जर्मन बुन्डेसलिगाको क्लासिको भिडन्तमा डर्टमण्डमाथि बायर्नको कठिन जित

जर्मन क्लासिकोको रुपमा हेरिएको यस खेललाई जितसँगै बायर्नले डर्टमुन्डसँग ७ अंकले अग्रता बनाएको छ । बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक रहेको छ ।

नारायण शाही
जेठ १४, २०७७
Bayern vs Durtmund, German Bundesliga

पोखरा । जर्मन क्लासिको बुसन्डेसलिगा भिडन्तमा बोरुसिया डर्टमण्डमाथि लिग लिडर बायर्न म्युनिखले कठिन जित पारेको छ ।

डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा मंगलबार राती भएको खेलमा बायर्नले घरेलु टोली  डर्टमण्डलाई १–० ले पराजित गरेको हो ।

यस जितसँगै शीर्ष स्थानको बायर्नले दोस्रो स्थानको डर्टमण्डमाथि अंक फराकिलो बनाएको हो । जर्मन क्लासिकोको रुपमा हेरिएको यस खेललाई जितसँगै बायर्नले डर्टमण्डसँग ७ अंकले अग्रता बनाएको छ । बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक रहेको छ ।

बायर्नको जितमा जोसुवा किमिचले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो । किमिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्था हेर्दै चिप गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक बुर्कीले बल बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बल गोलमा परिणत भएको थियो ।

बल पोजिसनमा पकड जमाएको बायर्नले पहिलो हाफमा थप केही गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन । यस्तै, खेलको ८३ औ मिनेटमा रोबर्टो लेवान्डोस्कीको प्रहार पोस्टमा लागेर फर्किदा बायर्न अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।

डर्टमण्डले समेत खेलमा केही सुनौलो अवसरहरु गुमाउन पुग्यो । डर्टमुन्डका युवा स्टार एर्लिङ हालाण्डको केही उत्कृष्ट प्रहारले विपक्षी पोस्टको जाली चुम्न सकेन ।

दोस्रो हाफमा डर्टमण्डले जेडन सान्चोलाई मैदान प्रवेश गराएपनि बायर्नविरुद्ध उसले बराबरी गोल फर्काउन सकेन । खेलको ८१ औं मिनेटमा मोहमद दाहुदले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक नोएरले विफल पारे ।

खेलको सुरुवात समयमा नै डर्टमण्डले अग्रता लिने अवसर गुमायो । गोलरक्षक म्यानुएल नोएर केही अगाडी रहेको अवस्थामा एर्लिङ हालान्डले गरेको फितलो प्रहारलाई डिफेन्डर जेरोम बोटेङले गोललाइनबाट सहजै बचाए । लगत्तै, थोर्गन हाजार्डको पासमा हालान्डको प्रहारले पोस्टको सही दिशा लिन सकेन ।

खेलको १९ औं मिनेटमा बायर्नले अग्रता लिनबाट चुक्यो । सर्ज जिनाब्रीले किङ्सले कोमानको पासमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई डर्टमण्डका कप्तान लुकास पिस्जेकले गोललाइनबाट क्लियर गरिदिए । २४ औं मिनेटमा कोमानको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमन बुर्कीले बचाएपनि रिबाउन्डमा मुलरले प्रहार गर्न सकेनन् । ८१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको प्रहार पनि पोस्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको ३४ औं मिनेटमा हालान्डले उत्कृष्ट बल नियन्त्रण देखाउँदै पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा रहेपनि तीव्र गतिमा पछाडीबाट आएका अल्फोन्सो डेभिसले उत्कृष्ट ट्याकल गर्दा खेल गोलरहित बराबरीमा सिमित भयो । ४० औं मिनेटमा लिओन गोरेट्जकाले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुर्कीले विफल पारिदिए ।

यस सिजनको पहिलो खेलमा बायर्नले आफ्नै घरेलु मैदानमा डर्टमण्डलाई ४–० ले हराएको थियो । गत सिजन बायर्नको मैदानमा भएको खेलमा पनि घरेलु टोली ५–० ले विजयी बनेको थियो । पछिल्लो दुई खेलमा कुनै गोल नगरी ९ गोल खाएको डर्टमण्डलाई यस पटक घरेलु मैदानमा बदला लिने अवसर भएपनि अन्ततः बायर्नले नै जित निकाल्न सफल बन्यो ।

गत सिजन घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डले बायर्नलाई ३–२ ले पराजित गरेको थियो । घरेलु मैदान सिग्नल इडुना पार्कमा बायर्नसँग खेलेको पछिल्लो ५ खेलमध्ये डर्टमण्डले २  खेल मात्र हारेको छ ।

मंगलबार भएको यि दुबै टोलीबीचको खेलमा बायर्नका रोवर्टो लेवान्डोसकी र डर्टमण्डका एर्लिबब हालान्डमाथि सबैको नजर परेको थियो । लिगमा ४ सिजन सवार्धिक गोलकर्ता बनेका लेवान्डोस्की मास्टर ब्लास्ट र यसै जनवरीमा डर्टमण्ड पुगेका युवा स्टार एर्लिबब हालान्ड टी प्रोडिजी जर्मन बुन्डेसलिगाको चर्चित खेलाडीहरु हुन् ।

दुवै खेलाडी गोल गर्न माहिर छन् । लेवान्डोस्की २७ गोलसहित लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । चालु सिजनको बुन्डेसलिगामा हालान्डले पनि १० गोल गरिसकेका छन् ।

बुन्डेसलिगामा यी दुई टोलीबीच १०४ खेल हुँदा बायर्नले ४९ खेल जितेको छ । डर्टमण्डले २६ खेल मात्र जितेको छ । बाँकी खेल बराबरीमा सकिएको छ ।

तेस्रो स्थानको आरबी लाइप्जिगले २७ खेलमा ५४ अंक बनाएको छ । लाइप्जिगले बुधबार हर्था बर्लिनसँग खेल्नेछ । हर्था बर्लिनले २७ खेलबाट ३४ अंक बटुल्दै बुन्डेसलिगाको ११ औं स्थानमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width