रुकुम घटना विरोधमा बुटवलमा प्रदर्शन, लकडाउनबीच जनता स्वतःस्फूर्त सडकमा

विक्रम खड्का
जेठ १४, २०७७
100815513_1639046062914598_7503548805187371008_n

बुटवल, १४ जेठ । पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध बुधबार बुटवलमा प्रदर्शन गरिएको छ ।

स्वतःस्फूर्तरुपमा दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र आमनागरिकको सहभागितामा जाजरकोटका नवराज विक सहितको हत्याको छानविन गरी दोषीलाई कारबाही माग गर्दै प्ले–कार्ड सहितको विरोध प्रदर्शन गरिएको हो ।

‘रुकुम हत्यामा संलग्नलाई कारबाही गर’, ‘जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म,’ ‘दलितमाथिको विभेद अन्त्य गर,’ ‘पीडितलाई न्याय दे,’ अजित मिजार, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आमनागरिक प्रदर्शनमा उत्रिएका थिए ।
बुटवल पुष्पलालपार्कको मुख्य सडक क्षेत्रमा सामाजिक दूरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्वीकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।

संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीयताकै कारण भएको दक्षिण एसियाकै ठूलो नरसंहार भएको भन्दै अब अन्याय सहन नसक्ने बताए । उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि बुटवलका आमनागरिक लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रिन बाध्य भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको विषय भएको उनले बताए । उनले रुकुम घटना पासविक घटना भएको अवस्थामा राजनीतिक संरक्षण भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

दलित अभियन्ता नरबहादुर सुनारले दलित समुदायमाथि रुकुम पश्चिमको घटनाले मानव हुनुकै अर्थ बिर्साएको भन्दै दोषीले न्याय नपाउँदासम्म निरन्तर आन्दोलन गर्ने जानकारी दिए ।
सो प्रदर्शनमा दलित नेता जोगलाल विश्वकर्मा, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, दलित अगुवाहरु जुद्ध विश्वकर्मा, हरिओम विश्वकर्मा, रामकुमार रणपाल, एमवि विश्वकर्मा, लोकबहादुर नेपाली, दीपक विश्वकर्मा, मनु खड्का लगायतको सहभागिता थियो ।

भेरी नगरपालिका–४, जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा गाउँलेको सामूहिक आक्रमणबाट हत्या भएको दाबी गरिएको छ । घटनामा हालसम्म नवराज सहित ४ जनाको शव भेटिएको छ । अझै २ जना बेपत्ता छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width