मदनआश्रित स्मृति दिवस –दासढुङ्गादेखि गोलाघाट पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

रासस
जेठ ३, २०७७
Madan-Aashrit-_Dasdhumga_

नारायण अधिकारी- चितवन, ३ जेठ । सत्ताइस वर्ष अघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुङ्गादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

विसं २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उनीहरु चढेको जीप दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको थियो । आश्रितको शव त्रिशूली नदीमा दुर्घटनाग्रस्त जीपभित्र नै भेटिएको थियो भने भण्डारीको शव गाजीपुरमा भेटिएको थियो । सो ठाउँ पनि अहिले भरतपुर महानगरपालिका वडा नं १८ मा पर्छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजन र वागमती प्रदेश सरकारको सहयोगमा दासढुङ्गादेखि गोलाघाटसम्म एकीकृत विकासको अवधारणा अघि सारिएको छ । फाउण्डेशनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार गुरुयोजना तयार भइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा छ । केही दिनअघिमात्रै दासढुङ्गा क्षेत्रको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित प्राविधिक समूहले स्थलगत निरीक्षण गरेको थियो ।

गुरुयोजनाअनुसार दासढुङ्गामा हाल मदन–आश्रितको अर्धकदको शालिक भएको ठाउँभन्दा माथिको डाँडालाई पर्यटकीय आकर्षक केन्द्रविन्दु बनाइँदैछ । सो ठाउँमा यसअघि नै नेपाल सरकारले ३६ कट्ठा जग्गा खरिद गरिसकेको छ । थप नम्बरी ३३ कट्ठा र ऐलानी १८० कट्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना छ । भट्टराईका अनुसार सो ठाउँमा सङ्ग्रहालय, नीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायत संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाइनेछ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ ।

यसैगरी दासढुङ्गाबाट गोलाघाटसम्मको त्रिशूली र नारायणी नदी किनारको ४६ किलोमिटर भागलाई तटबन्धसहितको आकर्षक सडक निर्माण गरिँदैछ । गुरुयोजनाअनुसार नदी वारिपारि नै संरचना निर्माण गरिनेछ । देवघाट क्षेत्र विकास समितिसँग सहकार्य गरेर सो क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्ने गरी संरचना बनाइनेछ । दियालो बङ्गाला क्षेत्रमा उद्यानसहित सांस्कृतिक केन्द्र निर्माण गरिनेछ । उनका अनुसार उद्योग वाणिज्य सङ्घ पछाडिको नारायणी किनारलाई हाल भइरहेको विकासमा थप सहयोग गर्ने योजना रहेको छ । यस्तै नगर वन क्षेत्रलाई पर्यटकीय पूर्वाधार निर्माण गरी विकास गरिनेछ । शिवघाट मन्दिर क्षेत्रको विकास गरिनेछ भने वन क्षेत्रलाई वनभोजस्थलका रुपमा विकास गरिँदैछ । भट्टराईले त्यस क्षेत्रमा घरबास निर्माणमा सहयोग गर्ने गरी काम अगाडि बढाइने बताए ।

गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, बायो डाइभरसिटी अनुसन्धान केन्द्र बन्नेछ भने भ्यू टावर निर्माणका क्रममा रहेको भट्टराईले बताए । यसअघि नै सो क्षेत्रमा केही संरचना बनिसकेका छन् । मदन भण्डारीको शव भेटिएकै ठाउँमा जस्तोरुपमा भेटिएको थियो त्यस्तैरुपमा प्रतिमूर्ति निर्माण गर्ने योजना रहेको छ । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना छ । नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटलाई रमणीय पर्यटकीय स्थलका रुपमा विकास गरिँदैछ । एक किलोमिटर वरबाट सवारी जान नमिल्ने गरी साना साना संरचना निर्माण गरेर पैदल हिँडेर प्राकृतिक सुन्दरता अवलोकन गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ । सो ठाउँमा आन्तरिक र बाह्य पर्यटकले दुई÷तीन घण्टा समय रमाएरै बिताउन सक्ने गरी पूर्वाधार निर्माण गरिने उनी बताउछन् ।

हाल सोका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरिएको छ । धेरै योजना भएकाले फरकफरक निकायबाट डिपिआर बन्ने काम अघि बढ्ने छन् । डिपिआर तयार भएपछि योजनाको छनोट गरी स्थानीय, प्रदेश र सङ्घीय सरकारले संरचनाको काम गर्ने उनले बताए । यस क्रममा देवघाट क्षेत्र विकास समिति, सामुदायिक वनका समिति, स्थानीय निकायसँग समन्वय र सहकार्य गरेर काम अघि बढाइनेछ ।

मदन–आश्रितको दुर्घटना हुँदा नेकपा (एमाले) चितवनका पार्टी प्रमुख (सचिव) रहेका हालका प्रदेशसभा सदस्य विजय सुवेदी संरचना निर्माण गर्दा प्रतिफल आउने गरी काम गरिने बताउछन् । पहिलो चरणमा दासढुङ्गा र गाजीपुरमा अध्ययन केन्द्रसहितको संरचना बन्ने भन्दै उनले अन्य संरचना जनहितमा हुने गरी निर्माण गरिने बताए । विस्तृत अध्ययन प्रतिवेदनपछि यकिन लागत खर्च आउने भए पनि दीर्घकालीनरुपमा अरबौँ खर्च हुने उहाँले बताउनुभयो । यसले नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने सुवेदीको तर्क छ ।

Related News

सम्बन्धित समाचार

hero news full width