Worldlink ads

गण्डकीमा कोरोना संक्रमित ७ पुगे, स्याङ्जाका संक्रमित भारतबाट आएर ४ दिनदेखि क्वारेन्टाइनमै

विजय नेपाल
जेठ १३, २०७७
gandaki map

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा समेत पहिलोपल्ट कोरोना संक्रमित देखा परेका छन् । भारतको गाजियावादबाट नेपाल आएका २० र २९ वर्षका उनीहरु दुवै पुरुष हुन् ।
स्याङ्जा प्रवेश गरेदेखि नै वालिङस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुको सोमबार राति स्वाब परीक्षणमा पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोबारे पुष्टि नगर्दै स्याङ्जाबाट प्रतिनिधित्व गर्ने दुई सांसदले गण्डकी प्रदेशसभामा सोबारे जानकारी दिँदै उच्च सुरक्षाको माग गरेका थिए । सांसद भागवत्प्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले सोमबार पोखरा सभागृहस्थित गण्डकी प्रदेशसभाको बैठकमा सोबारे जानकारी दिएका थिए ।
त्यसको केही घण्टापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा सोमबार देखिएका ९० नयाँ संक्रमितमध्ये स्याङ्जाका पनि ती २ जना भएको पुष्टि गरेको हो ।

जेठ १० मा भारतको गाजियावादबाट उनीहरुसहित कुल ९ जना आएका थिए । गाजियावाददेखि गोरखपुरसम्म रेलमा, त्यसपछि सुनवलसम्म ट्रकमा र सुनवलबाट वालिङसम्म जीपमा आएका र शनिवार बिहान ३ बजे वालिङपछि उनीहरु क्वारेन्टाइनमा बसेको जिल्ला अस्पतालका प्रमुख डा. शुशिल मरासीनीले जानकारी दिए ।

उनीहरुसहित २० जनाको क्वारेन्टाइन रहेकै बेला स्वाब परीक्षण गरी पोखरा ल्याइएको हो । संक्रमितमध्ये २० वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहे पनि अर्का २९ वर्षीय युवकको स्वास्थ्यमा समस्या देखिएको जनाइको छ । नतिजा पोजेटिभ आएपछि स्याङ्जा जिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षमा उपचारका लागि लगिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनीहरु वालिङ–७, केवरे भञ्ज्याङको भएको बताइएको छ ।

जिल्लामा पहिलोपल्ट कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ध्रुव गिरीले जानकारी दिए ।
यता, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा पहिलोपल्ट कोरोना संक्रमित देखिएको हो । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा ९ माघमा देखिएको हो ।

नेपाल सरकारले कोरोना परीक्षण प्रदेशस्तरमा विस्तारगरेपछि गण्डकी प्रदेश राजधानी पोखरामा १८ चैतेदेखि पीसीआर परीक्षण हुँदैआएको हो ।

झण्डै २ महिना अवधिमा मात्र २ हजार जनाको परीक्षण भएको छ । आरडीटी ७ हजार पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भने प्रदेशको बजेट अधिवेशनको पहिलो दिन यहाँ पीसीआर मेसिन थपेर परीक्षण दर बढाउने बताएका थिए ।

गण्डकीमा देखिएका २ नयाँ संक्रमितसहित प्रदेशमा कुल संक्रमित संख्या ७ जना पुगेको छ । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केका हुन् ।

गत ४ चैतमा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट नेपाल फर्केका बागलुङका २ जना ( नेपालमा क्रमशः पाँचौ र छैटौं संक्रमित) थिए ।

तीमध्ये बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीलाई चैत १५ मा कोरोना पुष्टि भएको थियो । उनी गण्डकीमै पहिलो संक्रमित हुन् ।

उनको बागलुङस्थित धौलागिरि अस्पतालमा उपचारपछि १२ वैशाखमा डिस्चार्ज भएकी थिइन् ।

यस्तै, छैटाै संक्रमित बागलुङ–३, गौंडाकोटकी ६५ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारपछि ६ वैशाखमा डिस्चार्ज गरिएको थियो ।
गण्डकीमै जेठ १ मा नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ मा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा पर्‍याे ।

जेठ ९ मा नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
लमजुङका संक्रमित बालकको काठमाडौंमा र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  गण्डकीमा ११ जिल्लामध्ये ४ जिल्लामा संक्रमण देखा परेको छ । लमजुङका बालक भने काठमाडौंमै थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads