गण्डकी प्रदेशसभाको बजेट अधिवेशन सुरु, मुख्यमन्त्री भन्छन्-२ महिनामा १९ अर्ब नोक्सान

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७७
6

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सरकारले कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य क्षेत्रमा बढी जोड दिने बताएका छन् । उनले कोरोना महामारीविरुद्धको लडाईमा अन्यको तुलनामा गण्डकी सरकार बढी सचेत रहेको पनि दाबी गरे।

गण्डकी प्रदेशसभाको आइतबारदेखि सुरु बजेट अधिवेशनमा संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइरस चुनौतीमात्र नभइ अवसर पनि हुन सक्ने औल्याए । उनले देशको स्वास्थ्य पूर्वाधार अन्य देशको तुलनामा निकै कमजोर रहेको उल्लेख गर्दै उनले यसबीचमा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताए।

उनका अनुसार प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालहरुलाई ‘अपग्रेड’ गरिने पनि बताए । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) र बागलुङको धौलागिरी अस्पताललाई कोभिड–१९ डेडिकेटेड अस्पताल बनाएर जानुपर्ने र लेखनाथ सामुदायिक अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पताल बनाउने योजना रहेको सुनाए।
गण्डकी प्रदेशमा हाल कोरोना परिक्षण गर्ने मेसिन दुई वटा मात्र भएकोले एउटा पुनः थप गर्ने योजना प्रदेश सरकारको रहेको उनले जनाए । प्रदेश सरकारले पुनः १३ करोड कोरोनाबिरुद्ध उपचार र रोकथामको लागि खर्च गर्ने भएको मुख्यमन्त्री गुरुङले बताए।

कोरोनाको महामारी फैलिन नदिन सरकारले जारी राखेको २ महिनादेखिको लकडाउनले गण्डकीमा १९ अर्ब रुपैयाँ नोक्सान पुग्न गएको बताए । अब बाँकी २ महिनालाई पनि ध्यान दिएर अब आउने नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्नेमा उनको जोड छ।

प्रदेश सरकारले जेठ १८ वा १९ मा आगामी आव २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी थालेको सदनमा मुख्यमन्त्रीले जानकारी दिए । गत वर्ष नीति तथा कार्यक्रम प्रस्तुतपछि पर्याप्त छलफल गर्न नपाएको स्मरण गर्दै उनले चुनौती बाबजुद यसपालि घनभूत छलफल गर्नुपर्ने बताए । उनले कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा खर्च कति लाग्नेबारे यकिन भन्न नसकिने भएकोले रकम अभाव भए विकास आयोजनाको बजेट रकमान्तर गरी खर्च जुटाउन सकिने उनको भनाइ थियो ।

गण्डकी सरकारले कोरोना रोकथामका लागि संघीय सरकारले ११ चैतदेखि लकडाउन गर्नु अगावै प्रदेशका नाका बन्द गर्ने घोषणा गरिसकेको भन्दै उनले प्रदेश सरकार कोरोनाविरुद्धको लडाईँमा सचेत रहेको मुख्यमन्त्रीले दाबी गरे।

गण्डकीमा हालसम्म ५ जनामात्र कोरोना संक्रमित भेटिनु र पोखरामा हालसम्म नदेखिनुमा ‘मुक्तिनाथले बचाएको’ भन्नसम्म भ्याए।

सरकारको लकडाउनलाई प्रदेश सरकारले पालना गर्दैआए पनि सधैँ लकडाउनले मानिसको दैनन्दिन क्रियाकलापसहित अर्थतन्त्रमा ठूलो नोक्सानी पुग्ने भएकोले यसको विकल्प पनि खोजी गर्नुपर्ने बताए । जसको लागि बैशाख पहिलो सातादेखि प्रदेश सरकारले औद्योगिक कलकारखाना, खाद्य उद्योग र कृषि उत्पादनमा जोड दिँदै काम अघि बढाएको सदनमा प्रष्ट्याए।

कोरोनाविरुद्धको लडाईमा प्रदेश सरकारले १० विषयगत समिति गठन गरेको र सबै समितिले तोकिएको जिम्मेवारी अक्षरसः पालना गरेकोले यहाँ खाद्य आपूर्तिमा संकट नआएको, आपूर्ति व्यवस्थापन चुस्तदुरुस्त भएको, कोरोनाको संक्रमण फैलिनबाट रोकिएको दाबी गरे । उनले भने, हामीहरु यस अभियानमा कुनै पनि कसर बाँकी राखेका छैनौं । अब विभिन्न क्षेत्रलाई हेरेर राहतका प्याकेज ल्याउने विषयमा ध्यान केन्द्रित छौं।’

उनले लिम्पियाधुरालगायत समेटेर ओली सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्नु आफैमा ऐतिहासिक कार्य भएको भन्दै प्रशंसा गरे । विगतका देशको नेतृत्व सम्हालेका प्रधानमन्त्रीहरुको नाम लिँदै मुख्यमन्त्री गुरुङले भने, ‘उनीहरुले के गरे ? नेपालको सार्वभौमिक अखण्डता जोगाउन कमरेड केपी ओली साहसिक कार्य गर्नुभएको छ । यो प्रशंसनीय कार्य हो । सीमा जोगाउने लडाईमा अब सबै दल मिल्नुपर्छ । नभए अरुले हामीलाई हेप्छन् ।’ अन्य दलका संसदीय दलका नेताहरुले बोलीसकेपछि जवाफमा मुख्यमन्त्रीले सदनमा झण्डै १ घण्टासम्म सम्बोधन गरेका थिए।

