काेभिड-१९: नेपालमा सातामै दोब्बर

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
Corona Graph

नेपालमा सुरुवातमा सुस्त देखिएको कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो साताह्वात्तै बढेको छ । बैशाख ३१ मा मात्र २ सय ४३ जना कोरोना संक्रमित भएकोमा एक सातायता अर्थात् शुक्रबार रातिसम्म दोब्बर बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालभित्र ५ सय १६ जना संक्रमित भएका छन् । यसरी हेर्दा आगामी साता कम्तीमा एक हजार जना नेपालभित्रै कोरोना संक्रमित हुने निश्चितप्रायः छ ।

चीनको वुहान सहरबाट सन् २०२० डिसेम्बरमा सर्वप्रथम कोरोना भाइरस अर्थात कोभिड–१९ देखा परेको हो । महामारीको रुपमा फैलिएको सो भाइरसको चपेटाले विश्व अहिले आतंकित छ । हालसम्म २ सय १३ देशमा फैलिएको यो भाइरसकै कारण३ लाख ३६ हजार बढीले अकालमा ज्यान गुमाइसकेका छन् भने ५२ लाख ४५ हजार संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये २१ लाख १५ हजार निको भए।

नेपालमा भने गत वर्षको माघ ९ मा सर्वप्रथम कोरोना संक्रमण देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनबाट आएका एक विद्यार्थीमा पहिलो संक्रमण देखा परेकोमा त्यसको २ महिनापछि फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी काठमाडौंकी युवतीमा चैत १० मा संक्रमण भएको पुष्टि भएको थियो । चैत १२ मा धादिङका ३२ वर्षीय युवकमा देखा पर्यो। उनी पनि विदेशबाट आई त्रिभुवन विमानस्थल उत्रिएका थिए।

दोस्रो संक्रमित पुष्टि भएपछि छिमेकी मुलुकको सिको गर्दै नेपाल सरकारले त्यसको भोलिपल्टदेखि लागू हुने गरी देशभर लकडाउन गर्ने घोषणा ग¥यो । चैत ११ देखि १८ गतेसम्म एक साताका लागि लागू हुने गरी लकडाउन भयो । सामन्य दिनमा स्वतन्त्र रुपमा बाहिर निस्कनेहरु लकडाउनले घरभित्रै कोचिएर बस्न बाध्य भए । तर संक्रमित क्रमशः बढ्न थालेपछि छैटौं पटक बढाइएको लकडाउनको ठिक २ महिना बितेको छ।

यसबीचमा नेपालमा ३ जना नेपालीले कोरोना भाइरसकै कारण ज्यान गुमाउनु पर्यो । कोरोनाकै कारण पहिलो मृत्युको घटना जेठ ३ मा सार्वजनिक भयो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको जेठ १ मा भएको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको हो । त्यस्तै जेठ ४ मा बाँके नरैनापुरका २५ वर्षीय युवकको कोरोनाले ज्यान लियो । उनको बाँकैमै क्वारेन्टाइन रहेकै अवस्थामा मृत्यु हुन पुगेको थियो ।

यस्तै, जेठ ८ मा गुल्मी घर भएका एक पुरुष (शिक्षक) को बुटवल क्रिमसन अस्पतालमा उपचारक्रममा ज्यान गयो । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय ती शिक्षकलाई जेठ १ देखि अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।

छिमेकी मुलुकमा ह्वारह्वार्ती कोरोना संक्रमितको संख्या बढ्दा नेपालमा भने सुरुवातीका दिनमा कम देखिनुले अड्कलवाजी समेत गरियो कि, नेपालीको रोगप्रतिरोधात्मक क्षमता बढी छ । पछिल्लो तथ्यांकले भने यसमा ठोकुवा गरी भन्न सकिने अवस्था छैन ।

कोरोना संक्रमितको ग्राफ हेर्दा वैशाख १ मा १४ जना रहेकोमा वैशाख १६ मा मात्र ५४ जना संक्रमित थिए । मसान्तसम्म सो दर बढेर २ सय ४३ भेटिए। जेठ ३ मा २ सय ८१ जना, जेठ ६ मा ४ सय २ जना कोरोना संक्रमित भेटिएका हुन् । हालसम्म ४० जिल्लाका ५ सय १६ जना कोभिड–१९ बाट संक्रमित हुन पुगेका हुन् । जसमा स्वास्थ्यकर्मी, पत्रकार, प्रहरी समेत परेका छन् । संक्रमितमध्ये ७० जना निको भइ घर फर्के को स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सबैभन्दा बढी संक्रमित ३ जिल्लामध्ये बाँकेमा १ सय १५ जना, पर्सामा ९१ जना र कपिलबस्तुमा ६९ जना संत्रक्रमित भएका छन् ।

