स्वतन्त्रको पत्रकार टिमद्वारा राष्ट्रिय सल्लाहकार पहाडीसँग भेटघाट

आदर्श समाज संवाददाता
जेठ १६, २०७७
Sp 7

मोटरसाइकल दुर्घटनामा परी बेडरेष्टमा रहेका स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार, लमजुङ शाखाका संस्थापक अध्यक्ष एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडीलाई संघको जिल्ला टिमले भेटघाट गरेको छ ।

बेसीशहरमा उपलब्ध संघका सदस्यहरूको टिमले पहाडीलाई उनले निवासमा गएर भेटघाट गरी स्वास्थ्य अवस्था बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

यसअघि एक्लाएक्लै भेटेर स्वास्थ्य स्थिति बुझ्ने र शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आएका उनीहरूले शुक्रबार सामूहिक रुपमा भेटघाट गरेका हुन् ।

संघको जिल्ला शाखाका अध्यक्ष कुमारी तामाङको नेतृत्वमा गएको टिममा संघका राष्ट्रिय सदस्य अमृता असीम, निवर्तमान राष्ट्रिय सदस्य सुशील विक, राष्ट्रिय पार्षद चन्द्रकान्त पौडेल, प्रदेश पार्षदद्वय विष्णुकुमार श्रेष्ठ र चन्द्रबहादुर मिश्र, संघका जिल्ला कोषाध्यक्ष सुधा ढकाल लगायत थिए ।

चैत १९ मा मध्यनेपाल नगरपालिकामा सञ्चालिक क्वारेन्टाइन, हेल्प डेक्सहरू तथा लकडाउनको स्थलगत अध्ययन गरी फर्कनेक्रममा बेसीशहर–१, फलिया साँघुमा पहाडी सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।

स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान महासचिव समेत रहेका पहाडी एक साताको अस्पताल बसाइँपछि चिकित्सकको सल्लाह अनुसार तीनमहिने बेडरेष्टमा छन् ।

पहाडीको नली खुट्टामा ३ टाँका लगाइएको छ भने मेरुदण्डको हड्डी अण्ड थिचिएर चर्किएको हुँदा बेडरेष्ट गर्नुपर्ने भएको हो ।

उनी पछिल्ला दिनमा आफै कुर्चीमा बसेर आफैले खाना खान र शौचालय जान सक्ने भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width