‘यो बेला कुर्ची होईन, कोरोना हो’

प्रकाश ढकाल
वैशाख २२, २०७७
Untitled-1

पोखरा । गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा बिष्टलाई लाग्थ्यो, कोरोना त घोडा चढेर नेपाल छिर्ला । चीनको वुहान प्रान्तमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि उपल्लो सीमानामा पर्ने मुस्ताङलाई निकै डर थियो । त्यसैले कोरोनाको संक्रमण अन्यत्र डुल्न नपाउँदै उनीहरुले सीमाना पूर्ण प्रतिबन्ध लगाए । उनीहरुलाई लागेको थियो सीमामा भएपछि आफ्नो आवतजावत भैरहने चीनबाट घोडा चढेरै मुस्ताङ झर्छ कोरोना । तर त्यस्तो भएन, कोरोना जेट प्लेन चढेर विश्व घुमिवरी बल्ल नेपाल भित्रियो ।

सांसद विष्टसँग गरिएको कुराकानीको सम्पादित अंशः
चैत ११ गतेदेखि लकडाउन भयो । मेरो चुनाव क्षेत्र उपल्लो मुस्ताङको पूरै क्षेत्र पर्छ । त्यहाँका नागरिकहरु हिउँदे जाडो छल्न बेंशी झर्छन् । फिरन्ते रुपमा उनीहरु घुम्ती ब्यापार गर्छन् भने विद्यार्थीहरुलाई पोखरा र काठमाण्डौंका विभिन्न ठाउँमा घुम्ती स्कुल बनाएर पढाईन्छ । लकडाउन भनेको के हो भन्ने पनि थाहा थिएन । नेपाल बन्द जस्तो सोच्यौं । एकदुई दिनमा खुल्छ अनि फर्किउँला भन्ने सोच थियो । चैतको पहिलो साता उपल्लो मुस्ताङमा ठूलो हिउँ परेको कारण फर्किन सकेनन् ।

१३ गते नै फर्किने प्रयास गरेको हो । महिनौ दिनसम्म लकडाउन होला भन्ने अनुमान गरेर फर्काउन लागें । ३ वटा बसमा ७५ जनालाई राखेर पठाएँ । तर नयाँपुलबाट फर्काइदिए । मेरो एक्लो प्रयास मात्र थियो । धेरै साथीहरुले असहमति जनाउनुभयो । विपक्षी साथीहरुले विरोध गर्ने त भैहाल्यो । मेरै साथीहरुले पनि रोक्ने प्रयास गर्नुभो । राजनीतिक रुपमा लिनुभो । गाउँमा पुगिसकेकाहरुले पनि नयाँ मान्छे भित्रिन नदिने भए ।
अहिले पछिल्लो क्रममा सबैको सहमतिबाट फर्कायौं । ३८ वटा बस, १५ वटा जीप र ५ वटा मोटरसाईकलमा १ हजार ३ सय २७ जनालाई फर्काउन सफल भयौं । ४ दिनसम्म लगाएर उनीहरु फर्किएका हुन् । माथील्लो र तल्लो दुवै क्षेत्रका थिए । जाडो छल्न २५ सय हाराहारीमा झर्छन् । केहीले पहिले नै खेत रोप्ने भएकोले पहिले नै गए । नत्र सबै यहीँ अड्किन्थे । वहाँहरु यहाँ हुँदा कोठा भाडामा लिएर बस्छन् ।

प्रदेश सरकारले गाउँपालिकामा ५ लाख पठाएको रहेछ । गाउँपालिकामा पुगेको पैसा मैले माग्दा दिने कुरै भएन । सरकारसँग पुनः समन्वय गरेर ३ सय ४९ जनालाई राहत उपलब्ध गराएँ । अध्ययनरत विद्यार्थी २ सय ९४ जना थिए । १ लाखको राहत किनेर उनीहरुलाई वितरण गर्यौं । उपल्लो मुस्ताङका मेडिकल पढेकाहरुलाई हातमा लिएर सबै मुस्ताङीको स्वास्थ्य परीक्षण पनि गरायौं । श्वास प्रश्वास र अन्य स्वास्थ्य जाँच गरायौं । ५ सय १५ जनाको चेकजाँच गराउँदा खासै ठूलो समस्या देखिएन । कोरोना संक्रमण नभएपछि ढुक्क भयौं ।

