लकडाउन खुकुलो नबनाए अवज्ञा गर्ने पोखराका व्यवसायीको चेतावनी

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
gyapan

जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबार ज्ञापनपत्र बुझाइँदै ।

पोखरा, २० जेठ । पोखराका उद्योग व्यवसायीले लकडाउन खुकुलो बनाउन माग गरेका छन् । उनीहरुले लकडाउनले व्यवसायीहरुको ढाड भाँचिएको जिकिर गर्दै यदि लकडाउन खुकुलो नपारिए अवज्ञा गर्ने चेतावनीसमेत दिएका छन् ।

सुरक्षाको पूर्ण व्यवस्था गर्दै समयतालिका मिलाएर व्यापार व्यवसाय संचालन गर्नुपर्ने सुझाव दिएको स्मरण गर्दै सो व्यवस्था मिलाउन उनीहरुको प्रदेश सरकारसमक्ष माग छ ।

सो माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशतर्फबाट अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी र लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीद्वारा हस्ताक्षरित संयुक्त ज्ञापनपत्र मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयसमक्ष बुझाएका हुन् ।

‘हाम्रो ध्येय व्यापारमात्रै हैन, व्यापार गर्दै राज्यलाई कर र शुल्क तिर्नु पनि हो अनि अर्थतन्त्रलाई चलायमान बनाउनु पनि हो’, ज्ञापनपत्रमा उल्लेख छ, ‘कोरोनाबाट व्यापारी मात्रै बच्ने कुरा पनि आउँदैन । हामी हाम्रो र उपभोक्ताहरुको सुरक्षा अनि स्वास्थ्यप्रति सचेत छौं । र, सचेतताकै बीचमा व्यापार व्यवसाय गर्न चाहन्छौं ।’

व्यवसायको प्रकृति हेरि समय तालिका अनुसार व्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उनीहरुको दाबी छ । ज्ञापनपत्रमा बैंकमा जाने र फर्कँदा, किनमेलमा जाँदा एवं अत्यावश्यक मालबाहक सवारीसाधनलाई प्रशासनले अनावश्यकरुपले धरपकड गरेकोप्रति आपत्ति जनाइएको छ ।

व्यवसायको प्रकृति हेरि समय तालिका अनुसार व्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उनीहरुको दाबी छ

पोखराको निजी क्षेत्रले यसअघि सारेका माग र सुझाव यथावत् रहेको दोहोर्‍याउँदै परिस्थितिको विषमतालाई ध्यानमा राख्दै प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रमा परेका घरजग्गा कर र अन्य करहरुमा छुटको व्यवस्था गर्न आग्रहसमेत गरिएको छ ।

संघीय सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको तर गण्डकी प्रदेशको नीति तथा कार्यक्रमलाई आफूहरुले खुलेर प्रशंसा गरेको बताइएको छ ।

कोरोना परीक्षणलाई व्यापक र निःशुल्क तथा विस्तार गर्ने, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र स्वास्थ्य प्रणाली सुदृढ गरिने, रोजगार गुमाएका, विदेश जान रोकिएका र विदेशबाट फर्केका व्यक्तिको श्रम, पुँजी, सीप र रुचि आधारमा पर्यटन, कृषि, उद्योग, यातायात, निर्माण लगायतका क्षेत्रमा आवश्यकता अनुसार प्राविधिक तथा व्यावसायिक तालिम, प्रविधि तथा बीउपुँजी प्रदान गरिने घोषणा पनि स्वागतयोग्य रहेको निजी क्षेत्रको ठहर रहेको छ ।

सरकारले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ११ चैतदेखि जारी राखेको लकडाउन आठौं पटक थपेर जेठ ३२ सम्म कायम राख्ने निर्णय गरेको छ ।

‘दोषीलाई कारबाही गर’

निजी क्षेत्र तथा उपभोक्ता हितको क्षेत्रमा काम गर्ने संस्थाहरुले आयातित तरकारी नष्ट गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

सो माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीतर्फबाट अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी र उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले मंगलबार जिल्ला प्रशासन कार्यालय कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका हुन् ।

संकट बेला खाद्यान्न र तरकारी नष्ट गराउनुले कृषि पेशा अपनाउनेहरुलाई हतोत्साही बनाएको जिकिर

कास्की बाहिरबाट तरकारी तथा फलफूल ल्याएको भन्दै पोखरा १५ र ३३ मा वडाध्यक्षकै सक्रियतामा क्रमशः ४ र २ गाडी तरकारी नष्ट गरिएको थियो । ज्ञापनपत्रमार्फत संकट बेला खाद्यान्न र तरकारी नष्ट गराउनुले कृषि पेशा अपनाउनेहरुलाई हतोत्साही बनाएको जिकिर गरिएको छ ।

प्रदेश सरकारले यहाँका हरेक नाकाबाट भित्रने गाडीहरुलाई ‘डिसइन्फेक्सन’ गराउने प्रबन्ध गरेको स्मरण गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘नाकाबाट भित्रिएका ती माल र तरकारीबाहक गाडीले त्यो प्रक्रिया पूरा गरेकै होलान् । यो प्रक्रिया पूरा नगरेकालाई कारबाही वा दण्ड, जरिवाना गर्नैपर्छ । मालबाहक गाडीहरु मान्छे र संक्रमण भित्र्याउने काममा लाग्नु हुँदैन । त्यस्तो अवस्थामा गरिने कारबाहीप्रति आपत्ति छैन तर अमूक स्थानीय निकायका प्रतिनिधि वा अमूक समूहको लहड भरमा तरकारी र फलफूल नष्ट गराउने घटनाले निजी क्षेत्र तथा खासगरी कृषकलाई हतोत्साही बनाएको छ ।’

उनीहरुले घटनाको निन्दा गर्दै तत्काल ती व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्न, दोषीलाई कारवाही गर्न एवं आइन्दा यस्ता गतिविधि नदोहोर्याउन माग गरेका छन्।

यस्तै, ज्ञापनपत्रमा लकडाउनका कारण व्यवसाय चौपट्ट भएकोले खुकुलो पार्न आग्रह समेत गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width