नवलपरासीमा बैंकहरु खुलेसँगै सर्वसाधारणको भीड बढ्यो

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
20200505_113936

नवलपरासी, २३ बैशाख । नवलपरासीमा बैंकहरु खुलेसँगै बजारमा आमसर्वसाधारणको चाप बढ्न थालेको छ । सरकारले कोरोना भाइरसको महामारीबाट बच्नका लागि लकडाउन गरेको भए पनि त्यसको पनि प्रवाह नगरी सर्वसाधारणहरु बैंक, वित्तीय संस्था तथा आइएमईहरुमा भीड लाग्ने गरेको छ ।

त्यसैगरी वीउ विजन तथा मल वितरण गर्ने कृषि सहकारी र एग्रोभेटहरुमा पनि किसानहरुको चाप बढेको छ ।मंगलबार विहानैदेखि पूर्वी नवलपरासीको कावासोतीका बैंकहरु र पश्चिम नवलपरासीको बर्दघाट, परासी लगायतका क्षेत्रका बैंकहरुमा सामाजिक सुरक्षा भत्ता र भारतीय भूपू सैंनिकहरुको पेनसन लिन आउनेहरुको भीड लागेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेपनि नवलपुरमा यसको व्यापक उलंघन भएको छ । मंगलबार बिहानदेखि नै कावासोतीमा रहेको एसविआइ बैंकमा सयौ मान्छे भेला भएका छन् । उनीहरु अधिकांश पुर्व भारतिय सैनिक र उनीहरुका परिवार हुन् ।

पेन्सन वापतको पैसा निकाल्न उनीहरु बैंक पुगेका हुन् । तर, त्यहाँ सामाजिक दुरी कायम भएको कतै पनि देखिदैन थियो । कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले त्यसरी भीड गरेर कारोवार गर्न बैकलाइ छुट नभएको बताए । बैकले मंगलबार बिहान ३ सय भन्दा बढी टोकन वितरण गरेको छ ।बैंकका प्रवन्धक कवीन्द्र कण्डेलले आफुहरुले दिनदिनै बैंक खोलेर सेवा दिएपनि भीड कम नभएको बताए बताए । पेन्सन रकम झिक्न आएकाहरु पनि भीड देखेर आफै त्रसित देखिन्थ्ये तथापि बैंक नियमित नखुल्दा जोखिम मोलेर भएर पनि पैसा झिक्न आउन परेको कावासोतीका स्थानीय लीलाबल्लभ न्यौपानेले बताए ।

त्यसैगरी नवलपुरको सदरमुकाम कावासोतीमा निक्कै बाल्लो मात्रामा सवारी साधन चलेको देखिन्छ । पसलहरु पनि विस्तारै खुल्न थालेका छन् भने मानिसहरुको आवतजावत पनि बढ्न थालेको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले उक्त बैंकलाई भोलिदेखि दैनिक १५/२० जनालाई मात्र टोकन वितरण गरेर बैंक सेवा सञ्चालन गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी पश्चिम नवलपरासीमा कोरोना संक्रमणको जोखिम मोलेर जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । पश्चिम नवलपरासीको केही स्थानीय तहले कोरोना संक्रमणको जोखिम र लकडाउनको अवस्थालाई मध्यनजर गरेर घरघरमा पुगेर वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भए पनि केहीले भने बैंकमै जम्मा गरिदिएका कारण जेष्ठ नागरिकहरु जोखिम मोलेर भत्ता बुझ्न बाध्य भएका हुन् ।

उनीहरु केही दिन यता नजिकको बैंकमा सामाजिक सुरक्षा भत्ता लिन सयौंको संख्यामा र घण्टौं लाइनमा बस्ने गरेका छन् । परासीको रामग्राम नगरपालिका, सुनवल, बर्दघाट नगरपालिका लगायतका नगरपालिकाले सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक, एकल महिला, शारिरिक अपाङ्गता भएकाहरुको नाममा उनीहरुकैं बैंक खातामा जम्मा गरिदिएको छ ।
विहानैदेखि सदरमुकाम परासीमा रहेको नेपाल एसविआई बैंकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि सयौंको संख्यामा मानिसहरु भिड भएका थिए । उनीहरुले प्रशासन र स्थानीय सरकारले ध्यान नपुर्याउँदा कोरोना भाइरसको जोखिम मोलेरै भत्ता बुझ्न आउन बाध्य भएको बताएका थिए ।

परासी, भूमही, सुनवल लगायतका क्षेत्रमा रहेका बैंकहरुमा सामाजिक सुरक्षा भत्ता बुझ्न आउनेहरुको पछिल्लो २/४ दिन यता भीड लाग्ने गरेको छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम बढेको नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरले बताए । सामाजिक सुरक्षा भत्ता बुझ्न आउने कतिपयले माक्स लगाएको भए पनि अधिकांश माक्स विना नै सामाजिक दुरी पनि कायम नगरी लामबद्ध भएर बसेको देख्न सकिन्थ्यो । नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरले प्रशासन र स्थानीय तहले यस विषयमा बेलैमा ध्यान नदिंदा जोखिम बढेको बताए । पश्चिम नवलपरासीमा पछिल्लो केही दिन यता साँझ विहान मुख्य चोक र सडकहरुमा मानिसहरुको भिड बढ्न थालेको छ । प्रशासनले भने मानिसको आवश्यकता हेरिकन लकडाउन केही खुकुलो बनाईएको बताउदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width