लक डाउनमा नदिपुर युनाइटेड क्लबले २८ हजार जनालाई खुवायो तैयारी समेतको निःशुल्क खाना

अझै रोकिएको छैन, क्लबको दैनिक २ हजार जनालाई खाना खुवाउने पुण्य कर्म, जेठको ५ गतेसम्मै खाना खुवाउने क्लबको लक्ष्य 

नारायण शाही
वैशाख ३०, २०७७
1

पोखरा । यतिबेला, कोरोना भाइरस महाब्याधीका कारण सिंगो विश्व जगत नै लक डाउनमा छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । नेपाल सरकारले देशलाई लक डाउन गरेको आज ५० औं दिन पुगेको छ । लक डाउनका कारण देशमा उत्पादन र आय मूलक कामहरु ठप्प छन् । जसका कारण न्यून आय भएका यहाँका विपन्न व्यक्ति, श्रमजीवी र मजदुर बर्ग सिधै प्रभावित बनेका छन् ।

लक डाउनका कारण उनीहरुको जीवन गुजारामा कठिन अवस्था आएको छ । दिनभरी काम गरेर बिहान बेलुकी परिवारको छाकको गर्जो टार्दै आएका गरिब विपन्न र श्रमजीवी वर्ग यतिबेला कठिन स्थितिमा छन् । यतिबेला, लक डाउनका कारण उनीहरुले कमाएर खाने वातावरण समेत छैन । यही अवस्थालाई मध्यनजर गरेर पोखराको नदिपुरस्थित स्थानीय नदिपुर युनाइटेड क्लब यतिखेर प्याकिङको तैयारी निःशुल्क खाना लिएर गरिब र श्रमजीवी वर्गहरुको बस्ती, बस्तीमा पुगेको छ ।

सामाजिक दायित्व अन्तर्गतको यस्तो मानवीय सेवाको कार्यलाई क्लबले वैशाखको गत १० गतेदेखि स्वतः स्फूर्त रुपमा शुरु गरेको हो । क्लबले निःशुल्क खानाको व्यवस्था गरेको आज २१ औं दिन भइसकेको छ । शुरुमा, २ सय जनालाई खाना खुवाएर मानवीय सेवा शुरु गरेको क्लबले हाल दैनिक २ हजार जनालाई निःशुल्क खाना वितरण गर्दै आएको छ । हालसम्म करिब २८ हजार जनालाई तैयारी समेतको निःशुल्क खाना खुवाएको क्लबले दावी गरेको छ ।

निःशुल्क तैयारी खानाका लागि क्लब, क्लबका पदाधिकारी तथा सदस्यहरुले आफ्नो श्रम र समय लगाएका छन् । स्थानीय साहू, व्यापारी र व्यवसायीहरुले खाद्यान्न सामग्री, जिन्सी नगद सहयोग गरेका छन् । स्थानीय आमा समूह, सामाजिक संघसंस्थाका व्यक्तिहरु र दिदीबहिनीहरुले स्वयंसेवी भूमिका निभाएका छन् ।

क्लबले भात, दाल, तरकारी र अचार सहितको खाना पकाएर विपन्न व्यक्तिहरुलाई वितरण गर्दै आएको हो । पोषणलाई ध्यानमा राखेर कहिलेकाहीँ त क्लबले पुलाउ, मासु, अण्डाकरी समेत पकाएर दैनिक २ हजार जनालाई खाना खुवाउँदै आएको छ ।

पोखरा महानगरपालिका वडा नं ३, कोपिलढ्ङ्गास्थित सेतो गुराँस बालबिकास केन्द्रको भवनमा खाना पकाउनेदेखि प्याकिङको व्यवस्थापन गरिएको छ । खाना पाक्नासाथ बालबिकास केन्द्रको मुख्यगेटमै पनि प्याकिङको खाना वितरण गरिन्छ ।

