पोखराका होटल असोजसम्म बन्द हुने, बजेटमा राहतको माग

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७७
81742133

विजय नेपाल-पोखरा, ६ जेठ । कोरोना भाइरस महामारीसँगै जारी लकडाउनले होटल व्यवसाय नराम्ररी प्रभावित छ। अन्यको तुलनामा ठूलो लगानी रहने होटल व्यवसाय संचालन हुन नसक्दा यहाँ कार्यरत हजारौं मजदुरको रोजीरोटी गुमेको छ । संचालकको लगानी खेर गएको छ ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा संचालित होटल पनि यही अवस्था लम्बिए असोजसम्म संचालन गर्न नसकिने संचालकले स्वीकारिसकेका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकोले आगामी असोज महिनासम्म पोखराका होटलहरु पनि संचालन गर्न नसकिने पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

संघ अध्यक्ष विकल तुलाचनले भने, ‘लकडाउन कतिसम्म जाने हो निश्चित छैन । लकडाउन खोलि हाले पनि कोरोना संक्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीकतै आन्तरिक आएपनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकोले मापदण्ड कायम गर्न गाह्रो छ ।’ उनका अनुसार यही स्थितिमा संचालन खर्च बढ्ने, सरकारले राहतका प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आएपनि डुल्न जाने ठाउँ कही कतै छैन । समाजमा डर त्रास हटेको छैन ।

भनिन्छ, होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन अब १/२ वर्ष लाग्छ । जसका कारण पोखरा क्षेत्रमा संचालित होटलमा कार्यरत मजदुरको रोजीरोटी गुमेको छ । पोखरामा ठूला भनिएका पोखरा होटल ग्राण्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्याण्डमार्क, माउण्ट कैलाश लगायत होटलमा पहिलेको तुलनामा हाल मात्र १५ प्रतिशत कर्मचारी कार्यरत छन् । अन्य होटलले लगभग पूरै कर्मचारी घर फर्काएका छन् । नो वर्क, नो पेको अवधारणामा बेतलबी राखेका छन् । होटलमा हाल शुन्य कारोबार हुँदा तलब दिनसक्ने अवस्था छैन । असोजपछि के गर्ने भन्ने सवालमा संघले कोरोनाको प्रभाव र सरकारको नीति अनुसार त्यसबेलामात्र भन्न सकिने जनाएको छ ।
अबको बाटो के त ?

संघ अध्यक्ष तुलाचन भन्छन् ‘सरकारले समग्र पर्यटन क्षेत्रको लागि राहतको प्याकेज दिनु कञ्जुस्याईँ गर्नु हुन्न । गत शुक्रबार आएको सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई खासै सम्बोधन भएन । अब आउने बजेटमा भने यसलाई प्राथमिकतामा राखेर राहतका प्याकेज ल्याउनु जरुरी छ । सरकारले पनि एकखालको मापदण्ड ल्याउनुपर्दछ ।’
उनले अगाडि भने, ‘सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी लगानी थप्न लगाइयो । व्यवसायीले पनि सकी नसकी ठूलो ऋण लिएर लगानी थपे । महामारीकै कारण देखाएर सरकार पन्छिन मिल्दैन । अपनत्व त लिनुपर्यो नि ।’

कुनै महामारी तथा विपत्ति निम्ँितदा यो व्यवसाय छिटो प्रभावित हुने र ढिलो उठ्छ । होटलकै कारण कृषि क्षेत्र, हाइड्रो क्षेत्रलाई समेत ठूलो टेवा दिएको छ ।
होटलमा कार्यरत मजदुरलाई तलब खुवाउन धौ–धौ छ । कारोबार नै शुन्य भएको अवस्थामा कसरी तलब खुवाउने भन्नेमै होटल संचालकलाई पिरलो थपिएको हो । होटल संघले नै भाडामा संचालित होटलहरुलाई घरभाडा छुट गरिदिन अपील समेत गरिसकेको छ । यस्तै, मजदुरलाई ६ महिना वा वर्ष्दिनसम्म धानिनका लागि प्याकेज दिनुपर्ने माग गरेको छ । होटलले स्वरोजगार सिर्जना समेत गरेको हुँदा सरकार पन्छिन नमिल्ने उनीहरुको माग छ ।

पोखराको पर्यटन क्षेत्रमा समग्र ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको पाइन्छ । पश्चिमाञ्चल होटल संघमा मात्र आबद्ध होटलको संख्या ४ सय बढी छ। त्यस्तै होटल तथा रेष्टुरेन्टमा गरी पोखरामा हाल २५ हजार कर्मचारी कार्यरत रहेकोमा कोरोनाकै कारण ८० प्रतिशत कर्मचारी घर फर्काइएका छन् । ती कर्मचारीलाई होल्ड गरी राख्नुपर्ने अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width