महानगर घेर्न जाने पोखरा ९ कृष्णटोलका ३५ परिवारलाई राहत

Bijay Nepal विजय नेपाल
वैशाख १६, २०७७

पोखरा, १६ वैशाख । राहत माग गर्दै पोखरा महानगरपालिका कार्यालय घेराउ गर्न पुगेका पोखरा ९, कृष्णटोलका स्थानीयवासीलाई मंगलबार राहत वितरण गरिएको छ ।

उनीहरुमध्ये ३५ घर परिवारलाई राहत वितरण गरिएको र अर्को चरणमा बाँकीलाई पनि वितरण गरिने कृष्णटोल आमा समूह अध्यक्ष रुपा केसीले जानकारी दिइन् । सुकुम्बासी बस्ती रहेको कृष्णटोलमा मजदुर तथा विपन्न वर्गका मानिसहरुमध्ये १ सय १६ जनाले एकपटक पनि राहत नपाएको भन्दै गुनासो गरेका थिए ।

राहतमा चामल १० केजी, तेल आधा लिटर, दाल १ लिटर, नून १ किलो, अण्डा ५ थान, साबुन १ थान रहेको छ । मंगलबार वितरण राहत पोखरा कलेज अफ म्यानेज्मेन्ट कलेज, पोखरा स्पोर्टस् ब्याडमिन्टन क्लब र क्याट्रोल होटलले संयुक्त रुपमा वडालाई उपलब्ध गराएका हुन् । वडा ९ मा स्थानीय कृष्णटोल आमा समूहलाई राहत वितरणका लागि समन्वय गर्न जिम्मा दिइएको छ ।

पोखराको बसपार्क नजिकैको कृष्णटोलमा १ सय ९४ घरधुरी छन् । त्यसमध्ये भाडामा बस्ने तथा परिवारबाटै छुट्टिएर बसेका गरी कुल ३ सय परिवार छन् । राहत उपलब्ध गराउनुपर्ने भनी यसअघि १ सय ९४ जनाको नाम संकलन गरिएकोमा हालसम्म १ सय ८६ घर परिवारलाई धेरै थोरै राहत उपलब्ध भैसकेको छ ।

वडा कार्यालय तथा महानगर घेराउ गर्न पुगेकामध्ये १ सय १६ जनाले आफूले एकपटक पनि राहत नपाएको भनी नाम टिपाएका थिए । मंगलबार उपलब्ध राहतमात्र ३५ परिवारलाई मात्र पुग्ने भएपछि १ सय १६ मध्ये पनि चुल्है निभेकाहरुलाई प्राथमिकता दिइएको थियो । पहिलो पटक राहत प्राप्त गरेका विकास परियारले आफूहरुको मागअनुरुप पर्याप्त नभएपनि लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गर्ने मजदुरको हकमा सरकारले सोच्नुपर्ने बताए ।

उनले यस सम्बन्धमा बुधबार वडाका जनप्रतिनिधिसँग आफूहरु पुनः बैठकमा बस्ने जानकारी दिए । यता, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले बाँकीलाई पनि क्रमशः राहत उपलब्ध गराइने बताए । यसअघि पनि सो टोलमा पोखरा महानगरपालिकासहित सिद्धि सेतुली, सांसद बिन्दुकुमार थापा, लायन्स क्लब, भृकुटी सहकारी लगायतले पनि राहत प्याकेज लगेका थिए ।

तर सुकुम्बासी बस्ती रहेको सो टोलका अधिकांश मानिस दैनिक ज्यालादारी गरी गुजारा गर्नुपर्ने हुँदा राहत समेत अपर्याप्त हुने गरेको गुनासो गर्दछन् । सरकारले राहत पनि नदिने र आफूलाई काम गर्ने वातावरण पनि नदिएपछि आक्रोशित मजदुर २ दिनसम्म वडा कार्यालय सहित महानगर कार्यालय घेराउ तथा धर्नामा बसेका थिए ।

यता, पोखरा महानगरपालिकाले स्थापना गरेको राहत संकलन कोषमा ४ करोड बढी रुपैयाँ संकलन भैसकेको र महानगरभित्र ३० हजार जनाभन्दा बढीलाई राहत उपलब्ध गराएको जनाएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि गत चैत ११ देखि देशभर लकडाउन गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न वर्ग बढी मारमा पर्दैआएका छन् । पछिल्लो समय थपिएको लकडाउन आगामी बैशाख २५ सम्म कायम रहनेछ ।

हाम्रो सुझाव