जातीय विभेदको घटनाः वक्तब्यबाजीमा राजनीतिक दल, थापाविरुद्ध पार्टीमै उजुरी

प्रकाश ढकाल
वैशाख २७, २०७७
kiriyaputri-bhawan (1)

पोखरा । पछिल्ला केहीदिन यता निकै चर्चामा छ, पोखराको बाटुलेचौरमा भएको जातिय विभेदको घटना। पोखरा १६ का मोहन सुनारले आफ्ना भाइ गुमाए । दुवईमा भाइ सम्मरबहादुर सुनारको निधन भएपछि उनका छोरा मनोजले सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न गए । तर पाएनन् । चैत २३ गते सम्मरको निधन भएको हो । ‘चैत २५ मा भवनको चावी माग्न गयौं । वहाँहरुले दिनुभएन,’ सम्मरका भतिज प्रकाश सुनारले भने, ‘कालिखोलामा गएर आफ्नो परम्पराअनुसार कर्म गर्यौं । १२ औैं दिनमा केही साथीहरु आएर एक्कासी आक्रमण गर्न लाग्नुभयो । अन्यायमा परेपछि प्रहरीमा उजुरी दिएको हो।’ किरियाको बिषयमा भन्दा पनि पटकपटक हातपात गर्न खोजेपछि हेपिएको महशुस गरेर कानुनी प्रक्रियामा गएको उनले सुनाए।

‘पढाईले के गर्छ र सोचाई ठूलो कुरा हो । हामी सबैलाई आफ्नो लाग्थ्यो । पहिले एकैठाउँमा गथ्र्यौं । अहिले नयाँ भवन प्रयोग गर्न पाएनौं,’ उनी भन्छन्, ‘हाम्रो एउटा घर छ । ३ सय जना राती आउँदा हामीलाई कस्तो भयो होला ? अहिलेको बेलामा पनि दलितमाथी हेर्ने नजर उस्तै छ ।’ घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जातकै कारण आफुहरुलाई सार्वजनिक किरियापुत्री भवनमा किरियाकर्म गर्न नदिईएको मोहनको आरोप छ । उनले प्रहरीमा किटानी जाहेरी पनि दिए । सोही जाहेरीको आधारमा दुईजनालाई पक्राउ गरियो।

स्थानीय जनक थापा र देवबहादुर थापाले जातीय आक्षेप लगाउँदै गाली गरेको मोहनको आरोप छ । पक्राउ परेकाको रिहाइको माग गर्दै बुधबार केही स्थानीयले प्रहरी कार्यालयअघि घेरा हाले । प्रहरीले ५ जनालाई पक्राउ गरी उतिबेलै रिहा गरिदियो ।

त्यसपछि नेकपा कास्की अध्यक्ष तथा गण्डकी प्रदेशसभा सांसद कृष्णबहादुर थापाले विज्ञप्ती निकाले । थापाको विज्ञप्ती पछि साझा पार्टीले पनि विज्ञप्ती निकालेर थापाको विज्ञप्ती आपत्तिजनक भएको बताएको छ । ‘जातीय विभेद र यसले निम्त्याएको द्वन्द तथा जनप्रतिनिधिको आपत्तीजनक अभिव्यक्तिप्रति सिंगो साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सामुहिक लगानीमा सार्वजनिक जग्गामा बनेको सामुदायिक किरियापुत्री भवन समुदायकै सदस्यले जातकै कारण प्रयोग गर्न नपाएको चानेचुने विषय होईन । पीडकलाई आत्मबल र संरक्षण पुग्ने गरि नेकपाका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्यले दिएको अभिव्यक्तिले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्युनिष्ट पार्टी नै नांगिएको छ । यस्ता गैरजिम्मेबारीपुर्ण अभिव्यक्तिको समेत साझा पार्टी घोर भत्र्सना गर्दछ।’

काँग्रेस कास्कीले पनि शनिबार विज्ञप्ती निकालेर जातीय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न आग्र्रह गरेको छ । ‘लामाचौरमा भएको घटनाप्रति दुख लागेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘विश्व कोरोनाको महामारीमा रहेका बेला समाजका नागरिकबीच असमझ्दारी बढ्नु दुःखद् विषय हो । संयमता अपनाउनुपर्छ ।’ सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा घटनाको विषयमा मुद्वा दर्ता भएकाले कानूनी रुपमा निरुपण हुने भन्दै सबै व्यक्ति र समुदायलाई संवेदनशील बन्न आग्रह गरिएको छ ।

पार्टी र संसदीय दलमा उजुरी
यही घटनालाई लिएर पीडित पक्षले सांसद थापा विरुद्ध नेकपाको प्रदेश कमिटी र संसदीय दलमा समेत उजुरी दिएको छ । थापाको विज्ञप्ती एकपक्षीय भएको उनीहरुको आरोप छ । थापालाई तत्काल कारबाहीको माग गरिएको छ । पीडितका तर्फबाट दामबहादुर विकको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन भएको छ । जसमा नेकपा  र काँग्रेसका पनि दलित नेताहरु सदस्य छन् । उजुरीमा सांसदको लेटरप्याड दुरुपयोग गरिएको, विभेदका आरोपमा पक्राउ परेकालाई निशर्त रिहाइको माग गरेको, दलित अधिकारकर्मीलाई उच्छृंखल तत्व भनिएकोमा खेद प्रकट गरिएको छ।

