दशगजामा रोकिएका ७० बढी नेपाली नवलपरासी भित्रिए

रामकुमार श्रेष्ठ
वैशाख ३१, २०७७
susta

पश्चिम नवलपरासीको नेपाल भारत सीमा जोडिएको दश गजामा रोकिएकामध्ये ७० जना बढीलाई नेपाल भित्र्याइएको छ । पश्चिम नवलपरासीका सुस्ता गाउँपालिकाले उनीहरुलाई नेपाल भित्राएको हो ।

पछिल्लो समय भारतमा छिटपुट रेल र सरकारी बस चल्न थालेपछि त्यहाँका विभिन्न सहरमा रहेका नेपालीहरु घर फर्कन पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रका दशगजामा जम्मा भएका थिए ।

कोभिड–१९ को सुरक्षा सतर्कताअन्तर्गत दुई देशबीचको नाका शिल भएका कारण सयौं नेपाली दशगजामा आएर अड्एिका हुन् ।

तीन/चार दिनदेखि यहाँको सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवा लगायतका सिमावर्ती क्षेत्रका दशगजा वरपर ती नेपालीहरु बस्दै आएका थिए ।

देश छिर्ने आशामा सिमामा बस्दै आएका नेपालीलाई नजिकैका नेपाली र भारतीय बस्तीका स्थानीयले जसोतसो खाना खुवाउँदै आएका थिए । उनीहरुको अवस्था दिनानुदिन नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

नेपालीहरु घर फर्कन सिमा तैनाथ सुरक्षावलमार्फत स्थानीय प्रशासनमा हारगुहार लगाइरहेकै बेला नेपालमा एक्कासी कोरोना संक्रमण बढेपछि उनीहरु पर्ख या फर्कको स्थितिमा पुगेका थिए ।

सिमामा रहेका सयौं नेपालीलाई उद्धार गरी सुरक्षित स्वदेश फर्काउन जिल्ला प्रशासन हँुदै माथिल्लो तहमा आवश्यक समन्वय भइरहेको यहाँका सुरक्षा निकायहरुले बताउँदै आएका थिए ।

सिमामा अड्किएका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउँदै समयमा देशभित्र ल्याउन नसके खुला सिमानाबाट कतिपय लुकिछिपी खेतको बाटो गाउँ पुग्ने स्थिति बढ्दै गएको थियो ।

सिमामा नेपालीले खाना न पानी र खुला आकाश भरमा प्रशासनको मुख ताकेर बसिरहन नसक्ने स्थिति बन्दै गएपछि स्थानीय सुस्ता गाउँपालिकाले ७० भन्दा बढीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेको छ ।

भारतबाट आई सीमामा अलपत्र नेपालीलाई रेडजोनका र अन्यलाई गरी यहाँका ७ वटा क्वारेन्टाइन केन्द्रमा राखिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार सिमावर्ती पालिका सुस्तामा यसअघि ५ ओटा क्वारेन्टाईन रहेकोमा पछिल्लो समय सिमाको दशगजामा रहेका नेपालीलाई राख्न २ वटा स्कूलमा क्वारेन्टाइन थपिएको हो ।

पालिकाले यसअघि कोभिड–१९ रोग नियन्त्रण तथा रोकथामका लागि तेश्रो मुलुक, छिमेकी देश भारत र नेपालकै अन्य भागबाट आउनेलाई गरी तीन किसिमको अलग–अलग क्वारेन्टाइन निर्माण अवधारणा ल्याएको थियो ।

प्रदेश–५ अन्तर्गत पश्चिम नवलपरासीमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । अब उनीहरुको स्वाब परीक्षणसमेत गरिने बताइएको छ । उनीहरुलाई नेपाल भित्र्याइएसँगै पश्चिम नवलपरासीमा पनि संक्रमणको जोखिम बढेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width