आयमूलक कार्यक्रम सञ्चालन कार्यविधि २०७४ पहिलो संशोधन सहित स्वीकृत

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७७
waling1

तोलाकान्त बगाले-वालिङ, ८ जेठ । वालिङ नगर कार्यपालिकाको बुधबार बसेको ५२ औं बैठकले ‘आयमूलक कार्यक्रम सञ्चालन कार्यविधि २०७४’ पहिलो संशोधन (२०७७) सहित स्वीकृत गरेको छ । स्थानीयरुपमा उपलब्ध श्रम, सीप, साधन तथा अवसरहरुलाई अधिकतम परिचालन गरी नगरभित्रका वस्तीहरुको आर्थिक विकास गर्ने उद्देश्य कार्यविधिले राखेको छ ।

आर्थिक उपार्जनका माध्यमबाट गरिबी न्यूनीकरणको प्रयासमा ठोस योगदान पुर्याउन सहभागितात्मक समूहमा आवद्ध रही आयमूलक, उत्पादनमूलक वस्तु उत्पादन गरी निर्यात गराउनका लागि उद्यमी समाजको निर्माण गर्न एक गाउँ एक उत्पादनको नीति अनुरुप स्वरोजगारको वातावरण सिर्जना गर्नुका साथै जनसमुदायहरुलाई संस्थागतरुपमा विकास गर्न आयमूलक समूहको गठन र समूहकै जमानतमा बिना ब्याजमा बीउ पूँजी लगानी गर्ने कार्यविधि रहेकोमा त्यसमा संशोधन गरी नगरपालिका जमानी बसी बैंक तथा वित्तीय संस्था र सहकारीहरुद्वारा ऋण उपलब्ध गराउने कार्य थप गरी पहिलो संशोधन गरिएको नगर प्रमुख दीलिपप्रताप खाँणले बताए ।

“सञ्चालनमा रहेको फर्म तथा ब्यवसायी समूहलाई ऋण आवश्यक भई नगरपालिकाको जमानीमा ऋण उपलब्ध गराउनुपर्ने देखिएमा सम्बन्धित विषयगत शाखाबाट निरीक्षण अनुगमन गरिने छ” नगर प्रमुख खाँणले भने, “अनुगमनपश्चात शाखाबाट प्राप्त प्रतिवेदनका आधारमा नगरपालिका जमानी बसी बंैक तथा वित्तीय संस्था र सहकारीद्वारा ऋण उपलब्ध गराउन सकिने देखिएमा निजलाई कबुलियत गराई नगरपालिका जमानी बस्न सक्नेछ ।”

बीउ पूँजीको सुविधा प्राप्त गर्नका लागि प्रत्येक ब्यवसायी/समूहले कम्तिमा पनि नगरपालिकाले तोकेको संख्यामा काम गरेको हुनुपर्नेछ जसका लागि सुन्तला कम्तिमा पनि ५० बोट बेर्ना लगाएको हुनुपर्ने, बाख्रा कम्तिमा पनि प्रतिब्यक्ति ५ वटा, बंगुर प्रतिब्यक्ति ५ वटा, दुध उत्पादनका लागि गाई भैंसीपालन कम्तिमा पनि ३ वटा, मौरी घार कम्तिमा पनि ५ वटा, कुखुरा कम्तिमा पनि एकसय वटा, अन्य उन्नत जातका बोटबिरुवा कम्तिमा पनि ५० वटा लगाएको हुनुपर्ने छ । त्यस्तैगरी गोठ सुधार कार्यक्रम, माछा कम्तिमा पनि २ वटा पोखरीमा एक हजार भुरा, टनेल ३ वटा, तरकारी कम्तिमा २ रोपनी क्षेत्रफलमा लगाएको हुनुपर्ने, साना घरेलु उद्योग कम्तिमा लगानी पूँजी रु. ३ लाख, अन्यको हकमा सम्बन्धित प्राविधिक विषय विज्ञको सिफारिसमा नगर कार्यपालिकाको निर्णय बमोजिम हुने छ ।

त्यस्तैगरी उत्पादन क्षेत्रमा निजी फर्म वा समूहलाई नगर कार्यपालिकाबाट अनुदान उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएमा नगर कार्यपालिकाको निर्णयबाट उपलब्ध गराउन सकिने उल्लेख कार्यविधिमा गरिएको छ । नगर कार्यपालिकाको वार्षिक विनियोजन नीति ऐन तथा कार्यक्रममा ‘एक गाउँ एक उत्पादन’ गर्ने लक्ष्य बमोजिम बीउ पूँजी लगानी तथा कार्यान्वयन बजेटको ब्यवस्था गरी लगानी गरिने नगरपालिकाले जनाएको छ ।केन्द्रीय सरकार प्रान्तिय सरकारको अनुदान, स्थानीय सरकारको आन्तरिक स्रोतको रकम समेतको स्थानीय संचितकोषमा जम्मा भई विनियोजन ऐन बमोजिम पूँजीगत रकमबाट बीउ पूँजीको स्थापना गरिन्छ भने बीउ पूँजी अन्यत्र खर्च गर्न भने नपाईने कार्यविधिमा उल्लेख गरिएको उपप्रमुख कल्पना तिवारीले बताए ।

