हिम्मतिला हिक्मतको हकिकत्

हिक्मतले आफ्नो विगत र वर्तमानबारे बताएपछि उनको जीवन संघर्षलाई यहाँ प्रस्तुत गरिएकाे हाे

narayan shahi नारायण शाही
वैशाख १९, २०७७

पृथ्वी राजमार्गस्थित तनहुँको म्याग्दे, धारापानी नजिक साइकलमा गुड्दै गरेका हिक्मत जिसी ।

तपाँई मिडियाको हो ?

हो ।

कुन मिडियाको हो ?

पोखराको आदर्श समाज ।

आदर्श समाजका प्रेम नारायणलाई चिन्नुहुन्छ होलानी !?

चिन्छु ‘। उनी त जापान छन नि ‘। अहिले, नेपाल छुट्टीमा आएका छन् ।

प्रस्तुत संवाद, न्यूज प्रस्तुतकर्ता र किसान हिक्मत जिसीबीचको हो । विश्वव्यापी कोरोना (कोभिड–१९) को प्रकोपका कारण देश लकडाउन बनेको ३४ औं दिन थियो । गत आइतबार न्यूज प्रस्तुतकर्ता तनहुँको सदरमुकाम दमौली जाने क्रममा भएको संवाद हो यो ।

हिक्मत, तनहुँको खैरेनीटार बजारबाट ठप्प बनेको सुनसान पृथ्वी राजमार्ग हुँदै साइकलमा हुइकिदैँ थिए । उनी त्यस दिन दुलेगौडास्थित शुक्ला डेरीमा दूध पुर्याएर उनको म्याग्दे रिठ्ठेपानीतर्फ घर फर्कदैँ थिए । खैरेनीटार बजारबाट घरमा आवश्यक केही सामान किनेर फर्किैदैँ थिए ।

प्रस्तुतकर्ताले साइकलमा हुँइकिदैँ गरेका उनको फोटो लिने क्रममा भएको प्रस्तुत संंवाद नै न्यूज स्टोरी बनेको हो । कुनैैबेला पोखराकै आदर्श समाजका भाषा सम्पादक प्रेमनारायण न्यौपानेको नाम उनले लिएपछि हिक्मतबारे थप बुझ्ने प्रस्तुतकर्तामा उत्सुकता बढेको थियो ।

उनीसँग बसेरै कुराकानी गर्ने प्रस्तुतकर्ताको प्रस्तावलाई उनले तत्काल श्वीकार गरे । र, आफ्नै घरमा बसेर कुराकानी गर्ने उनले सुझाए । उनीसँगको कुराकानीमा हिक्मतको जीवन संघर्षलाई थप उजागर गरेको थियो । हिक्मतले आफ्नो विगत र वर्तमानबारे बताएपछि उनको जीवन संघर्षलाई प्रस्तुतकर्ताले न्यूज स्टोरी बनाएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका–६, रिठ्ठेपानीस्थित पृथ्वी राजमार्गसँगै हिक्मतको घर छ । त्यहाँ, राजमार्गको बाटोदेखि तल ब्लक र जस्तापाताले बनेको उनको एउटा टहरो छ । टहरोमा हिक्मत, उनकी श्रीमती शुशिला, छोरा अर्जुन, छोरी नमूना र उनलाई सघाउने एक जना कामदार बस्दै आएका छन् ।

टहरोसँगै उनले संचालन गरेको पशुपंक्षीको कृषि फारम छ । फारममा सानो ठूलो गरी ७ वटा जर्सी गाई, १० वटा बाख्रा र केही लोकल कुखुराहरु छन् ।

जर्सी गाइबाट उनले दैनिक ३० देखि ५० लिटरसम्म दूध उत्पादन गर्छन् । उनले दिनको ३० देखि ४० लिटरसम्म दुलेगौंडाको शुक्ला गण्डकी डेरीमा नियमित दूध बिक्रि गर्छन्  । उनले डेरीमा दूध पुर्याए वापत प्रति लिटर ५९ रुपैयाँसम्म हात पार्छन् । खर्च कटाएर मासिक ३०/४० हजार रुपैयाँसम्म उनले जोगाड हुन्छ ।

फाराममा १२ वटा लोकल कुखुराहरु छन् । कहिलेकाहीँ त माउ कुखुरा र चल्लाहरु गरी फाराममा ३ सयसम्म कुखुराहरु हुने गरेको उनले सुनाए ।

हिक्मत, रिठ्ठेपानीमा आउनुभन्दा पहिले २० वर्ष जति पोखरामै बसे । आजभन्दा ७ वर्ष अघि ०७१ को मंसीरदेखि उनले कृषि व्यवसायमा हात हालेको उनले सुनाए । उनका अनुसार त्यहाँ उनले कृषि व्यवसायका लागि त्यतिबेला ८ लाख रुपैयाँ खर्च गरेका छन् ।

त्यस भन्दा पहिले उनी पोखरामै रहेर लोकदोहरी गायन र होलसेल व्यापारमा लागेका थिए । पोखरामा रहँदा उनले २/४ वटा लोकदोहरी रेष्टुेरेन्टहरुमा गीत समेत गाएको उनले बताए । किराना र चाइनिज सामानहरुको होलसेल ब्यापार पनि गरे । पछि, दुईवटै पेशालाई चटक्कै छाडेर कृषि पेशमा हात हालेको हिक्मतले सुनाए ।

उनले २०६० सालभन्दा अघि करिब ३ वटा लोकदोहरीका एल्बमहरु निकाले । ति एल्बमहरुमा करिब १५ वटासम्म आफूले गाएको लोकगीतहरु संग्रहित रहेको उनले सुनाए । ‘मनका वेदना’, ‘हितको परानी’ र ‘बोल्ने बहाना’ आफूले निकालेको लोक गीतका एल्बमहरु रहेको उनले सम्झिए । उनले भने, ‘यि सबै त्यति बेला चलेको लोकगीतका एल्बमहरु हुन् ।

‘लोकदोहरी र व्यापारलाई चटक्कै छाडेर कृषि पेशालाई रोज्नुका कारणबारे उनले भने, ‘पोखरामा रहँदा गायन र होलसेल व्यापार दुबैलाई सँगसँगै अंगालेको थिएँ । तर, दुबैमा असफल बनियो । त्यतिबेला, दुई वटा नाउँमा दुइवटा खुट्टा राखेको थिएँ । विकल्पमा कृषि पेशा अपनाइयो । हाल, कृषिको एउटै नाउँमा दुई खुट्टा राखेको छु । यसमा सफल पनि बनेको छु ।’

कुनैबेला, पोखराका पत्रकार प्रेमनारायण न्यौपानेसँग हिक्मतको सम्बन्ध थियो । प्रेमनारायणसँगको त्यो पेशागत सम्बन्ध चाहीँ गायन पेशा नै थियो ।

हिक्मतले प्रेमनारायणलाई सम्झदैँ भने, ‘प्रेमनारायणसँगको सम्बन्ध गायन पेशाबाटै जोडिएको हो । उनले पहिले लोकगीत गाउँथे । चौतारीको डिलमुनी मुनी, डिलमुनी बसेर, बोलाउने को हो नी’ बोलको गीत प्रेमनारायणको त्यतिबेला चलेको गीत थियो । पछि, पत्रकारितातिर लागे । उनी आदर्श समाजका पत्रकार हुन भनि मलाई राम्ररी थाहा थियो । त्यसैले, तपाईँलाई प्रेमनारायणबारे सोधेको ।’

हाम्रो सुझाव