विपतको सहयोगी नदीपुर युनाइटेड क्लब

नारायण शाही
जेठ २, २०७७
Nadipur Unite Club

पोखरा । कोरोना भाइरस (कोभिड–१०) महामारीका कारण यतिखेर सिंगो विश्वजगत नै लकडाउनमा छ । नेपाल पनि त्यसबाट अछुतो रहेन । सरकारले गत ११ चैतदेखि शुरु गरेको लकडाउन ५२ औं दिन पुगिसकेको छ । लकडाउन आफैमा असहज अवस्था हो । मजदुर तथा गरीब वर्गले खानै नपाएर कठिन अवस्था भोगेका छन् । साथै देशमा उत्पादन र आयमूलक कामहरु ठप्प छन् । जसका कारण न्यून आय भएका यहाँका विपन्न व्यक्ति, श्रमजीवी र मजदुर वर्ग सिधैँ प्रभावित बनेका छन् ।

लकडाउनले उनीहरुको जीवन गुजारामा कठिन अवस्था आएको छ । दिनभरी काम गरेर बिहानबेलुकी परिवारको छाकको गर्जो टार्दै आएका गरीब विपन्न र श्रमजीवी वर्ग यतिबेला कठिन स्थितिमा छन् ।

सो अवस्था मध्यनजर गरी पोखरा–३, नदीपुरस्थित नदीपुर युनाइटेड क्लब यतिखेर प्याकिङ तयारी निःशुल्क खाना लिएर गरीब र श्रमजीवी वर्गहरुको बस्ती–बस्तीमा पुगेको छ ।

सामाजिक दायित्वअन्तर्गत मानवीय सेवालाई क्लबले वैशाख १० देखि स्वतः स्फूर्त रुपमा शुरु गरेको हो । शुरुवातमा २ सय जनालाई खाना खुवाएर मानवीय सेवा शुरु गरेको क्लबले हाल दैनिक २ हजार जनालाई निःशुल्क खाना वितरण गर्दै आएको छ । हालसम्म करिब ३० हजार जनालाई निःशुल्क खाना खुवाएको क्लबले दाबी गरेको छ ।

खानाका लागि क्लब, क्लबका पदाधिकारी तथा सदस्यले आफ्नो श्रम र समय लगाएका छन् । स्थानीय साहू, व्यापारी र व्यवसायीहरुले खाद्यान्न सामग्री र जिन्सी नगद सहयोग गरेका छन् । मानवीय सेवाका लागि स्थानीय आमा समूह, सामाजिक संघसंस्थाका व्यक्तिहरु र दिदीबहिनीहरुले स्वयंसेवी भूमिका निर्वाह गरेका छन् ।

क्लबले भात, दाल, तरकारी र अचारसहितको खाना पकाएर विपन्न व्यक्तिहरुलाई वितरण गर्दै आएको हो । पोषणलाई ध्यानमा राखेर कहिलेकाहीँ त क्लबले पुलाउ, मासु, अण्डाकरी समेत पकाएर दैनिक २ हजार जनालाई खाना खुवाउँदै आएको छ ।

नदीपुर कोपिलढ्ङ्गास्थित सेतो गुराँस बालबिकास केन्द्रको भवनमा खाना पकाउनेदेखि प्याकिङ व्यवस्थापन गरिँदैआएको छ ।

सो खाना वितरणमा वडा कार्यालय, गण्डकी हस्पिटल, अमरसिंहचोक, चाउथे, विजयपुरखोला, पार्दी, बिरौटा, रामकृष्ण टोल, तेर्सापट्टी, नालामुख, बागलुङ बसपार्क, अँधेरीकुना, सराङ्कोट, हरिचोक, लामाचौर, बाटुलेचौर, जोगीमुढी र बगरलाई हालसम्म मुख्य केन्द्र बनाइयो । यद्यपि जेठ १ देखि भने लकडाउन कडा भएकोले वडाभित्रमात्र सीमित गरिएको छ । खाना समस्या भएकाले क्लबमा फोन गरे सो ठाउँमै पनि पुर्याइएको थियो । खाना वितरणमा दैनिक ५ वटा मोटर, भ्यान प्रयोगमा ल्याइ रुट तय थिए ।

क्लबले हालसम्म करिब ३० हजार जना व्यक्तिहरुलाई प्याकिङ खाना निःशुल्क वितरण गरिसकेको क्लब अध्यक्ष नवीन आलेमगरले बताए । दैनिक २ हजारको घरघरमै पुगेर नियमित रुपमा खाना वितरण गर्दै आएकोे उनले बताए । खाना पकाउनेदेखि वितरणमा क्लब आबद्ध पदाधिकारी तथा सदस्य, राजनीतिक दल र तिनका भातृसंस्थाका स्थानीय कार्यकर्ता, सामाजिक संघसंस्था, आमा समूह, व्यवसायीहरु सबैको साथ मिलेको आलेले उल्लेख गरे ।

सो कार्य व्यवस्थापनका लागि महेन्द्र ‘भाञ्जा’ पुनलाई संयोजक तोकिएको छ । तरुण दल पोखरा महानगरका अध्यक्ष समेत रहेका पुनले पोखरा महानगरको यस वडाको एउटा सामान्य युवा क्लबले उदाहरणीय मानवीय सेवा गरेकोमा आफूहरुले समेत सहयोग गर्न पाउँदा गर्व गरेको सुनाए ।

वडाध्यक्ष रवीन्द्रबहादुर प्रजूले मानवीय सेवामा जुटेको क्लबको उच्च मूल्यांकन गर्दै क्लब, क्लबका पदाधिकारी तथा सदस्य र क्लबलाई सहयोग पुर्याउनेप्रति धन्यवाद व्यक्त गरे ।

क्लब संस्थापक सचिव विकास पुनले अफ्ठ्यारो परेकाहरुलाई निःशुल्क खाना खुवाउन पाउँदा सन्तुष्टि मिलेको बताए । पोखरा–३ वडा कार्यलयका कर्मचारी एवं स्थानीयवासी समेत रहेका पुनले निःशुल्क तयारी खानाका लागि दैनिक २०÷२५ हजार रुपैयाँसम्म खर्च भएको उल्लेख गरे । यो कार्य लकडाउन अवधिभर हुने जनाइएको छ ।

खाना व्यवस्थापनमा नेपाली काँग्रेसनेतृ शारदा पौडेल समेत खाना प्याकिङ गर्ने कार्यमा सक्रिय देखिन्थिन् । पौडेलले क्लबले गरेको निःशुल्क खाना वितरणको कार्यलाई असल कार्यको संज्ञा दिइन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width