विपक्षीलाई सत्तारुढ सांसदको जवाफ : सरकारको काम गज्जव, अनावश्यक प्रश्न नगरौं

प्रकाश ढकाल
जेठ २१, २०७७
IMG_0044

गण्डकी सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि यतिबेला छलफल चलिरहेको छ । प्रतिपक्षी सांसदले नीति तथा कार्यक्रमले वर्तमान महामारीलाई समेट्न नसकेको आरोप लगाईरहेका छन् भने सत्तारुढ केही सांसदहरु प्रतिपक्षीविरुद्ध खनिएका छन् ।

सांसद राजीव पहारीले जनताको जीवनस्तर उकास्ने र जनताले अनुभूति गर्ने गरी काम गरेको भन्दै सरकारको गुनगान गाए । नीति कार्यक्रममा सुझावका लागि रोष्टममा पुगेका उनले पूरै समय सरकारको प्रशंसामा सके । सरकारले आफूलाई हत्केलामा राखेर जनताको रक्षमा खटिएको उनको भनाइ छ । ‘छोटो अवधिमा विकास निर्माण तीव्र गतिमा, अझ भनौं जेट स्पीडमा चलिरहेको थियो । अकस्मात कोरोना भाइरसको सामना गर्नुपर्दा गति रोकियो,’ उनले भने, ‘जीवन हत्केलामा राखेर सरकारले, मुख्यमन्त्रीले, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले काम गर्दा कोरोना भाइरस यहाँ नियन्त्रणबाहिर जान पाएन । समुदायस्तरमा कोरोना फैलिन पाएन ।’ उनले यसअघिको सरकारले सबै उद्योगधन्दा बेचेको र निजीकरण गरेको आरोप लगाए।

सांसद रामबहादुर गुरुङ पनि प्रतिपक्षीमाथि खनिए । सरकारको सबै काम सही भएको भन्दै उनले प्रतिपक्षीले अनावश्यक प्रश्न गरेको आरोप लगाएका हुन् । ‘नीति तथा कार्यक्रम विकासको मुटु हो । कतिपय माननीयले राम्रो छैन भन्नुहुन्छ,’ उनले भने, ‘वहाँहरुले रातिमा पढेर आउनुभएको हो कि ? यसमा थप्ने भनेको बिगार्नेमात्रै हो ।’ उनले आयात घटाएर निर्यात बढाउन सुझाए ।

मनबहादुर गुरुङ शिथिल भएको अर्थतन्त्रलाई जीवन्त बनाउने गरी नीति कार्यक्रम ल्याइएको बताउँछन् । उनले कोरोना नियन्त्रणमा नेपाल सरकार सफल भएको बताए । ‘ठूलाठूला राष्ट्रहरु, श्रोत र साधनसम्पन्न देशहरु कोरोनाविरुद्ध लड्न हम्मेहम्मे परेको छ । नेपालमा कम संक्रमित र मृत्युदर छ,’ उनी भन्छन्, ‘४ महिनाअघिसम्म हङकङबाट परीक्षण गर्नुपथ्र्यो अहिले सातवटै प्रदेशबाट परीक्षण हुन्छ । सरकारलाई धन्यवाद दिनुपर्छ ।’ उनले गण्डकी सरकारले ठोस बाटो खोजेर नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरे ।

गुरुङले पोखरालाई फ्रि वाईफाई जोनको रुपमा स्थापित गर्न सुझाए । नीति तथा कार्यक्रममाथि संसद्मा छलफल गर्दै उनले प्रदेश राजधानी भएकोले र अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण भएकोल यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाएका हुन् । उनले विभिन्न विकास कार्यक्रमका सुझाव पनि पेश गरेका छन् । ‘प्रदेशभित्रको अव्यवस्थित बसोबासीलाई उचित ठाउँमा आवास व्यवस्था गरी शहर सुन्दर बनाउनुपर्छ । राजधानी क्षेत्रभित्र रहेको बिजुली, केवलतार अण्डरग्राउण्ड गरियोेस् । लक्षित वर्गलाई राहत दिने उद्देश्यका साथ पानी, बत्ति र बिजुली निःशुल्क उपलब्ध गराइयोस्,’ उनले थपे, ‘सस्तो खानेपानी वितरण प्रणाली आए हुन्थ्यो । सेतीनदी पर्यटकीय हिसाबले निकै उत्कृष्ट छ । रामघाटलाई तालको रुपमा विकास गर्न पाए हुन्थ्यो । काहुँडाँडामा बुद्धमूर्ति निर्माणलाई गौरव योजनामा समावेश गरे हुन्थ्यो । शहरी चापलाई मध्यनजर गरी पोखराका चोकहरुमा आकाशे पुल आवश्यक छ ।’