त्यस्तै, पोखरा महानगरको वडा नं ३ को वडा कार्यलय, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल), अमरसिंहचोक, चाउथे, विजयपुरखोला, पार्दी (बिरौटा), रामकृष्ण टोल, तेर्सापट्टी, नालामुख, बागलुङ बसपार्क, अन्धेरीकुना, सराङकोट, हरिचोक, लामाचौर, बाटुलेचौर, जोगीमुढी र बगरलाई क्लबले खाना वितरणको लागि मुख्य केन्द्र बनाएको छ । कहिलेकाहीँ, खानाको समस्या भएको पोखराभित्रैको कुनै ठाउँबाट समेत क्लबमा फोन आउँछ । फोन आएपछि त्यस्तो ठाउँमा समेत क्लबले खाना पु¥याउने गरेको छ ।

खाना वितरणमा दैनिक ५ वटा मोटर, भ्यानहरु प्रयोगमा ल्याइएको छ । खाना बोक्ने ५ वटै मोटर, भ्यानहरुको रुटहरु तय गरिएका छन् । ति मोटर, भ्यानहरु दैनिक प्याकिङको तयारी खाना लिएर पोखराको मुख्य मुख्य स्थानसम्म पुग्छन् । वितरण कार्यमा सहभागी क्लबका पदाधिकारी तथा सदस्यहरुले ति स्थानहरुमा रहेको लक्षित वर्गहरुलाई प्याकिङको तयारी खाना वितरण गर्दछन् ।

क्लबले हालसम्म करिब २८ हजार जना व्यक्तिहरुलाई प्याकिङको तैयारी खानालाई निःशुल्क वितरण गर्दै आएको क्लब अध्यक्ष नविन आलेमगरले बताए । अहिले दैनिक २ हजारको घर घरमै पुगेर नियमित रुपमा खाना वितरण गर्दै आएकोे उनले बताए । खाना पकाउनेदेखि वितरण गर्ने कार्यसम्म क्लबमा आबद्ध पदाधिकारी तथा सदस्य, राजनीतिक दल र तिनका भातृसंस्थाका स्थानीय कार्यकर्ता, सामाजिक संघसंस्था, आमा समूह, व्यवसायीहरु सबैको साथ मिलेको आलेले उल्लेख गरे ।

‘दीनदुखी, गरिब, असहाय, बृद्धबृद्धा, बटुवा र खान नपाएकाहरुका लागि लक्षित गरेर क्लबले यो कार्यक्रम ल्याएको हो,’ आलेमगरले भने, ‘कुनै विशेष राजनीतिक पार्टी र संघसंस्थासँगको समन्वयमा होइन, स्वतः स्फूर्त रुपमा, निस्वार्थ भावनाले नदिपुर युनाइटेड क्लबले खाना खुवाउँदै आएको हो । जहिलेसम्म देशमा लक डाउन रहन्छ, त्यति बेलासम्म लक्षित वर्गलाई निःशुल्क खाना खुवाउने क्लबको उद्देश्य छ ।’

यस कार्यको व्यवस्थापनका लागि महेन्द्र ‘भाञ्जा’ पुनलाई संयोजक तोकिएको छ । उनीपनि यस कार्यमा सकृय रुपले लागेका छन् । उनले लक डाउनको बेला खान नपाएकाहरुका लागि विगत २०/२२ दिन अघिदेखि क्लब निरन्तर मानवीय सेवामा जुटेको बताए । तरुणदल पोखरा महानगरका अध्यक्ष समेत रहेका पुनले पोखरा महानगरको यस वडाको एउटा सामान्य युवा क्लबले उदाहरणीय मानवीय सेवा गरेकोमा आफूहरुले समेत सहयोग गर्न पाउँदा गर्व गरेको सुनाए ।

