Worldlink ads

डेङ्गुका बिरामी भेटिएपछि लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान

रासस
वैशाख २३, २०७७
dengue-virus-transmission-mosquito-disease

म्याग्दी, २३ वैशाख । हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु भएको छ । बेनी नगरपालिकाले लामखुट्टेको बासस्थान हुने पानी जमेका टायर, झाडी, खाल्डाखुल्डी नष्ट गर्न शुरु गरेको हो ।

डेङ्गुको जोखिम बढेपछि बेनी बजारका विभिन्न ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्नुका साथै सो रोगबाट बच्ने उपायका बारेमा जनचेतनामूलक कार्यक्रम शुरु गरिएको बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए । पछिल्लो छ दिनयता ग्रामीण क्षेत्रबाट आएका तीन बिरामीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु भेटिएको अस्पतालका मेडिकल को–अर्डिनेटर डा नवराज बस्ताकोटीले बताए । वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर भई बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार यसअघि वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षीय पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । वैशाख १९ र २१ गते भर्ना भएका बिरामीको बेनी अस्पतालमा उपचार भइरहेको छ । अरु निको भएर घर फर्किएका छन् । डेङ्गु भेटिएका बिरामी गाउँमै खेतीकिसानी र घाँस दाउरा गर्ने व्यक्ति हुन् ।

म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने चिकित्सकहरुको विश्लेषण छ । गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । क्लिनिकमा परीक्षण गराएका केही बिरामीले पोखरा गएर उपचार गरेका थिए । बेनी बजारको गणेशटोल, मङ्गलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ । नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो ।

पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन् । टिन, रङका खाली डब्बा, टायरट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । बर्खा शुरु नहँुदै दैनिकजसो डेङ्गुका बिरामी आउन थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • हवाई खेलकुदको चासो : विमानस्थल बनेपछि के हुन्छ ?

      प्रकाश ढकाल असाेज ३, २०७८
      पोखरा । एजेन्सीले एयरलाइन्ससँग टिकट किनेर महँगोमा बिक्री गरिदिंदा पर्यटकलाई टिकट खरिदमा समस्या छ । नेपाल आएपछि पनि उनीहरुले धेरै झन्झट…
    • फुटसल खेलाउँदै पोखरा

      धनबहादुर गुरुङ असाेज ३, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । उद्घाटन…
    • सातौँ संविधान दिवस मनाइँदै

      रासस असाेज ३, २०७८
      काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads