अन्नपूर्ण हिउँ पहिरोमा हराएका सात जनाकै शव भेटियो

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
ABC final

हिंकु केभ क्षेत्रमा हराएका पदयात्री र मजदूर खोजिंदै गरेको केही हप्ता अघिको तस्वीर । तस्वीर सौजन्य : प्रेम कुमार राई ।

पोखरा, १९ वैशाख । कास्कीको अन्नपूर्ण पदमार्गमा आएको हिउँ पहिरोमा परी साडे तीन महिनादेखि वेपत्ता बाँकी दुईको शब पनि भेटिएपछि हराएका सबै सात जनाको खोजी कार्य सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित अन्नपूर्ण आधार शिविर (एबीसी) जाने पदयात्रा मार्गको हिंकु केभ क्षेत्रमा गत माघ ३ गते हिउँ पहिरो आउँदा चार कोरियाली पदयात्री र उनीहरुका तीन नेपाली पदयात्रा मजदूरहरु गरी सात जना हिउँमा पुरिएर हराउन पुगेका थिए । हराएका बाँकी अरु पदयात्री र मजदूरहरुको शव यसअघि नै भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डीएसपी राजकुमार केसीले शुक्रबार विहान भेटिन बाँकी एक कोरियाली पर्यटक र एक नेपाली मजदूरको शव भेटिएको पुष्टि गरे । पहिरो क्षेत्र भन्दा तलपट्टि बग्ने मोदी खोलाको किनार भन्दा केही माथि ती शब भेटिएको केसीले सुनाए । भेटिएको शब मध्ये एउटा नेपाली पोर्टर छिरिङ भोटेको भएको जनाइएको छ ।

शवहरुलाई शुक्रबार नै हेलिकोप्टरमा पोखरा ल्याएर काठमाडौं लगिने योजना बनाइएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सेन्चुरी युवा क्लब, ट्रेकिङ एजेन्सिएज एशोसिएशन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय होटल व्यवसायी विभिन्न समयमा खोजी तथा उद्धार कार्यमा जुटेका थिए ।

यसअघि नेपाली गाइड सरोज परियारको शव गत मध्ये फागुनमा, अर्का नेपाली पोर्टर मेमबहादुर तामाङको शव यही बैशाख ११ गते, दुई कोरियालीको शव गत शनिबार र अर्का एक कोरियालीको शव गत सोमबार भेटिएको थियो । शव भेटिएका कोरियालीमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् ।

चार हजार एक सय ३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रामा हिंडेका पदयात्री, गाइड र पोर्टर भारी हिमपात हुँदा गन्तव्यमा पुग्न नसकी फर्कने क्रममा तीन हजार दुई सय मिटर उचाई हाराहारीको हिंकु केभ क्षेत्रमा आएको पहिरोमा परेका थिए ।

कास्कीको घान्द्रुक वा लान्द्रूकबाट पैदलयात्रा गरी पाँच देखि सात दिनमा सम्पन्न गर्न सकिने एबीसी पदयात्रा अन्नपूर्ण क्षेत्रको एक महत्वपूर्ण गन्तव्य हो । लान्द्रुक वा घान्द्रुकबाट छोमरोङ, सिनुवा, ब्याम्बू, दोभान, हिमालय, देउराली, माछापुच्छरे आधारशिविर हुँदै एबीसी पुग्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width