई नजरअन्दाज गर्न नमिल्ने बताए । कोरोना नियन्त्रणमा सरकारको योजना र गतिविधि अपुग भएको भन्दै दायरा बढाउन उनले सुझाए ।

‘परीक्षण कीटको अभाव छ । भेन्टिलेटर छैन । जनताले सरकार भएको महसुस गर्न सकेका छैनन्,’ उनले थपे, ‘लकडाउनको यो अवधिमा कोरोनाविरुद्ध लड्न के संरचना र रणनीति तयार ग¥यो ? भोलिको भयावह अवस्थाको अन्दाज गरेर नीति तथा कार्यक्रममा समेटिनुपर्छ ।’ अहिले विकास निर्माणको सट्टा पूरै ध्यान कोरोना नियन्त्रणमा लगाउन सरकारको ध्यानाकर्षण गराए । ‘विकास गरौंला । सडक बनाउँदै गरौंला । पानी पछि खाँदै गरौंला । अहिले भनेको जनतालाई कोरोनाबाट कसरी जोगाउने ? यो मुख्य प्रश्न हो,’ नेपालीले भने, ‘बेरोजगारीको समस्या भयावह हुने देखिन्छ । बजारको अभावमा महँगो दाना र पराल खुवाएर किसानले दूध सडकमा पोख्नुपरेको छ । कुखुरालाई खाल्डोमा पुर्नुपरेको छ । तरकारीलाई बारीमै नष्ट गर्नुपरेको छ । गण्डकीको मुख्य आधार रहेको पर्यटन क्षेत्र धराशयी भएका छन् । यसतर्फ सरकारको स्पष्ट दृष्टिकोण चाहिएको छ ।’

कोरोना उपचारका लागि गण्डकी अस्पतालको विकल्प खोज्न उनको सुझाव छ । ‘गण्डकी अस्पताल प्रदेशका सबै जिल्लालाई स्वास्थ्य सेवा दिने अस्पताल हो । यहाँ ओपीडीमा ३ लाखजनाले सेवा लिन्छन् । प्र्रत्येक हप्ता १ सय १० जनाको डायलाइसिस हुन्छ । प्रत्येक दिन ३० शिशुको जन्म हुन्छ । प्रत्येक महिना १२ सय एचआइभी संक्रमितले उपचार गर्छन् । डेढ सयदेखि २ सय जना इमरजेन्सीमा उपचार गराउँछन् । प्रत्येक दिन ५ सय जनाको ल्याब टेष्ट गरिन्छ,’ उनी भन्छन्, ‘यही अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल घोषणा गरेर बसेको छ । शुरुका दिनमा सम्भावित महामारीसँग जुध्न यो स्वभाविक थियो होला । तर ३ महिनासम्म वैकल्पिक खोजी किन गरिएन ? भोलि सयौं संक्रमित आउन थाले अन्य बिरामीको हालत के होला ? वैकल्पिक अस्पतालको आवश्यकता छ ।’ नेपालीले पार्टी प्यालेस वा होटललाई क्वारेन्टाइनरुपमा चलाउन सकिने प्रस्ताव अघि सारे ।