विदेशबाट फर्केकाहरु, क्वारेन्टाइनमा बसेकाहरुलगायतको नमुना परीक्षण पर्याप्त हुन नसकेको तथा कन्ट्याक्ट ट्रेसिङ कम हुनुले अझै धेरै संख्यामा नदेखिएको विज्ञको भनाइ छ । भित्रभित्रै धेरै मानिस कोरोनाबाट संक्रमित हुन सक्ने कतिपयको आँकलन छ । पर्याप्तमात्रामा र्‍यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) तथा पीसीआर टेष्टको दायरा बढाउन सक्यो भने मात्र ढुक्क हुन सकिने छ । तर पर्याप्त स्रोत साधन तथा जनशक्ति अभावसँगै महँगो प्रविधिले लकडाउनको यति लामो अवधिमा पनि चाहेकोजस्तो परीक्षण हुन नसकेको गुनासो सुनिन्छ।

नेपालले समेत पहिलो संक्रमितको नमुना परीक्षणको लागि विदेश पठाएकोमा पछिल्लो समय भने काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण थालेको हो । चैत दोस्रो सातादेखि देशका विभिन्न प्रदेशस्तरमै परीक्षण थालिएको हो । गण्डकी प्रदेश राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा चैत १८ देखि पोर्टे वल पीसीआर मेसिन ल्याएपछि परीक्षण थालिएको थियो।

संघीय सरकारको निर्णयबमोजिम कोरोनाको उच्च जोखिममा रहेको भन्दै बागलुङसहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) सुरुवात गरिएको थियो । बागलुङमा चैत २७ देखि आरडीटी परीक्षण प्रारम्भ भएको हो । यो क्रम विभिन्न जिल्लामा जारी छ।

कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेअनुसार निर्दे शन पालना गर्नुपर्छ । नभए विश्वका शक्तिशाली एवं आर्थिक रुपमा सम्पन्न भनिएका मुलुकका वासिन्दालाई समेत भयभित पारेको अवस्थामा कोरोनाले नेपालीलाई ठूलो संख्यामा मृत्युको मुखमा नबनाउला भन्न सकिन्न ।

गण्डकीमा ५ पुगे

गत ४ चैतमा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट नेपाल फर्केका बागलुङका २ जना (पाँचौ र छैटौं) क्रमशः संक्रमित देखिए । उनीहरु निको भइ घर फर्किसकेका छन् । तीमध्ये बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीलाई चैत १५ मा कोरोना पुष्टि भएकोमा बागलुङ धौलागिरि अस्पतालमा उपचारपछि १२ वैशाखमा डिस्चार्ज भएकी थिइन् । छैटाैं संक्रमित भनिएकी बागलुङ–३, गौंडाकोटकी ६५ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारपछि ६ वैशाखमा डिस्चार्ज गरिएको थियो । गण्डकीमै जेठ १ मा नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो ।

यस्तै, जेठ ६ मा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा पर्यो । जेठ ९ मा नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यसरी गण्डकीमा हालसम्म ५ जनामा कोरोना संक्रमित भएका छन् । लमजुङका संक्रमित बालकको काठमाडौंमा र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले गण्डकीमा परीक्षण दरप्रति आफूहरु सन्तुष्ट रहेको बताउँछन् । उनले भने, ‘पीसीआर र आरडीटी गरी झण्डै ९ हजारको परीक्षणमा मात्र ५ जना संक्रमित भेटिनु गण्डकी प्रदेशवासीको लागि सुखद हो ।’ उनका अनुसार गण्डकीमा हालसम्म पीसीआर परीक्षण १ हजार ८ सय १८ जनाको र आरडीटी ७ हजार ७ सय १ जनाको भइसकेको छ । पीसीआरको नमुना लिइएकोमध्ये २ सय २० जनाको नतिजा आउन बाँकी छ।

Related News

सम्बन्धित समाचार

hero news full width