अर्का सांसद दीपक कोइरालाले कोरोनाविरुद्ध लड्न सरकारको तयारी प्र्रशंसनीय भएको बताए । ‘राम्रोभन्दा सत्तापक्षको भएर भन्यो भन्ने लाग्ला, सत्तापक्षकै भएर पनि विरोध गर्न केही पाइएला भनेर हेरें, विरोध गर्ने ठाउँ कतै पनि पाइन । समर्थन गर्नै पर्‍याे नि । यो नीति तथा कार्यक्रमका विषयवस्तु सकारात्मक छ,’ उनले भने, ‘प्रदेशले आफैलाई कसरी बनाउने भन्ने विषयमा पनि बोलेको छ । हाम्रा संरचना, इकाइ कसरी बलियो बनाउने भन्ने समेत यसमा समेटिएको छ । धेरै मिहिनेत गरेर यो आएको छ ।’
यस्तै, सांसदहरु प्रभा कोइराला, दीलमाया रोका लगायतले पनि नीति तथा कार्यक्रमको प्रशंसा गरे ।

‘फलेको धान असिनाले तहसनहस बनाएपनि अर्को वर्ष खेती गर्नुपर्छ’

सांसद धनञ्जय दवाडी नीति कार्यक्रम परिवेशको अध्ययन गरेर ल्याइएको बताउँछन् । ‘गण्डकी सरकार अरुभन्दा अब्बल हो । कोरोनाको क्षतिको पूर्वानुमान ग¥यो र रोकथामका लागि योजना अघि सार्‍याे । सरकार जनउत्तरदायी छ । एकोहोरो आरोप लगाउने हो भने आवेगको अभिव्यक्तिमात्रै हो,’ सांसद दवाडीले सरकारले गरेका कामको प्रशंसा गरे । प्रशंसासँगै कृषिमा आधुनिकीकरणको सुझाव पनि दिए । ‘कृषिमा आत्मनिर्भरता र व्यावसायिकतातर्फ केन्द्रित भएको छ । यो राम्रो छ । हामी किसानलाई बजार उपलब्ध गराउने र उत्पादन बढाउने चरणमा छौं,’ उनी भन्छन््, ‘धर्धरी पसिना चुहाएर उकाली ओराली हिडिरहने । थाप्लोमा नाम्लो राखेर बसिरहेका किसानको थाप्लोबाट नाम्लो निकाल्न सक्ने समाजवाद ल्याउन प्रविधिको विकास गर्नुपर्छ । ज्ञानलाई किसानको खेतमा जोड्नुपर्छ । सरकारले ल्याएको पञ्चवर्षीय योजनामा केन्द्रित भएर बजेट विनियोजन गर्नुपर्छ ।’
रोजगारी गुमाएका र नयाँ आउने श्रमिकलाई काम दिन सुझाए । ‘हरेक वर्ष कात्तिकमा धान लहलह झुलिरहँदा असिना पर्छ । धानखेत तहसनहस हुन्छ । अर्को पटक खेत नजोत्ने ? त्यसो भनेको भए मानव सभ्यताको विकासमा यो चरणमा आइपुग्दैनथ्यौं,’ उनले थपे, ‘कोरोनाको समस्या जरुर छ । त्योभन्दा ठूलो समस्या भोक, काम, समृद्धि र रोजगारीको समस्या हो । उत्पादन र आपूर्तिबीचको दुरी घटाउन प्रदेश सरकारलाई आग्रह गर्न चाहन्छु ।’

