‘स्मार्ट’ लाइसेन्स छपाइ जारी

असारभित्रमा बाँकी रहेका तीन लाख छपाइ सकिने

rss रासस
जेठ ९, २०७७
smart driving license card nepal

काठमाडौँ । लकडाउनको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामान्य अवस्थामा जति नै छपाइ भइरहेको छ ।”

बन्दाबन्दीको समयमा अहिले ‘मास प्रिन्टर’ बाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै सङ्ख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जनाएको छ । कोभिड–१९ को जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको महानिर्देशक हमालले बताउनुभयो । दैनिक तीन चरणमा ‘मास प्रिन्टर’ सञ्चालनका लागि दुई/दुईजना कर्मचारी कार्यालय आउने गरेका छन् । उहाँले भन्नुभयो, “एउटा सिफ्टको कर्मचारी गएको एक घण्टापछि मात्रै अर्काे कर्मचारी आउनेगरी मिलाइएको छ ।”

विभागले मास्क, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको छ । बन्दाबन्दी पहिले झण्डै साढे चार लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा अझै तीन लाख छाप्न बाँकी छ । बाँकी अनुमतिपत्र आगामी असारभित्रमा छापिसक्ने योजना रहेको विभागले जनाएको छ ।

छापिएका अनुमतिपत्र अहिले विभागमै रहेका छन् । बन्दाबन्दी सकिएपछि विभागले प्रदेश सरकारअन्तर्गतको अनुमतिपत्र यातायात व्यवस्था कार्यालय लैजानेछ र कार्यालयले सेवाग्राहीलाई वितरण गर्नेछ । अहिले दैनिक छपाइ भइरहे पनि कर्मचारी आउन/जान कठिनलगायत समस्या छन् । उहाँले भन्नुभयो, “विभिन्न स्थानमा प्रहरीले कर्मचारीलाई पनि रोक्ने गरेका छन् ।”

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि नै सेवाग्राहीले राजश्व तिरेको लामो समयपछि मात्रै अनुमतिपत्र पाउने गरेका थिए । नयाँ संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालयहरु सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ ।

सरकारले झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा ‘मास प्रिन्टर’ ल्याइएको थियो । त्यो आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कँयौँ गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताउनुभयो । सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि ‘मास पिन्टर’ को क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ ।

विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि गरिसकेका छैनन् ।

विभागमा गत वर्षहरुमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै, छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • बुधबारदेखि टिकट काउण्टर बन्द

      rss रासस चैत्र ३०, २०७७
      काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका…
    • प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…
    • ५ सञ्चारकर्मीलाई जनमत सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लमजुङ । जनमत वाङ्मय प्रतिष्ठानले ३७ औं वार्षिकोत्सवमा पत्रकार नवराज पहाडीसहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा लमजुङका पहाडी,…
    • दमौली बजार इकाइमा भूपाल

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ समिति सभापतिमा भूपाल आले निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि…
    • आगलागी पीडितलाई मन्त्रीको राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      पोखरा । पर्वतको पैयुँ गाउँपालिका–६ सरौंखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा…

    hero news full width

    sanil ads

    wordlink ads