बाहिरी जिल्लाबाट तरकारी फलफूल ल्याउन रोक

रासस
जेठ २, २०७७
images

मेलम्ची, २ जेठ । सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो ।

आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको ढकालले बताए । “हामीले अन्य जिल्लाबाट आउने तरकारी फलफूलको आयात मात्रै रोकेका हौँ, जिल्लामा उत्पादन भएका बिक्रीवितरण गर्न पाइन्छ”, उनले भने । “जिल्लामै उत्पादन भएका तरकारी फलफूलले पुग्छ ।”

बाहिरबाट आउने तरकारी आयातमा रोक्दा जिल्लामा अभाव नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले बताए । “सामान्यतया सागपात र तरकारी प्रायः सबैले आफ्नो करेसाबारीमा रोपेकै छन् । यस वर्ष मात्रै जिल्लामा ७६ हजार टन आलु फलेको छ, जिल्लालाई जम्मा ३५ हजार टन आलु चाहिन्छ ।” वितरण प्रणाली कमजोर भएका कारणले कुन पालिकामा आवश्यकताभन्दा बढी सञ्चय भएको छ र कुन पालिकामा अपुग भएको छ, त्यसको लेखाजोखा गरी समन्वय गर्दा समस्या नआउने उनले बताए ।

आवतजावतमा थप कडाइ

मेलम्ची नगरपालिकाले आवतजावतमा थप कडाइ गरेको छ । आजै मात्र लुम्बिनीबाट आएका एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनलाई लिएर पाँचपोखरी थाङ्पाल गाउँपालिका जान लागेका मोटरसाइकलचालक र उनलाई खाल्डेखोला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्र्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । चालकलाई भने होमक्वारेन्टाइनमा बस्न भनिएको छ । मोटरसाइकलको माध्यमले मानिस ओसारपसार गर्नेलाइ निगरानी गरी यस्तो गतिविधिलाई बन्द गरिने मेलम्ची नगर उपप्रमुख भगवती नेपालले जानकारी दिए । अहिले मेलम्ची क्षेत्रीय क्वारेन्टाइनमा आठ जना रहेको उपप्रमुख नेपालले जानकारी दिए ।

यसैबिच बिहीबारबाट पुनः लकडाउनलाई थप कडा पारिएको छ । ‘म्यान क्याचर’ यन्त्रबाट सात महिला र १३ पुरुषलाइ नियन्त्रणमा लिइ कोरोना सङ्क्रमण हुने तरिका, लकडाउन र हातधुने तरिकाका बारेमा एक घण्टाको प्रशिक्षणपछि अब लकडाउनको उल्लङ्घन नगर्ने शर्तमा छाडिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक तामाङले जानकारी दिए । साथै लकडाउनलाई बेवास्ता गर्दै गुडेका १५ मोटरसाइकल र चालकलाई कारवाही गरिएको तामाङले जानकारी दिए ।

सङ्घीय सरकारको निर्देशनानुसार मेलम्ची प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ । बाहुनेपाटी, भोटेचौर र ढाँडखोलाका नाकामा थप कडाइ गरिएकोे तामाङले जानकारी दिए । साथै अतिआवश्यक कामबाहेक हिँड्डुल नगर्न र मानिस ओसारपसार नगर्न इलाका प्रहरी कार्यालय मेलम्चीले अनुरोध गरेको छ । जुगल गाउँपालिकाले कोभिड–१९ महामारीका कारण बन्द रहेको विद्यालय शिक्षालाई फरक तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाअन्तर्गतका ४२ सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको भेलाले यो निर्णय लिएको हो । लकडाउनपछि हिजो पहिलोपटक जुगल गाउँपालिकाअन्तर्गतका प्रधानाध्यापकबीच निश्चित दूरी कायम राखी सुरक्षा विधि अपनाइ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड–१९ महामारी अझै लामो समय जान सक्ने विज्ञले चेतावनी दिइरहेका छन् । यो महामारी र यसबाट सिर्जित परिस्थितिका बीचमा विद्यालय शिक्षालाई पुरानै अवस्थामा निरन्तरता दिन असम्भवजस्तै छ । यस्तो अवस्थामा हामी अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापलाई सहजीकरण गर्ने निष्कर्षमा पुगेको छौँ । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

अब बालबालिकालाई विद्यालय खोलेर पुरानै अवस्थामा पढाउन नसकिने भएकाले नयाँ पद्धतिमा सोच्नपर्ने भएको छ । अभिभावकसमेतको सहभागितामा बालबालिकाका घरमै सिकाइ क्रियाकलापसँग जोड्नु जरुरी छ । यसका लागि गाउँपालिकास्तरीय सिकाइ सहजीकरण समन्वय समिति गठन गरिएको छ । यसले आवश्यक विधि, टुल्स र प्रक्रिया निर्माण गर्नेछ । त्यसैगरी सिकाइ क्रियाकलापको प्रभावकारिताका लागि वडास्तरीय सिकाइ सहजीकरण समन्वय समितिसमेत गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…

hero news full width