सांसद इन्द्रलाल सापकोटाले जनताले विश्वास गर्ने गरी सरकारले काम गर्न नसकेको बताए । ‘मुलुकमा लकडाउन छ । जनतामा सरकारप्रति निराशा छ । तर सरकारले औकात र ल्याकत आधारमा कार्यक्रम ल्याएको छ । विगतको निरन्तरता र केही नयाँ कार्यक्रम आएको छ,’ उनले भने, ‘तर अहिलेसम्म गरेका कामले पुगेन । राजश्व संकलनको क्षेत्र कमजोर भयो । १० महिनामा योजना छुट्यायौं, नीति बनायौं, खर्च गरेनौं । हामीमाथि प्रश्नचिन्ह छ । सुशासनको क्षेत्रमा जनतालाई अनुभूति दिन सकेनौं । समीक्षा गर्नु जरुरी छ ।’

अर्थमन्त्रीलाई कडा जवाफ

सांसद ओमकला चालिसेले नीति तथा कार्यक्रम ‘माकुराको जालो’ जस्तो भएको बताइन् । ‘माकुराको जालो जस्तै पूरै ढाकेकोजस्तो देखिने । न यसले घाम छेक्न सक्छ । न पानी ओत्न सक्छ । न रोग नियन्त्रण गर्न सक्छ । न भोको पेट भर्न सक्छ । न रोगीलाई उपचार गर्न सक्छ,’ उनले भनिन्, ‘हामीले पनि गाईलाई घाँस र बाघलाई मासु नै दिन भनेका हौं । न हामीले गाईलाई मासु भनेका छौं, न बाघलाई घाँस खुवाउन भनेका छौं ।’

हामीले पनि गाईलाई घाँस र बाघलाई मासु नै दिन भनेका हौं । न हामीले गाईलाई मासु भनेका छौं, न बाघलाई घाँस खुवाउन भनेका छौं

अर्थमन्त्री किरण गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता माथि उठेका प्रश्नमा जवाफ दिँदै बजेट नयाँ बनाउने नाममा बाघलाई घाँस र गाईलाई मासु दिन सक्ने अवस्था नरहेको बताएका थिए ।

अहिलेको नीति तथा कार्यक्रम जनताको भावना र वर्तमान परिवेशविपरीत आएको उनले बताइन् । ‘पुरानै नीति तथा कार्यक्रम छ । पुरानै नारा समेत राख्न नसकेर ल्याइएको छ । जस्ताको त्यस्तै ‘कपि पेष्ट’ गर्नुभन्दा पुरानै प्रस्तुत गर्नुभएको भए हुन्थ्यो,’ उनले भनिन्, ‘सस्तो लोकप्रियताले, सस्तो अभिव्यक्तिले जनताको रोग र भोक टर्दैन । रोेग निको हुन उपचार चाहिन्छ, भोक मेटिन खानैपर्छ ।’ गौतमले सरकारले गरेको गाडी खरिदको निर्णय गलत भएको टिप्पणी गरिन् । ‘यो महामारीको बेला ११ वटा गाडी खरिद गर्ने कुरा छ । त्यो किन्ने पैसाले १६ वटा पिसिआर मेसिन किनेर परीक्षण बढाए हुँदैन ?,’ उनी भन्छिन्, ‘सधैँ भगवान् सम्झेर कोरोना निको हुन्छ ? क्वारेन्टाइन कोरोना फैलाउने फ्याक्ट्री भैसक्यो । ठोस कार्यक्रम के हो ? नीति तथा कार्यक्रममा छुटे पनि बजेटमा समावेश गरियोस् ।’

‘नीति त पञ्चायतमा पनि राम्रै लेखिएको थियो’

