घरभाडाको विषय आपसी समझदारीमा मिलाउन होटल संघको अपिल

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७
20200120_124304

लेकसाइड, पोखरा । तस्वीर : रुपनारायण ढकाल

रुपनारायण ढकाल : पोखरा, ४ जेठ । पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक र घरधनी विच आपसी समझदारीमा घरभाडा छुट सम्बन्धी विषय टुंगोमा पु-याउन आग्रह गरेको छ ।

शनिबार एक अपिल जारी गरी संघले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्र भन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा संचालित होटलहरु झनै मारमा परेको स्मरण गराएको छ ।

अध्यक्ष विकल तुलाचनले संघका तर्फबाट जारी गरेको अपिलमा भनिएको छ– विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटल धनी तथा संचालकहरु विच मानवीय तथा आपसी भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुबै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।

विविध जटिल परिस्थिति पार गर्दै व्यवसाय संचालन गर्दै गर्दा ऐतिहासिक तथा अप्रत्यासित रुपमा विश्वव्यापी देखा परेको संक्रमण कोरोना भाइसरका कारण सिर्जित विषम परिस्थितिमा होटल धनी र संचालक विच आपसी समझदारीबाट नै वर्तमान समस्या समाधान गर्नु अहिलेको आबश्यकता भएको अपिलमा उल्लेख गरिएको छ ।

संघसंँग सम्बन्धित होटलका घर धनी र होटल संचालकहरुले ससस्त्र द्वन्द्व, नाका बन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइरहेको स्मरण पनि तुलाचनले गराएका छन् ।
अपिलमा थप भनिएको छ– नेपालको प्रमुख उद्योग पर्यटन रहेको र गण्डकी प्रदेशको राजधानी पोखरा विविध कारणले विश्वको एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । यहाँको भौगोलिक तथा प्रकृतिक भु–बनोट, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय पुर्वाधार होटल, रिसोर्ट, रेष्टुरेण्ट तथा अन्य पर्यटकीय गतिविधिले विश्वका पर्यटकहरुलाई थप आकर्षण तुल्याएको छ । पोखरा र यस क्षेत्रमा पर्यटकहरुको थप आगमनलाई मध्यनजर गर्दै आफ्नै वा विभिन्न बैंक तथा वित्तीय संस्थाको सहयोगमा पछिल्लो समयमा असंख्य होटल, लज तथा रिसोर्टहरुमा लगानी बढदै गएको जगजाहेर नै छ ।

आतिथ्यता व्यवसायमा समर्पित भई केही व्यवसायीले लामो समय देखी तथा केहीले भरखर मात्रै आफ्नै अथवा होटल भाडामा लिई लगानी गरी नेपालको पर्यटनलाई थप योगदान दिई व्यवसाय संचालन गरेको पनि स्मरण गराइएको छ । महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गते देखी हाल सम्म लकडाउन घोषणा गरी कार्यन्वयन हुँदै आएको र लकडाउनको स्थितिले होटल व्यवसाय शुन्य प्राय भएको संघले जनाएको छ । नेपालमा पनि दैनिक संक्रमणको दर वृद्धि भई रहेको स्थितिले गर्दा लकडाउन कहिले सम्म लम्बिने हो भन्ने अनिश्चित छ ।

लकडाउन खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति छैन् र विश्वव्यापी रुपमा संक्रमण फैलिएको अवस्था र रोगको औषधी उपचार हाल सम्म नभएको र अन्य विविध कारणले केही वर्ष सम्म बाह्य पर्यटकहरुको आगमन हुने स्थिति नरहेको आँकलन पनि संघको छ । सबै विषयलाई दृष्टिगत गरी संघले हाललाई असोज मसान्त सम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको समेत उल्लेख गरेको छ । यस विषम परिस्थितिमा सबै व्यवसायी एक जुट भई यस अवस्थालाई पार लगाउनु पर्ने देखिन्छ । यस संघले नेपाल सरकार तथा अन्य सम्बन्धित निकायसँग राहत माग गरिरहेको र सम्भवत अगामी आ.व. ०७७/०७८ को बजेटमा सम्वोधन हुनेमा हामी आशाबादी छौं, अध्यक्ष तुलाचनले अपिलमा उल्लेख गरेका छन् ।

नेपाल भ्रमण वर्षको पूर्व संघारमा नेपाल लगायत छिमेकी राष्ट्र तथा अन्य देशहरुमा विश्वव्यापी रुपमा कोरोना रोगको संक्रमण देखा परेको र संक्रमण रोकथाम गर्न तथा फैलन नदिन विश्वभर लकडाउन हुँदाहुँदै पनि हाल नेपालका विभिन्न क्षेत्रमा पनि दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको संघले सम्झाएको छ । विश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई विश्व स्वास्थ्य महामारीको रुपमा परिभाषित गरिसकेको र संक्रमणका कारण धेरै मानिसहरुले ज्यान गुमाउनु परेको पनि जनाइएको छ । विश्वका धेरै विकसित राष्ट्रका वैज्ञानिकहरुले यस संक्रमणको रोकथाम तथा न्यूनिकरण गर्न धेरै अध्ययन अनुसन्धान गरिरहेको र यस संक्रमण लामो समय सम्म रहिरहन सक्ने विभिन्न संचारमाध्यमबाट थाहा हुँदै आएको पनि उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width