घाइतेबाट उपचारको माग

रासस
जेठ १८, २०७७
home ministery nepal 00101

जाजरकोट, १८ जेठ । यही जेठ १० गते रुकुम(पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् ।

उक्त घटनामा भेरी नगरपालिका–४ रानागाउँका सुदीप खड्कालगायत १२ जना घाइते भएका थिए । यही जेठ १० गते जाजरकोटबाट आएका युवा आक्रमणमा पर्दा पाँचजनाको मृत्यु भएको छ तथा एक जना अझै बेपत्ता रहेको जनाइएको छ । घटनामा जाजरकोट, भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा, सन्दीप (सञ्जु) विक, ११ का लोकेन्द्र सुनार र रुकुम(पश्चिम) चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भएको छ भने भेरी–११का गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदीको किनारमा भेटिएको थियो ।

घाइतेमध्ये सुदीप खड्काको हात र टाउकामा चोट लागेको छ । अर्का सरोज भँडेलको पिठ्यूँमा चोट लागेको छ । केहीको शरीरमा भित्री चोट लागेको जनाइएको छ । सबै शव खोज्नतर्फ लागेको र आफूहरुको उपचारमा कसैले ध्यान नदिएको उनीहरुले बताए । आफूहरुसँग व्यक्तिगतरुपमा उपचार गर्नका लागि पैसा नभएको गुनासो गर्दै उनीहरुले आफूहरुको उपचार हुनुपर्ने माग गरेका थिए ।

कर्णाली प्रदेशसभाका सदस्यले पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयवासी र प्रत्यक्षदर्शीसँगको छलफलपछि घटनाको न्यायिक र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । नेकपाका सचेतक सीता नेपालीले जातीय विभेदका कारण घटना भएको बताए । प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी १७ वर्षीया किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण ठूलो घटना भएको बताए ।

सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरेर फर्किउका थिए । त्यस्तै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोलीले समेत शनिबारदेखि जाजरकोट र रुकुम(पश्चिम)को घटनास्थल र शव भेटिएको ठाउँको स्थलगत अध्ययन गरेको छ ।

अपराधी उम्कन पाउँदैनन्- डिआइजी पन्त

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याइने बताए । उनले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पीडित परिवारसँग भेटघाट गरेका थिए ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । छोरा गुमाएका बलबहादुर विकले घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउन र दोषी उम्किन नदिन आग्रह गरे । डिआइजी पन्तले घटनाको निष्पक्ष छानबिन हुने छ उनले भने । “तपाईंहरु ढुक्क हुनुहोस् । छानबिन निष्पक्ष हुन्छ । दोषी सजायको भागिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अनुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई निर्देशन दिइसकेको छु ।”

शनिबार नै हालसम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायब महानिरीक्षक पन्तलाई बुझाएको छ । उनले घटनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिँदै अपराधीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए । डिआइजी पन्तसँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width