खिमविक्रम शाहीले नीति र कार्यक्रम जति राम्रो भएपनि कार्यान्वयन चुस्त नभएको बताए । ‘सुन्दा र पढ्दा राम्रो पनि छ । तर लेख्दै र सुन्दैमा राम्रो हुने होइन । हिजो पञ्चहरुले पनि राम्रै लेखेका थिए । माटो सुहाउँदो भनेका थिए,’ उनले भने, ‘लेखेका कुराहरु कार्यान्वयन गर्न सरकारको आनीबानीमा सुधार आउनुपर्छ । व्यवस्था परिवर्तन भएर के गर्ने ? हामी परिवर्तन हुनुपर्‍याे नि ।’ संघीय व्यवस्था नेपालको परिवेश अनुसार नभएको उनको तर्क छ । उनले समावेशी विकासमा सरकारको ध्यानाकर्षण गराए । ‘ढोरपाटन, निसिखोलामा एउटै वडाको एउटा गाउँबाट अर्को गाउँमा पुग्न पूरै एक दिन हिड्नुपर्छ । बत्ति पनि छैन । सञ्चार पनि छैन । बजेट त्यहाँसम्म कहिले पुग्छ ?,’ उनले प्रश्न गरे ।

नीति तथा कार्यक्रम नियमित हो । सुधारिएर आउनुपर्छ । नत्र यो सपनामात्रै हो

ललितकला गुरुङले यही नीति तथा कार्यक्रमबाट सरकारले लिएको ‘समृद्ध प्रदेश, सुखी नागरिक’ बन्न नसक्ने बताइन् । ‘नीति तथा कार्यक्रम नियमित हो । सुधारिएर आउनुपर्छ । नत्र यो सपनामात्रै हो,’ उनले भनिन्, ‘मुख्यमन्त्री नमुना गाउँ कार्यक्रम बोर्डमा देखेको छु । तर अनुभूत गर्न पाएको छैन । सरकार चाहीँ राम्रो छ भन्छ । अरु कार्यक्रम पनि यस्तै छ ।’
विष्णुप्रसाद लामिछाने नीति तथा कार्यक्रमले प्रदेशको भविष्य नदेखाएको टिप्पणी गरे । ‘कम्तीमा १ वर्षको भविष्य नीति तथा कार्यक्रममा आउनुपर्छ । भविष्यको गोरेटो पनि देखाउनुपर्ने हो,’ उनी भन्छन्, ‘भनौं सम्धिको चित्त दुख्ने, नभनौं छोरीको नाक बुच्चै हुनेजस्तो भो । नीति र कार्यक्रम समयसापेक्ष आएन । परिस्थितिले निर्माण गरेको अवस्था र त्योसँग जुध्न सक्ने कार्यक्रम आउन सकेन ।’ कृषिमा गरिएको अनुदान प्रभावकारी हुन नसकेको उनको गुनासो छ । अहिले भैरहेको बसाइँसराइ समस्या र सुकुम्बासी समस्या सम्बोधन गर्ने गरी बजेट ल्याउन उनले सरकारलाई सुझाए ।

‘एउटै लोगो, एउटै ड्रेस तर व्यवहार किन फरक ?’

सांसद कोपिला बोहराले दोश्रो चरणको राहत वितरण माग गरिन् । सुकुम्बासीहरुलाई सधै टार्ने काम भएको भन्दै उनले न्याय दिने गरी कार्यक्रम ल्याउन सुझाइन् । सत्तापक्ष र प्रतिपक्षबीच कुनै फरकपन नरहे पनि सरकारले विभेद गरेको उनको गुनासो छ । ‘सत्तापक्ष र प्रतिपक्ष भन्ने छ । एउटै लोगो, एउटै ड्रेस छ, तर हामीलाई गर्ने व्यवहार फरक छ । एउटा बगैँचामा सयौँ फूल फुल्छन् भन्ने बुझौं,’ उनले भनिन्, ‘मैले कति योजना लिएर गएँ तर अहिलेसम्म पाएको छैन् । आधा आकाश भन्ने महिलाको बारेमा नीति तथा कार्यक्रममा के छ ?’ सांसदहरु नीति बनाउन आएको भन्दै बोहराले महिलाको आयआर्जन हुने कार्यक्रम गर्न सुझाइन् । जातीय विभेदका घटना अन्त्य गर्न पनि उनको आग्रह छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width