उपकुलपति र रजिष्ट्रार तत्काल नियुक्ति गर्न प्राध्यापक संघको माग

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
Pokhara-University

पोखरा, जेठ १० । पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरिएको छ । पोखरा विश्वविद्यालय, प्रजातन्त्रवादी प्राध्यापक संघले हालै एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।

संघका अध्यक्ष सञ्जीव थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेकाले तत्काल नियुक्ति गरी विश्वविद्यालयलाई नेतृत्व प्रदान गर्न आग्रह गरिएको छ । लामो समयदेखि विश्वविद्यालयमा शैक्षिक एवम् प्रशासनिक गतिविधि ठप्प भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३०,००० विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सम्बन्धित पक्षलाई गम्भीर बन्न आग्रह गरिएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लकडाउन गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्त गर्नसमेत विज्ञप्तिमा माग गरिएको छ । पदपूर्ति गर्न विभिन्न बहानामा थप ढिलाइ नगर्न र हजारौँ विद्यार्थीको भविष्य अन्योलमा नपार्न आग्रह गरिएको छ ।

पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २४(२) र २६(२) अनुसार क्रमशः उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्ति गर्न विज्ञप्तिमार्फत विश्वविद्यालयका कुलपति (प्रधानमन्त्री) र सह–कुलपति (शिक्षामन्त्री) को ध्यानाकर्षण गराइएको छ । साथै विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारीका बेला कत्ति पनि विचलित नभई सुरक्षाका विधि अपनाउँदै सुरक्षितपूर्वक रहन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई आग्रहसमेत गरिएको छ । स्मरण रहोस् पोखरा विश्वविद्यालयमा विगत आठ महिनादेखि उपकुलपति र रजिष्ट्रार पद रिक्त छन् । त्यसैगरी २०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न सङ्कायका डीनहरू र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पदसमेत रिक्त हुन पुगेको अवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width