कुहियो स्याउ, कुँडियो मन   

rss रासस
जेठ १७, २०७७

गागा (दार्चुला), १६ जेठ। दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन।

विगतमा स्याउ लिन आउने भारतीय व्यापारी यसपालि आएनन् । नेपाली बजार दार्चुलामा स्याउ बिक्री गर्न लैजाने हो भने खच्चरको भाडा जोड्दा मूल्यभन्दा दोब्बर लागत पर्ने देखियो । त्यसैले उनले गते असोज/कात्तिक महिनाभरि व्यापारीको बाटो कुरे तर कोही नआएपछि मन कुँड्याउँदै स्याउ घरभित्रै पोको पारेर राख्न बाध्य भए।

सकेसम्म नकुहियोस् भनेर घरमा भएका डेक्ची, खँड्कुलो, प्याष्टिकका भाँडा, बोरालगायत घरमा भेटेसम्मको भाँडाकुँडामा टम्म पारेर स्याउ कोचेका थिए। यसरी कोच्नु उनको बाध्यता थियो, किन कि जाडोले हिउँ जमेर गाउँमा बस्न सक्ने अवस्था नभएपछि नबिकेको स्याउ घरभित्र छाडेर गएको कात्तिकमा उनको परिवार दार्चुला झर्नुपर्छ । जाडोले गाउँमा ६ महिनामात्रै बस्न सकिन्छ।

जाडो छल्न जानेहरु अघिपछि सामान्यतः चैतमा घर फिर्छन् । तर यसपालि कोरोनाको सङ्क्रमणका कारण भएको बन्दाबन्दीले असर गर्यो । उनलाई पनि त्यसले छोयो।

छाङरु आउनलाई भारतको बाटो भएर आउनुपर्छ । नेपालबाट बाटो छैन । दार्चुलाबाट झण्डै ८० किलोमिटरको दूरीमा रहेको छाङरुमा हिँडेर आउन झण्डै पाँच दिन लाग्छ । यसपालि कोभिड–¬१९ सङ्क्रमणका कारण भारतले बाटो प्रयोग गर्न दिएन । सबै गाउँले अड्किए । उनी गत वैशाख ३१ गते सशस्त्र प्रहरीको सीमा निगरानी चौकी स्थापनाका लागि प्रयोग भएको सेनाको हेलिकप्टर चढेर घर पुगे । उहाँकै घर भाडामा लिएर अहिले सशस्त्रले पोष्ट राखेको छ ।

उनी गत वैशाख ३१ गते सशस्त्र प्रहरीको सीमा निगरानी चौकी स्थापनाका लागि प्रयोग भएको सेनाको हेलिकप्टर चढेर घर पुगे । उहाँकै घर भाडामा लिएर अहिले सशस्त्रले पोष्ट राखेको छ ।

 

घर पुग्न नपाउँदै शुरुमा घरमा राखेको स्याउको अवस्था के छ भनेर उनले हेरे। विडम्बना सबै खान नहुने गरी कुहिएको फेला पर्यो । “अघिपछि चिसोमा बिग्रिँदैनथ्यो, यसपालि आउन ढिला भयो, त्यसैले बिग्रिएछ, ठूलै घाटा लाग्यो”, मन खिन्न पार्दै उनले भने।

छाङरुमा उनको तीन रोपनी जग्गा छ । यहाँ स्याउका ६०० बोट छ । अर्काे एक भूभू भन्ने स्थानमा ८०० बोट स्याउ छ । उनका अनुसार वर्षमा २० देखि ३० क्विन्टलसम्म स्याउ फल्छ । गाउँका ११५ घरमध्ये सबैभन्दा धेरै स्याउ फलाउने उनी हुन्। अन्य व्यक्तिको बारीमा दुई/चार बोटका दरले स्याउ छ ।

अघिल्लो वर्ष प्रतिकिलो भारु ७० मा बिक्री भएको स्याउ किन्न यसपालि भारतीय व्यापारी नआउँदा त्यसै थन्किएको हो। सीमा जोडिएकाले नजिक नेपाली बजार नहुँदा सबै उत्पादनको बिक्री केन्द्र भारत हो । गएको वर्ष ती भारतीय व्यापारी स्याउ किन्न आएनन् । उनीहरुले अन्य ठाउँबाटै स्याउ लगेको उनी बताउँछन्।

आफ्नै क्षमताले दार्चुला पुर्याउन बाटो नभएको र खच्चडलाई बोकाएर लैजाँदा महँगो हुने भएकाले दार्चुला लैजान नसकिएको उनले बताए। “यसपालि सबै खेर गयो, के गर्नु नेपालमा बाटो भइदिएको भए बजार लगेर बेच्नुहुन्थ्यो”, कुहिएको स्याउ देखाउँदै उनले भने।

आलु, बन्दा पनि बिग्रियो    

स्याउमात्रै होइन आलु उम्रिएर बोराभरि लामालामा टुसा भइसकेछ। कतिपय आलु कुहिएको फेला पर्यो । केही आलु खान हुनेखालको पनि भेटियो । दलिनमा झुण्ड्याएर राखिएको बन्दा लगभग खान नमिल्ने गरी सुकिसकेको छ। फर्सी पनि कुहिएको भेटियो।

नबिकेर घरभित्र राख्दा सुकेको बन्दागोभीको अवस्थाबारे जानकारी दिँदै दार्चुला व्यास गाउँपालिका–१ छाङरुकी सुधा बोहरा। तस्वीरः नारायण ढुङ्गाना, रासस।

झण्डै २० क्विन्टल आलु पनि घरभित्रै त्यसै थन्किएर बसेको छ । नबिकेको फलफूल र तरकारी राखेर जाडो छल्न बेँसी झरेको थियो उनको परिवार । यसपालि तरकारी फलफूल गरेर झण्डै तीन लाख भारु घाटा लागेको उनी अनुमान गर्छन्।

उनले दुई वर्षअघि २५ क्विन्टल आलु, २० क्विन्टल स्याउ र पाँच क्विन्टल बन्दागोपी, फर्सी (कद्दु) बिक्री गरेका थिए। त्यो बेला रु पाँच लाखभन्दा बढी नाफा भएको थियो । त्यो सबै अहिले खेर गएको भन्दै उनी दुखेसो पोख्छन्।

श्रीमती सुधा बोहराको साथमा उनी आफ्नो कृषि कर्ममा खटिन्छन् । उनी तरकारी उत्पादनसँगै व्यापार पनि गर्छन्। चाइनाबाट तयारी सामग्री ल्याएर भारतको धार्चुलालगायत विभिन्न मेलामा लगेर बेच्छन्। बाँकी समय आफ्नै गाउँमा कृषिकर्म गरेर रमाउछन्।

नेपालमा दैनिक लाखौँको तरकारी फलफूल भारतबाट आउँदै गर्दा यसरी नेपालमै उत्पादन गरेको फलफूल तथा तरकारी गाउँमै सुक्ने गरेको यो एउटा उदाहरणमात्रै हो।

बाटोघाटोको सहज आवागमन नहुँदा र बजारको व्यवस्थापन नहुँदा यसैगरी नेपाली अग्र्यानिक उत्पादन धेरै जिल्लामा खेर गइरहेको छ ।

हाम्रो सुझाव