‘आयमूलक कार्यक्रम सञ्चालन कार्यविधि २०७४’ पहिलो संशोधन (२०७७) अनुसार नगरपालिकामा सूचिकृत ब्यक्ति वा सामूहिक फर्मलाई नगरपालिकाको जमानीमा ऋण उपलब्ध गराईने र ऋणको साँवा ब्याज तोकिएको समयमा ऋणीले नतिरेमा नगरपालिकाले निजको चल अचल सम्पति रोक्का राखी कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गराउन सहयोग गर्ने र निज ब्यक्ति वा समूहलाई नगरपालिकाबाट उपलब्ध हुने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन बाध्य नहुने उल्लेख गरिएको छ ।समूहको क्रियाकलापन एवं प्रगतिको आधारमा प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी उत्कृष्ट समूहलाई पुरस्कृत गरी मनोबल बढाउने र कार्यक्रमबाट सफलता हासिल गर्नमा सहयोग पुग्ने विश्वास प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाको छ ।आँफूले गर्दै आएको ब्यवसायमा आर्थिक अभावका कारण ब्यवसायबाट विस्थापित हुन नदिने र थप उर्जा दिनका नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउने कार्यविधि स्वीकृत गरी कार्यान्वयन थालिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

नगर कार्यपालिकाको बैठकले नगरपालिकाद्वारा तयार गरिएको कोभिड १९ सम्बन्धी राहत वितरण तथा ब्यवस्थापन गर्न बनेको कार्यविधि २०७६ पहिलो संशोधनसहित स्वीकृत गरेको छ । वडा कार्यालयहरुमा पठाईएको बजेट सिलिङ तथा मार्गदर्शनहरु अनुमोदन गरेको छ भने वालिङ १० को मदिखोला, बैंडी, भुङ्गाने, भुम्रे सिञ्चाई योजना सञ्चालन गर्न केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको छ ।त्यस्तैगरी आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेश पोखरामा समपूरक अनुदान र विशेष अनुदानमा सञ्चालन गर्ने गरी प्राथमिकताका आधारमा योजना छनौट गरी पठाउने निर्णय कार्यपालिका बैठकले गरेको छ । समपूरक अनुदान अन्तर्गत हुल्काङ–ठाना–सिम्ले–करादी सडक स्तरोन्नति वालिङ १४, रिठ्ठेबारी–धनमूढा भञ्ज्याङ–कोखे–देविस्थान पर्वत जाड्ने ग्रामीण सडक स्तरोन्नति वालिङ १२, एक्लेपिपल–धनुबाँस हुँदै भरुवा ग्रामीण सडकमा स्तरोन्नति तथा पुल निर्माण रहेका छन् ।

त्यस्तैगरी खाद्यान्न उत्पादनलाई बजार ब्यवस्थापन गर्ने गरी जगत–मिनाङकोट–पित्लेक सडक स्तरोन्नति वालिङ ५, आँधीखोला कोरिडर अन्तर्गत वालिङ १ र ६ स्थित अर्मादी र मिर्दीखोलामा पक्की पुल निर्माण, धौखोला–छाप्राक–रानागाउँ–खनियाँडाँडा बृहत खानेपानी योजना वालिङ २ छन् ।त्यस्तैगरी पञ्चमूल खानेपानी योजना वालिङ ११, ठूला पँधेरा लिफ्टिङ खानेपानी योजना वालिङ १३ अर्लुङ, सिख्रे अर्खलबास खानेपानी योजना वालिङ १४, दोबाटे लिफ्टिङ खानेपानी योजना वालिङ १२ को योजना सञ्चालनका लागि लगत ईस्टिमेट तयार गरी गण्डकी प्रदेशको सम्बन्धित मन्त्रालयमा माग गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कामका लागि पारिश्रमिकमा आधारित योजनाहरु सञ्चालन गर्ने साथै वालिङ नगरपालिकाका ६, ८ र ९ मा रहेका हाल लकडाउनका कारण कामबाट बञ्चित भएका मजदुरहरुका लागि काममा लगाई राहतस्वरुप पारिश्रमिक उपलब्ध गराउने र वडा कार्यसमितिले योजना छनौट गरी कार्यान्वयन गर्न राहत कोषबाट रकम उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width