चाइनाको वुहान प्रान्तबाट कोरोना फैलियो । यो तिब्बतभन्दा धेरै पर रहेछ । तिब्बत मात्रै मुस्ताङसँग जोडिन्छ । हाम्रो आवतजावत हुने तल्लो तिब्बतबाट मात्रै हो । तिब्बतमा कोरोनाको कुनै समस्या देखिएन । अझ हिउँदको समयमा हिउँ धेरै पर्ने भएकोले तिब्बतसँग हाम्रो मुभमेण्ट खासै भएन । यो समयमा हाम्रो नाका तुरुन्तै बन्द ग¥यौं । जसका कारण उत्तरबाट छिर्न सकेन । चीनमा धेरै भिजिटर जाने भएकोले पश्चिमा राष्ट्रहरुमा धेरै छिटो पुग्यो । हाम्रो आवतजावत हुने मुख्यगरी घोडा खच्चड र गाडीहरु नै हो । नाका बन्द भएपछि घोडा चढेर आउने अनुमान गरिएको कोरोना जहाज चढेर विश्व घुमेपछि नेपाल भित्रियो । उतिबेलै हामीले दक्षिणी नाका पनि रोकेको भए नेपालमा कुनै संक्रमण नदेखिने रहेछ ।

लकडाउनका कारण सबैजना घरमै थिए । ३३ दिनसम्म घरमा बसेपछि उनीहरुमा कोरोनाको कुनै संकेत थिएन । गाउँघरमा लकडाउन नामको मात्रै हो । शहरमा कार्ड नभएको मान्छे बाहिर निस्किने कुरै भएन । यहाँबाट पठाएकाहरु सबै सुरक्षित छन् । त्यसमाथी जिल्लाबाहिरबाट फर्किएकाहरुलाई छिर्न दिएपनि होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय छ । उनीहरु सबैजना होम क्वारेन्टाइनमा छन् । त्यसपछि निस्किएर खेतीपातीमा लाग्छन् ।

पुगिसकेकाहरुले खेती गरिसके । चैतको पहिलो सातादेखि खेती गर्ने समय हो । हामी धेरै ढिलो भैसकेका छौं । तर जग्गा बाँझो त हुँदैन । तर असोजसम्म हिउँ पर्नु हुँदैन । यदी हिउँ पर्यो भने खेती सबै नास हुन्छ । मुस्ताङमा सुरुमा गहुँ, फाँपर, केराउ, तोरी, आलु र तरकारी खेती पनि गरिन्छ । हाम्रो मुख्य आयश्रोत भनेको पर्यटन हो । त्यसपछि खेतीकिसानी हो । टुरिजम त जीरो नै भयो । खेती पनि यसपाली राम्रो हुने सम्भावना छैन । १५ दिन हामी ढिलो भएका छौं । तल्लो क्षेत्रमा खासै समस्या छैन । टुरिजम त दयनिय नै भयो । आफ्नो क्षमताले आश्रितहरुलाई खासै समस्या नहोला तर लोन लिएर ब्यवसाय गरेकाहरु उँभो लाग्दैनन् । सरकारले राहत दिनुपर्छ ।

हात बाँधेर बसेका छन् सबै । सरकारले ध्यान दिनुपर्छ । गाईड, पोर्टर गरेर परिवार पाल्नेलाई पनि बर्षौंदिन पुग्ने गरी केही ब्यवस्था हुनुपर्छ । संक्रमित १०० पुगेपनि केही हुन्न तर मृत्यु जीरोमै रोक्नुपर्छ । यति गर्न सकियो भने यो बर्ष लागेको घाटा अर्को बर्ष ब्याज सहित लिन सकिन्छ । हाम्रो पूर्व तयारी खासै राम्रो छैन । आइपर्यो भने दौडिने तर सुरुमै ध्यान दिएको पाइएन । प्रदेश सरकारले बाँडेको राहतमा पनि प्रदेश सांसदको सहाभागिता भएन । यो राम्रो होईन । स्थानीय तहको प्रतिनिधिभन्दा केही हदसम्म प्रदेश सांसदहरु नै माथी छन् । सरकारले आफ्नै औचित्य पुष्टी गर्नबाट चुकेको छ । कति स्थानीय तहमा विपक्षीहरुले नै चलाएका छन् । प्रदेश सरकारको नाम पनि आएन । हाम्रो यसमा विमति छ ।

यो समय भनेको मानवता हेरौं । राजनीतिक स्वार्थ छोडौं । अर्को चुनावको लागि अवसर खोजियो भने राम्रो हुँदैन । अवसर खोज्ने होईन, दायित्व पूरा गर्ने समय हो । संक्रमण काललाई पार लगाउने बिषयमा मात्रै सोचौं । कुर्ची होईन, कोरोना भाइरस हाम्रो मनमस्तिष्कमा रहनुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width