नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटले सशंकित

प्रकाश ढकाल
वैशाख २०, २०७७
sachibalaya

फाेटाेः फाइल फाेटाे

पोखरा । पार्टी सञ्चालन र सरकारमा समेत अध्यक्ष केपी शर्मा ओलीले हालिमुहाली गर्न थालेको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका केही नेताहरुले ओलीको कार्यशैली सच्याउनुपर्ने माग राखेका छन् । उनीहरुले पार्टी गलत बाटोबाट हिडाउने प्रयास गरिएको र नेता कार्यकर्ताको बेवास्ता गरिएको आरोप लगाएका छन् । जसका कारण ओलीलाई प्रधानमन्त्री पद छाड्न दवाव दिइएको छ ।

घटनाक्रम लम्बिँदै गएपछि नेकपामा दुई कित्ता छुट्टिएको छ । सचिवालयमा अहिले ओलीको बहुमत पुगेको दावी गरिएको छ । ओलीसँग बामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल र विष्णु पौडेल छन् भने प्रचण्ड सहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्को कित्तामा छन् ।

पार्टीभित्रको अन्तरविरोध टुंग्याउनकै लागि शनिबार (आज) नेकपा सचिवालय बैठक बसिरहेको छ । बैठकमा प्रचण्ड टोलीले स्थायी कमिटीको बैठक माग गर्नेछ । ओलीले यसअघि नै बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारको थिए भने नेपाललाई तेश्रो अध्यक्ष बनाउने तुरुप फालेका छन् । बामदेवलाई उपचुनाव मार्फत प्रतिनिधिसभामा लैजाने सहमति भएको नेकपा श्रोतले बतायो । यसकै कारण उनी ओली समूहसँग नजिकिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटबार्ता गरेका छन् ।  सरकारको नियमित कार्यसूची अन्तर्गत भेट गरिएको भनिएपनि बैठकअघिको भेट भएकोले विशेष रुपमा हेरिएको छ ।

त्यसलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनले भेट गरेका थिए । शनिबारको बैठकमा प्रचण्डको आसन फेरिएको छ । यसअघि अरु नेताकै लहरमा हुने उनको कुर्ची शनिबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीको आडमा छ ।

फाेटाेः राजेश राई/ट्विइटर ।

नेकपामा दुई अध्यक्ष भएपनि मंसिरको बैठकबाट प्रचण्डलाई कार्यकारी अधिकार दिईएको छ भने ओलीले सरकार सञ्चालन गर्ने निर्णय भएको थियो । केही समयको बैठकमा ओली र प्रचण्डको कुर्ची एउटै लहरमा राखिएपनि पछिल्ला बैठकहरुमा प्रचण्ड अरु नेताहरुसँगै बस्दै आएका थिए ।

वैशाख १७ गते प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई बालुवाटार बोलाएर कुराकानी गरेका प्रधानमन्त्री ओलीले वैशाख १९ गते अख्तियार प्रमुख नवीन कुमार घिमिरेलाई वालुवाटार बोलाएका थिए । यस्ता भेटघाटले राजनीतिक बृत्तमा थप आशंका पैदा गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width