आज तेह्रौँ गणतन्त्र दिवस

रासस
जेठ १५, २०७७
Demonstrators carrying the national flag of Nepal participate in a mass gathering organized by the FNCCI in Kathmandu

फाइल फाेटाे

आज आज तेह्रौँ गणतन्त्र दिवस । मिति २०६५ जेठ १५ गते जनआन्दोलन २०६२/६३ को जगमा निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिन। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आइएकाे छ।

  • गणतन्त्र दिवसकाे शुभकामना
  • दीपावली गरेर गणतन्त्र दिवस बनाउन अनुरोध
  • राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपतिबाट शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेकी छन्। गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन आह्वान समेत गरेकी छन्।

अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभएको छ । “आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

कोभिड नियन्त्रणमा तीन तहका सरकारले गरेका कामले गणतन्त्रप्रति गर्व गर्ने वातावरण बन्योः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन्।

गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरे। गणतन्त्रलाई अझै समृद्ध बनाउनु आवश्यक रहेको भन्दै उपराष्ट्रपतिले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड दिएका छन्।

“गणतन्त्र प्राप्तिका लागि हामीले जसरी एकताबद्ध भएर सङ्घर्ष गर्यौँ, हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेछ”, उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, “गणतन्त्र दिवस–२०७७ ले हाम्रो राष्ट्रियताको रक्षा तथा सुदृढीकरण र कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएको छु ।”

गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हाेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसकाे अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन्।

“आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु । जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो । यस उत्सवमा म यहाँहरु सबैलाई पुनः हार्दिक वधाइ ज्ञापन गर्दछु।” उनले शुभकामना सन्देशमा बताए।

हरेक नेपालीको जीवनस्तर माथि उठाउनुपर्ने दायित्वमा दत्तचित्त भएर लाग्नुपर्छः सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले १३ औँ गणतन्त्र दिवसले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न तथा दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्ने महाभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा आज शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले गणतन्त्र संँगसंँगै नयाँ संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि सुनिश्चित गराएर व्यावहारिक अभ्यास भइरहेको र अब हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनुपर्ने दायित्वमा दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरे।

“गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौं, जसका कारण यस वर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन”, शुभकामना सन्देशमा भनिएको छ, “एकातिर महामारीबाट जनताको जीवन रक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दीका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्नेछ, गणतन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ ।”

सभामुख सापकोटाले नेपालमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र प्राप्तिको कठोर संघर्षमा घाइते तथा अपाङ्गता हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका योद्धाहरुको उच्च बलिदानी भावको स्मरणका साथ उहाँहरुप्रति उच्च सम्मान व्यक्त व्यक्त गरेका छन्।

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना
नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन्।

उनले आज एक शुभकामना सन्देशमार्फत नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलतापश्चात काँग्रेसको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको उल्लेख गरे । उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरे।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताउँदै सभापति देउवाले उच्च सतर्कता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न सबैलाई आग्रह गरे। साथै उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको र संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको र केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्ने अवगत गराउँदै काँग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्नसमेत आग्रह गरे।

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकताः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको बताएका छन्।

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष दाहालले बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गरे। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड –१९० को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उहाँले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गरेका छन्।

ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमनः प्रदेश प्रमुख
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तेह्रौं गणतन्त्र दिवस–२०७७ को सुखद् अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना प्रकट गरेका छन्।

“०६२/०६३ को ऐतिहासिक संयुक्त जनआन्दोलनको जनताको आँधीबेहरी आँखामा झलझली आइरहेको महसुस गरिरहेको छु । ऐतिहासिक जनआन्दोलनलगायतका बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रलाई सुदृढ बनाउँदै समृद्धिका सपना पूरा गर्ने दिशामा तीनै तहका सरकार प्रयासरत छन्। गणतन्त्रलाई आम नागरिकले जीवन पद्धतिका रुपमा महसुस गर्न सक्ने अवस्था निर्माण गर्नु अहिलेको दायित्व हो।” विज्ञप्तिमा उल्लेख छ।

तेह्रौं गणतन्त्र दिवस मनाइरहँदा यतिबेला विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा दिनहुँ बढिरहेको स्थितिमा आम नागरिकलाई घरमै बस्न र सुरक्षित रहनका लागि समेत उनले अपील गरेका छन्।

दिपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध

तेह्रौँ गणतन्त्र दिवसकाे उपलक्ष्यमा गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।

२३३ कैदीलाई माफी मिनाहा
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन्। नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिए।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width