कास्की र तनहुँमा छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा १ को मृत्यु, ७ घाइते

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७७
accident-tartasesti-dn-7

तनहुँको भानु–१, अँधेरीखोलास्थित डुम्रे वेशीसहर सडकखण्डमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा काम गर्ने भानु–१, भन्सार बस्ने १८ वर्षीय नवीन परियार हुन् ।

शनिबार दिउँसो १ बजे वेशीसहर सडकखण्डको भन्सारबाट पुर्कोटतर्फ जाँदै गरेको ग १ त ५५०२ नम्बरको ट्याक्टरबाट लडेर घाइते भएका परियारको उपचारार्थ लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा उपचारक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रण लिई अनुसन्धान थालेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

उता, कास्कीको रुपा गाउँपालिकामा शनिबार ट्याक्टर दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

रुपा–५, बेतेनीस्थित देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग१त ४१७२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा ट्याक्टर चालक मादी ८, भगवतीटार बस्ने वर्ष २२ का लक्ष्मण बिक, पोखरा ३२, राजाकोचौताराकी ३० वर्षीया कोपिला सुनार, वर्ष ४ की जोशिका सुनार, वर्ष ९ का दीपेश सुनार, पोखरा २६, बूढीबजारकी ४९ वर्षीया बुद्धिमाया सुनार, वर्ष ५५ को वीरबहादुर मगर र कैलाली घर भै हाल मादी बस्ने वर्ष १९ को हस्तबहादुर बूढामगर छन् । घाइतेहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर आफै अनियन्त्रित भइ सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width