‘ग्रिनजोन’ मा देखिए धमाधम संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७७
gandaki map

‘ग्रिनजोन’ उपमा दिइएको गण्डकीमा एक दिन फरकमा स्याङ्जा र बागलुङमा गरी कुल ८ जना कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको छ । सम्भावित अन्य संक्रमित भेटिने आशंकामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लिने कार्य सुरु भएको छ ।

बागलुङको बढीगाड गाउँपालिका र तमनखोला गाउँपालिका गरी ६ जना पुरुषमा बुधबार कोरोना संक्रमण देखिएको हो ।

बढीगाड गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ र २० का २ जना पुरुष तथा तमनखोला क्वारेन्टाइनमा रहेका वर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरी ६ जनामा कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले बुधबार दिउँसो पुष्टि गरेको हो।

सुनौलीनाका हुँदै बागलुङ प्रवेश गरेका उनीहरूको क्वारेन्टाइन रहेको बेला स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा ल्याइएको थियो । उनीहरुसहित १ सय २० जनाको स्वाब संकलन गरिएकोमा ६ जनामा संक्रमण देखिएको हो । संक्रमित सबैको सदरमुकाम धौलागिरि अस्पतालको आइसोलेसन वर्डामा उपचार भइरहेको अस्पतालका मेडिकल सूपरीन्टेन्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।

बागलुङमै यसअघि भेटिएका २ जना बिरामी उपचारपछि घर फर्किएका थिए । बागलुङ कुँडुलेकी १९ वर्षीया युवती र बागलुङ–३, गौंडाकोटकी ६५ वर्षीया वृद्धामा कोरोना देखिएपछि उनीहरुको धौलागिरि अस्पतलामै उपचारपछि निको भइ घर फर्केका हुन् । दुवै जना चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट नेपाल फर्केका थिए । युवती र वृद्धा नेपालमै क्रमशः पाँचौं र छैटौं संक्रमित हुन् । युवतीलाई चैत १४ मा कोरोना पुष्टि भएकोमा झण्डै एक महिनाको उपचारपछि वैशाख १२ मा डिस्चार्ज गरिएको थियो । छैटौं संक्रमित वृद्धाका वैशाख ६ मा डिस्चार्ज भएको हो । यसरी झण्डै २ महिनामात्र बागलुङमा नयाँ केस देखिएको हो ।

उता, स्याङ्जामा मंगलबार पहिलो पटक कोरोना संक्रमित देखा परेका हुन् । वालिङ नगरपालिका वडा ७ घर भएका २० र २९ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । उनीहरु जेठ १० मा भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आइ क्वारेन्टाइनमै बसेका थिए । दुवै जनाको स्याङ्जा लिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षमा उपचार भइरहेको र अवस्था सामान्य रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले स्याङ्जा र बागलुङमा नयाँ केस देखिएपछि दुवै जिल्लामा अस्पतालको अवस्थाबारे अनुगमन गरेका छन् । उनका अनुसार दुवै जिल्लामा उच्च सतर्कता अपनाइएको र संक्रमित बिरामीको कन्ट्याक्ट टेसिङ लिने काम भएको छ ।

यस्तै, बागलुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बागलुङका दुवै पालिकास्तरमा कन्ट्याक्ट ट्रेसिङ टिम गठन गरिएको बताए । उनका अनुसार बडिगाढमा चुडामणि कँडेल र तगामखोलामा तिलक छन्त्याल संयोजक रहेको सो टिम गठन गरी संक्रमित बिरामी भारतबाट कसरी आए, नेपालमा आइसकेपछि चढेको बसमा कति जना मानिस थिए, उनीहरु को कोसँग सम्पर्कमा आए भन्नेबारे विस्तृत जानकारी लिइनेछ ।

साविक अञ्चलस्तरीय धौलागिरि अस्पतालमा कोरोनाको भयावहसँगै हाल आइसोलेसन वार्ड थपेर १२ पुर्‍याइएको अस्पतालका मेडिकल सूपरीन्टेन्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । बागलुङलाई सरकारले समेत पहिले उच्च जोखिमको जिल्लामा राखेको थियो ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १३ पुगेको छ । गण्डकीमै जेठ १ मा नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ मा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा पर्‍याे ।

जेठ ९ मा नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

लमजुङका संक्रमित बालकको काठमाडौंमा र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले ‘सीमित’ पत्रकारसँग पत्रकार सम्मेलन गरी बागलुङकी युवती डिस्चार्ज भएको भोलिपल्ट बैशाख १३ मा गण्डकी प्रदेश कोरोनामुक्ति अर्थात ग्रिन जोन भएको घोषणा गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width