अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता

रासस
जेठ ३, २०७७
Trump-modi

वासिङ्टन, ३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

प्राप्त समाचारअनुसार उनीहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।त्यस फोनावार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताएका थिए ।

अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राखेका हुन् । वासिङ्टनमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच आफ्नो शुक्रबार साँझ नै फोनवार्ता भएको बताएका थिए । त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरुसँग भने– तपाईँहरुका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आज मात्र पनि कुराकानी भएको थियो ।

भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो– अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस अवसरमा भनेका थिए – हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ ।अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उहाँले जानकारी दिएको समाचारमा बताइएको छ । राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिकहरु बसिरहेको र उनीहरु र अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताएका थिए ।

उनले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेबु्रअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा आउनुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमण गरेका थिए ।

कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधिहरु सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ । यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८५ हजार ९४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७०० भन्दा बढीको ज्यान गएको बताइएको छ । उता अमेरिका यो महामरीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको संख्या ८८ हजार ५०७ जना पुगेका छन् ।

त्यसैगरी अमेरिकामा मात्र संक्रमणमा पर्ने नागरिकको संख्या १४ लाख ८४ हजार २८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस संक्रमणबाट ज्यान जानेको संख्या ३ लाख ८ हजार ६७६ जना रहेको छ । त्यसैगरी यस संक्रमणका पूरै संक्रमितको संख्या भने ४६ लाख २९ हजार ४०७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width