माइला कान्छा उर्फ मनकारी

prakash dhakal प्रकाश ढकाल
जेठ १३, २०७७
help

पोखरा । सातामा ५ दिन जागिर खाने र २ दिन सामाजिक काममा व्यस्त हुन्छन् । आफ्नै समाजहरु छ । फुर्सदको समयमा विभिन्न समाजका काम गरेर दिन बिताउँछन् । केही दिन नेपालका लागि पनि छुट्याउँछन्, माया र पार्वती गुरुङ । नेपालीहरुको दुःख देख्न नसकेरै उनीहरुले विभिन्न समयमा च्यारिटी गरेर रकम जुटाउँछन् । आफै नेपाल आएर सम्बन्धित पीडितलाई भेटेर आफ्नै हातले सहयोग गर्छन् ।

जुनकीरि च्यारीटि बेलायतमा निकै चर्चित भयो केही समय । माया र पार्वतीसँगै बत्ति र रमिला गुरुङ पनि यो च्यारिटीका सदस्य हुन् । नेपालीहरु भेला हुने कार्यक्रममा जाने र सिजनअनुसारका सामान बेच्छन् । खासगरी चटपट, काँक्रो, चिया र खरबुजा बेचेर बचत भएको रकम नेपालमा भएका दुःखीहरुलाई सहयोग गर्दै आएका छन् । यो सिजन पनि उनीहरु नेपालमा थिए ।

करिब ८ लाख रुपैयाँ विभिन्न व्यक्ति र संस्थाहरुलाई सहयोग गरे उनीहरुले । ‘पैसा मात्रै माग्दा सबैले दिन मान्दैनन् । त्यसैले सामान बेचेर सहयोग उठाउन थाल्यौं । मान्छेले खान पनि पाउने र सहयोग गरेको जस्तो पनि हुने,’ पार्वती भन्छिन्, ‘तर विदेशमा भएका नेपालीले पठाउने सहयोग वास्तविक पीडितसम्म पुगेन । अहिले हामी आफै उपस्थित भएर सिधैँ पीडितलाई भेटेर सहयोग हस्तान्तरण गर्छौं ।’

विशेषगरी मिर्गौलापीडित, असहाय, ब्लड क्यान्सर, द्वन्द्वपीडितहरुलाई यस्तो रकम सहयोग गरेको अर्की सहयोगी माया गुरुङले बताइन् । च्यारिटीबाट उठेको ३ लाख रासकोट अस्पताललाई सहयोग गरे भने १ लाख सहारा एकेडेमीलाई हस्तान्तरण गरे । त्यही च्यारिटीमा उठेको रकम लिएर सहयोगका लागि नेपाल आएका थिए, उनीहरु । मार्च ५ मा नेपाल आएका उनीहरुको मार्च २९ मा फर्किने टिकट थियो । तर विश्वभर फैलिएको कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेपछि यतै अड्किए ।

‘शुरुमा त निकै डर लाग्यो । घरबाट निस्किएनौं । तर नेपालमा दुःख बढ्दै गयो । ज्याला गरेर खानेहरुको चुल्हो बल्न छोड्यो । हामी खाने उनीहरु भोकै बसेको कसरी हेर्नु ?, माया भन्छिन्, ‘घरभित्रै बसेर त डिप्रेसन हुन्छ भनेर हामीसँग भएको पैसाले लकडाउन मापदण्ड पालना गर्दै सहयोग गर्न थाल्यौं । सहयोग गर्दा भिडियो लाइभ पनि गरेका थियौं । त्यो देखेर धेरैले सहयोग गर्न थाल्नुभयो ।’ कसैले सम्बन्धित ब्यक्ति तोकेरै रकम पठाउँछन् भने धेरैले पठाएको रकम दुःखी मान्छे छानेर उनीहरुले नै बाँडिदिन्छन् ।

कोरोना संक्रमणपछि मात्रै पनि ७ लाखभन्दा बढी सहयोग गरिसकेको उनीहरुले सुनाए । ‘अब त रोक्न खोज्दा पनि सकिएन । दिनदिनै सहयोग आइरहेको छ । नपठाउनु भन्न पनि मिलेन,’ उनले भनिन्, ‘दुःखीहरु देखेपछि मन रुन्छ । हाम्रो सानो सहयोगले उनीहरुको जीवन धानिएको छ । त्यसैले सकेसम्म अझै सहयोग गर्छौं ।’ विस्तारै मध्यमवर्गका व्यक्तिहरुलाई समस्या बढ्दै गएको मायाले बताइन् । ‘ज्यालादारी गरेर खानेहरु त सहजै माग्न सक्छन् । मध्यम वर्गकाहरु मुख खोलेर भन्न पनि सक्दैनन्,’ उनले थपिन्, ‘अबको सहयोग यस्ता समूहलाई जोड्नुपर्छ ।’

सामाजिक सञ्जालमा उनीहरु माइला कान्छाको नामले परिचित छन् । माइला कान्छा उर्फ मनकारीहरु । यो अभियान देखेर विभिन्न देशबाट सहयोग आएको छ । ‘पहिले चिनेजानेका ब्यक्तिले मात्रै सहयोग गरिरहेका थिए । अहिले त समाजले नै सहयोग पठाउन थालेका छन्,’ पार्वतीले थपिन्, ‘देशलाई दुःख परेको बेला देशभित्रै बसेर पीडितलाई सहयोग गर्न पाउनु भाग्यको कुरा हो । सेवा गर्ने अवसर पनि सबैले कहाँ पाउछन् ?’

एक सयभन्दा बढीलाई रासन र अपाङ्गता भएकाहरुलाई नगदै सहयोग गरिएको छ । ५ देखि ८० हजारसम्म सहयोग गरिएको उनीहरुले बताए । जनप्रतिनिधि र अन्य सामाजिक संघ संस्था र ब्यक्तिहरुमार्फत पीडितको सम्पर्कमा पुग्छन्, माइला कान्छा ।

लकडाउन लम्बिँदै गएपछि भने उनीहरुलाई अब बेलायत फर्किने हतारो छ । ‘लकडाउनमा फसेर काम त गरिरहेका छौं । तर परिवार उता छन् । आफूमात्रै यता हुँदा साह्रै नरमाइलो लाग्ने रहेछ,’ उनीहरुले भने, ‘अड्केर बसेका सबैलाई तत्कालै फर्काउने पहल गरोस् । हामीले सरकारलाई सहयोग गरेका छौं । सरकारले हाम्रो पीडा चाहीँ किन सुन्दैन ?’ पोखरामा अड्किएका बेलायतबासी नेपालीहरुको दैनिकी विपन्नलाई सहयोग गरेरै बितिरहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads