अमेरिकामा मृत्युहुनेकाे संख्या एक लाख नाध्याे  

काेभिड-१९

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७७
Corona

काठमाडौं, १४ जेठ। चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख भन्दा बढीकाे मृत्यु भएको छ।

विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो। संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण गत फेब्रुअरी १५ मा पहिलो पटक देखिएको थियो । अमेरिकामा त्यस दिन १५ जनामा मात्र कोरोना पुष्टि भएको थियो।

गत वर्ष सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको उहानमा पहिलोपटक देखिएको कोरोनाभाइरसले फेब्रुअरीसम्ममा धेरै व्यक्तिको ज्यान लिइसकेको थियो भने जनवरी २२ मा १७ जनाको मृत्यु भएसँगै उहानमा लकडाउन जारी थियो।

अमेरिकामा भने कोरोनाभाइरसबाट फेब्रुअरी २९ मा मात्र पहिलो व्यक्तिको मृत्यु भएको थियो। मार्च र अप्रिल महिनामा अमेरिकामा मृत्युदर अत्यन्त बढी थियो । अप्रिल १५ मा एकै दिन २६ सयको ज्यान गएको थियो। लकडाउन, सामाजिक दूरी र अन्य कडा नियमको कार्यान्वयनका कारण यद्यपी मे १२ देखि मृत्युदरमा सामान्य कमी आएको छ, र यो दैनिक एक हजारभन्दा मुनि छ।

विरोधाभाष त के भने,

अमेरिकामा पहिलो व्यक्तिको मृत्यु भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस “चिनियाँ भाइरस”ले अमेरिकीलाई खासै असर नगर्ने बताएका थिए। अझ उहानलाई लकडाउनमा राखेर त्यहाँका जनताको मानव अधिकार हनन भएको उनकाे आरोप थियो।

तर अमेरिकामा हटस्पटका रुपमा न्यूयोर्क राज्य देखियो। यहाँ एकै राज्यमा झण्डै ३० हजारको अकालमा ज्यान गइसकेको छ । शव व्यवस्थापन नै चुनौती बनेको यस राज्यको सम्पूर्ण स्वास्थ्य प्रणाली छिन्नभिन्न भएको थियो । खासगरी, बुढाबुढी, कमजोर स्वास्थ्य रहेका, श्वासप्रश्वास समस्या भएका, मधुमेह, उच्च तनाब, मुटुरोग, मृगौला रोगी, क्यान्सर जस्ता दिर्घरोगी व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । यही मे १३ सम्म न्यूयोर्कका १५ हजार २३० जनाका सम्बन्धमा न्यूयोर्क सिटी हेल्थले गरेको सर्वेक्षणमा पहिल्यैदेखि स्वास्थ्य समस्या रहेका ७५ वर्षभन्दा माथिका व्यक्तिमध्ये ५ हजार २३६ जना, ६५ देखि ७४ वर्ष उमेरका २ हजार ८०१ जना तथा ४५ देखि ६४ वर्ष उमेरका २ हजार ८५१ जनाको मृत्यु भएको उल्लेख छ।

         Photo: Worldometer

अमेरिकी जनजीवनलाई नराम्रोसँग गाँजेको अमेरिकामा १७ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित छन् । स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएकाले अझै पनि दिनहुँ ठूलो संख्यामा संक्रमित भेटिएका छन् । तर स्वास्थ्य ठूलो कि अर्थतन्त्र ? यी दुई बहसमा अल्झिएका राष्ट्रपति ट्रम्पमाथि मानिसको स्वास्थ्यलाई महत्व नदिएको र अर्थतन्त्रप्रति मात्र ध्यान दिइरहेको आलोचना खेप्न बाध्य भएका छन्। उनी औलोको औषधि हाइड्रोक्लोरोक्वीनको सेवन गरेमा कोरोना ठीक हुन्छ भन्ने विवादास्पद भनाईमा अडिग छन्, जबकी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र वैज्ञानिकहरुले यही औषधिको जथाभावी सेवनका कारण पनि धेरै अमेरिकीको ज्यान गएको बताइरहेका छन् । डब्लुएचओले त यो औषधिलाई कोरोना रोगका सन्दर्भमा अनुसन्धान परीक्षण गर्न समेत प्रतिबन्ध लगाएको घोषणा गरेको छ।

मास्क समेत लगाउन हिच्किचाउने हठी स्वभावका राष्ट्रपति ट्रम्पको ध्यान विश्वकै पहिलो अमेरिकी अर्थतन्त्रलाई कहिले खुला गर्ने भन्नेमै छ । उनी दिनहुँ भन्छन् –

अमेरिका बन्द गर्नका लागि होइन, यो खुला छ खुला हुनुपर्छ ।

एसोसिएटेड प्रेसका अनुसार राष्ट्रपति ट्रम्पले आफूले राम्रोसँग नेतृत्व गरेकै कारण मृत्युसंख्यामा कमी आएको बताएका छन् । तर कुनै पनि महामारी वा युद्धका कारण यतिठूलो संख्याका अमेरिकीको मृत्यु भएको पहिलो पटक हो।

फाेटाः एपी

ट्रम्पको भनाइप्रति असहमति जनाउने अमेरिकी राज्यका गभर्नरहरुले लकडाउनका नियम एकाएक हटाउन नहुनेमा जोड दिइरहेका छन्। उनीहरुको भनाईमा अमेरिकालाई विस्तारै, क्रमिक रुपमा खोल्नु पर्छ। खासमा अमेरिकामा २५ लाखभन्दा बढी मानिस बेरोजगार भइसकेकाले पनि राष्ट्रपति ट्रम्पमाथि दबाब छ ।

यही गाँठोमा अहिले अमेरिकी समाज छ । ट्रम्पकै भनाइलाई ठीक ठान्ने कतिपय कट्टरपन्थीहरु पेशा, व्यवसाय खोल्न माग गर्दै बन्दुक समेत लिएर सडकमा उत्रिएका दृश्यहरु संचार माध्यममा आइरहेका छन् । अहिले अमेरिकाका कैयौं समुद्री तटमा मानिसहरु सामाजिक दूरी र अन्य नियमहरुको बेवास्ता गर्दै स्वतन्त्र रुपमा घुम्न थालिसकेका छन् । उता, युरोपमा कोरोना संक्रमणमा कमी देखिएसँगै पसल, व्यवसाय, स्कुलहरु खुला गर्न थालिएको छ तर उच्च सावधानीका साथ।

कोरोनाभाइरसले आर्थिक रुपमा समृद्ध, सुदृढ स्वास्थ्य प्रणाली, उच्च जनचेतना र शिक्षित समुदायको बाक्लो बसोबास रहेका पहिलो विश्वका मुलुकहरुमा धेरैको ज्यान लिइसकेको छ। यही सेरोफेरोमा अमेरिकी अग्रसरता खासगरी राष्ट्रपति ट्रम्पको भनाईमा साथ दिइरहेका विकसित मुलुकहरु र चीनबीच कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर एक प्रकारको वाकयुद्ध नै जारी छ । चीनले उहानस्थित इन्स्टिच्यूट अफ भाइरोलोजीमा कोरोनाभाइरस तयार गरी अन्यत्र फैल्याएको र समयमै भाइरसबारे जानकारी नगराएको ट्रम्पको आरोप छ । आफ्ना कमजोरी ढाकछोप गर्न राष्ट्रपति ट्रम्पले चीनमाथि आरोप लगाएको चीनले बताइरहेको छ । अधिकांश वैज्ञानिकहरुले उहानका सडकमा खुलेआम बिक्री गरिने चमेरो समेतका वन्यजन्तुबाट कोरोनाभाइरस मानिसमा सरेको बताइरहेका छन्, तर यसबारे पूरै तथ्य पुष्टि भइसकेको छैन।

फाेटाेः एपी

यही रस्साकस्सी र आरोप–प्रत्यारोपबीच विश्वभर ३ लाख ५२ हजारको मृत्यु भइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस संक्रमित छन् । अझै पनि ५० हजारभन्दा बढी मानिस गम्भीर अवस्थामा छन् । युरोपेली क्षेत्रका मुलुकमै एक लाख ६९ हजारभन्दा बढीको ज्यान गएको छ ।

भाइरस प्रसारका नयाँनयाँ हटस्पटहरु जस्तै ब्राजिल, भारतमा संक्रमित र मृतकको संख्या बढ्दै गएकाले मृतकको संख्या अझै बढ्न सक्नेछ।

अहिले विश्वभर खोप कि उपचार पहिले भन्ने दौड जारी छ, तर कसैले पनि कोरोनाभाइरसको सार्थक उपचार फेला पार्न नसकेको अवस्थामा लकडाउन वा सामाजिक दूरी, परीक्षणहरुको दायरा बढाउने नै अहिलेसम्मका सर्वोत्तम विधि देखिएका छन् । तर यी विकल्पकै बीच समग्र विश्व “कोरोनाकाल अघि”को झैं सहज कहिले होला ? विश्वका धनी वा गरिब दुबै किसिमका मुलुकका नागरिक र सरकारहरुको ध्यान यसमै छ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width