थापालाई पार्टीको अन्तरिम विधान–२०७५ को धारा ५६ अनुसार कारबाहीको माग गरिएको छ । विधानमा आत्मालोचना वा सदस्यबाट निलम्बन गर्नेसम्मको ब्यवस्था छ। ‘वहाँहरुले दिनुभएको निवेदनको पार्टीभित्र छलफल गर्छौं । प्रदेश कार्यालय कमिटीमा छलफल हुन्छ,’ नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले भने, ‘अव दुवै पक्षलाई राखेर सोधपुछ हुन्छ। घटनाको प्रकृति अनुसार सबैको कुरा सुनेर पार्टीले उपयुक्त निर्णय गर्छ।’

उनले कानुनी अनुसन्धानको अवस्थामा रहेको घटनामा बक्तब्यबाजी गर्नु राम्रो नभएको तर्क गरे । ‘पीडित पक्ष कानुनी रुपबाट गएका छन् । जिम्मेवार ब्यक्तिले एक पक्षीय हिसावले बक्तब्यबाजी गर्नु राम्रो होईन । घटना मिलाउन पो लाग्नुपर्छ,’ उनले अघि भने, ‘मैले माननीय ज्यूलाई पनि भनेको छु । कानुनी प्रकृयामा गैसकेको कुरामा किन हतार गर्नुभयो हामीले पनि बुझेको छैन ।’

के थियो सांसद थापाको विज्ञप्तीमा?
पीडित सुनारको किटानी जाहेरीको आधारमा गएको बैशाख २२ गते पोखरा १६ का राम जिसी र जनक थापालाई प्रहरीले पक्राउ गरेको थियो । सुनारले चैत १८ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । दुवैजनालाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको भन्दै सांसद थापाले आफ्नो लेटरहेड प्रयोग गरी तत्काल रिहाईको माग सहित विज्ञप्ती निकालेका थिए ।

‘षड्यन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नं. १६ सचिवलाय सदस्य रामबहादुर जिसी र जनक थापालाई बिनाशर्त रिहाइको माग गर्दछु,’ थापाको विज्ञप्तीमा भनिएको छ, ‘जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातीवादी नेता कार्यकर्ताहरुको षड्यन्त्रले सदियौँ देखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको हुँदा सम्पूर्णमा सावधानीपूर्वक अगाडि बढ्न अनुरोध गर्दछु।’

उजुरीपछि थापाले भनेः दुखी छु
घटना लम्बिँदै गएपछि सांसद थापाले पुनः विज्ञप्ती जारी गरी घटनाप्रति दुखी भएको बताएका छन् । ‘म नेपाल कम्युनिष्ट आन्दोलनमा लाग्दाको दिन देखिनै समाजमा रहेको अन्याय, अत्याचार र विभेदका विरुद्ध आवाज उठाउने मात्र होईन संघर्ष गर्दै आएको एक पात्र हुँ । मेरो व्यक्तिगत जीवन र सामाजिक जीवनमा आज सम्म कहिल्यै सामाजिक विभेद गर्ने र गर्नेहरुका पक्षमा उभिएको छैन र उभिने पनि छैन,’ विज्ञप्तीमा भनिएको छ, ‘यसअघि मेरो तर्फबाट प्रेसित बिज्ञप्तीलाई लिएर भएका टिका–टिप्पणी र प्राप्त सुझावहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । कुनै जाति विशेषका पक्ष वा विपक्षमा बोल्ने मेरो मनसाय होइन । मेरो विज्ञप्तीका कारण एउटा समुदायको भावनामा चोट पुग्न गएको भए त्यस प्रति दुःख व्यक्त गर्दछु ।’

सञ्चारमाध्यमले अतिरञ्जित बनायोः क्षेत्री समाज
पोखरा १६ को क्षेत्री समाज प्रारम्भीक समितिले विभिन्न ब्यक्ति र मिडियाले घटनालाई अतिरञ्जीत गरेको आरोप लगाएको छ । शनिबार विज्ञप्ती निकालेर ब्यक्तिगत विवाद भएकोले घटनामा क्षेत्री समाजको संलग्नता नरहेको प्रष्ट पारेको हो । ‘यो नितान्त ब्यक्तिगत विवाद हो । क्षेत्री समाजको कुनै संलग्नता छैन,’ विज्ञप्तीमा उल्लेख छ, ‘जातीय सद्भाव, राष्ट्रिय एकता तथा राष्ट्रिय  अखण्डताको लागि क्षेत्री समाज गठन भएके हो । सम्पूर्ण क्षेत्री समुदायलाई लान्छीत गरी जातीय सद्भाव खल्वल्याउन गर्रिएको कुत्सित प्रयत्न प्रति क्षेत्री समाज घोर भत्र्सना गर्दछ ।’

विवादको चुरो र सत्यतथ्यलाई नवुझि सतही हिसावले समाजलाई आरोपित नगराउन पनि क्षेत्री समाजको माग छ । ‘एकोहोरो ढङ्गले समाजलाई आरोपित गर्ने प्रयास नगर्न/नगराउन सम्वन्धित सवै संघ/संस्था, राजनितिक व्यक्ति÷प्रवृत्ति, जातिय समाज, सञ्चार माध्यम, पत्र—पत्रिकालाई सचेत गर्न चाहन्छौं,’ अध्यक्ष केशव बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width