कोरोना संक्रमित महिलाको माइती घर र साविक दिव्यपुरी गाविस शिल, माइतीका स्वाब संकलन गरिदै

नवलपरासी घर भनेकी संक्रमित रुपन्देहीकी, २० दिन अगाडि रुपन्देहीबाट देवचुली माइत बसेर १० दिन पछि काठमाडौं गएको खुलासा

रामकुमार श्रेष्ठ
जेठ ७, २०७७
debbyapuri

नवलपरासी, ७ जेठ । मंगलबार कोरोना संक्रमण भेटिएकी देवचुली नगरपालिका २ माइत भएकी महिलाको घर रुपन्देही भएको खुलेको छ।

उनी बैशाख १९ गते श्रीमानसँगै मोटरसाइकलमा देवचुली २ सिजी नजिकै माइत आएर बसेकी थिइन् । उनी १० दिन माइत बसेर बैशाख २९ गते श्रीमानसँगै काठमाडौं गएको खुल्न आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार २४ बर्षीय ति महिलासँगै यात्रा गरेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ।

उनी १० दिन माइत बसेकोले अहिले माइतीघर र गाउँ बुधबार शिल गरेर माइतीको स्वाब संकलन गर्ने कार्य शुरु गरिदै छ।

उनको माइती र उनको गाउँमा अहिले आउजाउ बन्द गरिएको चापागाईले बताए।

रुपन्देहीको कोटिहवा घर भएकी ति महिलाको माइती घरमा सम्पर्कमा आएका सबैको पहिचान गरी बुधबार नै स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइने तयारी भएको चापागाईले बताए।

चापागाईका अनुसार उनको माइतीमा कसैलाई पोजेटिभ देखिए गाउँ नै शिल गरेर थप परीक्षण गरिने छ भने कसैमा पनि संक्रमण नदेखिएर माइती घरका कसैलाई पनि दुई हप्तासम्म घरबाट बाहिर निस्कन दिइने छैन।

देवचुली २ माइत भएकी ति महिलाको माइती घरका १० जनाको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइदै छ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीका अनुसार ति महिलाको माइती पक्षले सिजी अगाडि होटेल र खाद्यान्न पसल समेत सञ्चालन गर्दै आएको र ति महिला पनि होटेल र खाद्यान्न पसलमा बसेर माइती पक्षलाई सघाएकोले चौधरी उद्योग (सिजी) का मजदुरहरुमा पनि कोरोनाको संक्रमण रहेको आशंका गरिएको छ।

चौधरी उद्योग लकडाउनका बेला केही समय सञ्चालनमा आएको थियो । ति होटल र पसलमा चौधरीका मजदुरहरु आउजाउ गर्ने भएकोले संक्रमणको खतरा देखिएको हो।

चौधरी उद्योगमा आवश्यकता भन्दा बढी मजदुर राखिएको, सामाजिक दुरी कायम नगरिएको, भारतबाट ट्रकमा आउने चालक र सहचालकहरुसँग मजदुरहरुको सोझै सम्पर्क हुने लगायतका कारण आफूहरु असुरक्षित रहेको भन्दै सिजीका मजदुरहरुले आन्दोलन गरेर उद्योग छाडेका थिए।

चौधरी उद्योगका सबै मजदुरको चौधरी उद्योगकै खर्चमा ३ दिन भित्र आरडिटि परीक्षण गरिदै

चौधरीमा त्यति बेला रहेका ६ सय मजदुर मध्ये करिब ५ सय मदजुरहरु आन्दोलन पछि घर गएका थिए । उनीहरुको २० जनाको मात्र आरडिटी परीक्षण गरिएको थियो ।

घर गएका अधिकांश मजदुरहरु घरमै क्वारेन्टाइनमा बसेको देवचुलीका उपप्रमुख पार्वता तिवारीले बताइन् ।

घर गएका सबै मजदुरहरुको चौधरी उद्योगकै खर्चमा ३ दिनभित्र सक्ने गरी आरडिटी परीक्षण शुरु गरिने भएको पार्वता तिवारीले बताए ।

भारतबाट आएका मजदुरहरुबाट चौधरी उद्योगका मजदुरमा कोरोना संक्रमण देखिएको भए । देवचुलीमा स्थिति भयावह हुने देखिएको छ ।

साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल

अहिले देवचुली नगरपालिकाको वडा नंं. १, २, ३, ४ र ५ अर्थात साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल गरिएको छ।

दिव्यपुरी भित्र रहेको पसल, होटल, खाद्यान्न पसल, तरकारी पसल, किराना पसल सबै बन्द गरिएको पार्वता तिवारीले बताइन्।

चौधरी उद्योगबाट घर गएका अधिकांश मजदुरहरु साविक दिव्यपरी गाविसका रहेका छन्।

यस अघि देवचुली नगरपालिका १२ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ति पुरुष घर नआइ विरगञ्जको रक्सौल नाकाबाट नेपाल प्रवेश गरी सोझै चितवनको अस्पताल गएकोले ति पुरुषबाट नवलपुरमा कसैमा पनि संक्रमण फैलन पाएको थिएन।

उनको अहिले भरतपुरमा उपचार भईरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width