विपद्को बेलामा अप्ठ्यारोमा परेकालाई राहत वितरण गर्दा सम्बन्धित जिल्ला प्रशासन र स्थानीय सरकारको अनुमति लिनुपर्ने हुन्छ । शुरुमा कास्कीको जिल्ला प्रशासन र स्थानीय सरकार पोखरा महानगरपालिकाले बैशाखको २५ गतेसम्मका लागि राहत स्वरुप निःशुल्क तैयारी खाना खुवाउन क्लबलाई अनुमित दिएको थियो ।

पछिल्लो समय नेपाल सरकारले जेठको ५ गतेसम्म लक डाउन थपेपछि पोखरा महानगरपालिकाले क्लबलाई अनुमित दिनका लागि महानगरको सम्बन्धित वडा नं ३ लाई नै अधिकार प्रत्यायोजन गरेको छ । पोखरा महानगरपालिका वडा नं ३ ले क्लबलाई जेठको ५ गतेसम्मको लक डाउन अवधिभित्र निः शुल्क खाना खुवाउने अनुमति दिइसकेको छ ।

पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजूले मानवीय सेवामा जुटेको क्लबको उच्च मुल्यांकन गर्दै क्लब, क्लबका पदाधिकारी तथा सदस्य र क्लबलाई सहयोग पु¥याउनेप्रति धन्यवाद आभार व्यक्त गरे ।

‘विपद्को बेलामा यो वडाभित्रको यस युवा क्लबले प्रशंसनीय कार्य गरेको छ,’ वडाध्यक्ष प्रजूले भने, ‘मानवीय सेवामा जुटेको क्लबलाई महानगरले पनि उच्च मुल्यांकन गरेको छ । एकद्वार प्रणालीको राहत वितरण अनुमतिका लागि महानगरपालिका कार्यलयले वडालाई अधिकार प्रत्यायोजन गरेको छ । वैशाखको २५ गतेसम्मको लक डाउन अवधिभित्र राहतको निःशुल्क खाना खुवाउँदै आएको क्लबलाई वडाले थप जेठको ५ गतेसम्मका लागि खान खुवाउन अनुमति दिएको छ ।’

नदिपुर युनाइटेड क्लबका संस्थापक सचिव विकास पुनले अप्ठ्यारोमा परेकाहरुलाई निःशुल्क तैयारी खाना खुवाउन पाउँदा आफूहरुलाई सन्तुष्टि मिलेको बताए । पोखरा–३ वडा कार्यलयका कर्मचारी एवं स्थानीयवासी समेत रहेका पुनले निःशुल्क तैयारी खानाका लागि दैनिक २०/२५ हजार रुपैयाँसम्म खर्च भएको उल्लेख गरे ।

खाना व्यवस्थापनका लागि राजनीतिक दल, भातृ संगठनले समेत क्लबलाई सहयोग गर्दै आएको छ । मंगलबार नेपाली काँग्रेस कास्कीकी नेतृ शारदा पौडेल समेत खाना प्याकिङ गर्ने कार्यमा सक्रिय देखिन्थिन् । नेतृ पौडेलले क्लबले गरेको निःशुल्क खाना वितरणको कार्यलाई असल कार्यको संज्ञा दिइन् ।

‘क्लबले गरेको यो असल कार्य हो । नदिपुर युनाइटेड क्लबलाई म स्यालुट गर्दछु । क्लबले मानवीय संवेदनशील कार्य गरेको छ,’ नेतृ पौडेलले भनिन्, ‘सबैभन्दा पहिले भोको पेटलाई भर्नुपर्ने हुन्छ । तैयारी समेतको निःशुल्क खाना वितरण जस्तो कार्यलाई क्लबले निरन्तरता दिएको छ । यस्तो पुण्य कार्यलाई जस–जसले प्रसाद जसरी ग्रहण गर्नुभएको छ । ति आत्मसन्तुष्टि प्राप्त गरेको आत्माहरुले हामीहरुलाई यस्तो आशिर्वाद प्रदान गरुन् । ताकि, कोरोना भाइरसले हामी नेपालीहरुलाई कहिल्यै नछोओस ।’

Related News

सम्बन्धित समाचार

hero news full width