त्यसअघि, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारलाई २२ बँुदे सुझाव बुझाइएको जानकारी दिए । उनले प्रधानमन्त्री केपी ओलीले नेपाली भूमिमा भारतले सडक खनेको विषयमा आफूलाई कसैले सूचना नदिएको भन्नु आफैमा गैरजिम्मेवार अभिव्यक्ति हो भन्दै रोष प्रकट गरे । उनले सरकार स्वास्थ्य सामग्री खरिदमा चुर्लुम्म डुबेको आरोप लगाउँदै कोरोनापछि आक्रान्त मुलुकमा पर्याप्त राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा खर्टिँदा पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिँदै श्रमिक, बेरोजगार वर्गलाई लकडाउनले कठिन अवस्थामा पु¥याएकोले उचित सम्बोधन गर्नुपर्ने बताए।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले जनतालाई निराशपारी सरकार प्रतिगमनकारी बाटोमा अघि बढेको भन्दै त्यसप्रति सचेत गराए । उनले प्रदेशमा कोरोना विशेष अस्पताल खोल्नुपर्ने, एकल महिला तथा अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती निर्णय रोक्नुपर्ने, काम गराईमा पुरानो कानूनले बाधा पारे कानूनी बाधा अड्चन हटाउनुपर्ने, प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गर्दै जानुपर्ने सुझाए।

जनता समाजवादी पार्टीका हरिशरण आचार्यले कोरोनालाई देखाएर सरकार आफ्नो कत्र्तव्यबाट उम्किन नपाउने बताए । उनले चुनौतीका बाबजुद पनि काम गर्नुपर्छ भने । जनताको सुरक्षा पहिलो प्राथमिकतामा राखेर सरकारले विकास निर्माण कार्यलाई दोस्रो प्राथमिकमा राख्नुपर्ने बताए।

अब संसदको अर्को बैठक जेठ १३ गते दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।

पोखरा सभागृह बन्यो संसद् भवन

विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ कारण सामाजिक दूरी कायम गर्नुपर्ने भन्दै नदीपुरस्थित संसद् भवनबाट पोखरा सभागृहलाई अस्थायी प्रयोजनका लागि संसद् भवन बनाइएको हो । पोखराको सभागृहचोकस्थित पोखरा सभागृह (साविक दीपेन्द्र सभागृह) १ हजार २ सय सिट क्षमताको छ।

पुरानो संरचना रहे पनि पोखरा सभागृहमा पर्याप्त सिट, पार्किङ सुविधा, गार्डेन रहेकोले यसैमा बर्खे (बजेट) अधिवेशन टुंगाउने गरी रोजिएको हो । जसको मर्मतमा मात्रै सरकारले २५ लाख रुपैयाँ खर्चेको जनाएको छ।

भाँचिएका कुर्सी, आवश्यक सरसफाइ कमीले थुप्रिएको फोहोर र टुटेफुटेका संरचना सबै मर्मत सम्भार गरिएको छ । सभागृह हललाई रंगरोगन पारेर चिरीच्याट्ट पारिएको छ ।
पोखरा सभागृह हाल पोखरा महानगरपालिकाको स्वामित्वमा छ । अगाडि–पछाडि एक पंक्ति छोडेर, आपसमा २ वटा कुर्ची फरकमा प्रदेशमा प्रतिनिधित्व गर्ने ६० सांसदलाई बस्ने व्यवस्था मिलाएको छ । नदीपुरमा जस्तो अगाडि टेबल सुविधा छैन । कसैलाई बोल्नु परे उठेर अगाडि पुग्नुपर्छ । सभागृहको माथि तलामा पत्रकार, दर्शक दीर्घाको लागि बस्ने व्यवस्था छ । सभामुखको कार्यकक्ष, कार्यव्यवस्था परामर्श समितिको कार्यकक्ष लगायत सदनलाई अत्यावश्यक कक्षहरु तयार गरिएको छ । संसद्को यो छैटौं अधिवेशनका सबै कामकारबाही सभागृहमै हुने संसद सचिवालयका नि.प्रमुख राजेन्द्र न्यौपानेले जानकारी दिए । अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम र बजेट सहित विभिन्न विधेयकहरुमाथि छलफल हुने छन् । असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । काँग्रेसको लगातार अवरोधपछि चैत ५ देखि रोकिएको बैठक सरकारको सिफारिसमा बैशाख २३ मा पाँचौ अधिवेशन अन्त्य गरिएको हो।

वर्षाले बिथोल्यो सामाजिक दूरी
बजेट अधिवेशनको पहिलो बैठक सकिँदा नसकिँदै अविरल वर्षाले समस्यामा पा¥यो । बैठक सकिएलगत्तै कतिपय सांसद गन्तव्यमा पुग्न नपाई रोकिनुप¥यो । संसद भवनमा सामाजिक दूरी कायम गरेको भनिएपछि वर्षासँगै बाछिटाले भने सामाजिक दूरी भंग भएको थियो । पानीबाट जोगिन आथ्या–आथ्या गर्र्दै सांसद, कर्मचारी र पत्रकार एकअर्कामा कोचिएको देख्दा सामाजिक दूरीलाई गिँजाएको भान हुन्थ्यो । सभामुख नजिकै बायाँपट्टि बसेका २ कर्मचारी एक फिटभन्दा पनि कम दूरीमा बसेको देख्दा कतिपयले कानेखुसी गरेका थिए । संसद् छिर्ने सबैजसोले कोरोनाबाट जोगिन मास्क भने लगाएका थिए । संसद सुरु हुनु अगावै मुख्यमन्त्री, मन्त्रीसहित सांसद, कर्मचारीहरुको कोरोनासम्बन्धी पिसिआर परीक्षण गरिएकोमा हालसम्म रिपोर्ट नेगेटिभ आएको छ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width