सुरक्षा अपनाउँदै केही पूर्वाधारको काम जारी

रासस
वैशाख १६, २०७७
369908-81979754_846317635828614_7589010962091343872_n

कृष्ण दवाडी -पोखरा, १६ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउनमा जारी रहेको छ । अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्र प्रायः ठप्प छ । सरकारले आम नागरिकलाई घरभित्र रही लकडाउनको पालना गर्न आग्रह गरिरहेको छ । सबै क्षेत्र ठप्प रहँदा पूर्वाधार निर्माणका कामसमेत रोकिन पुगेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले शुरु गरेका पूर्वाधार निर्माण योजनाको काम लकडाउनसँगै रोकिएको हो । विगतका वर्षहरुमा सबैभन्दा बढी पूर्वाधारको काम चैत, वैशाख र जेठ महिनामा हुने गरेकामा यस वर्ष कोरोनासँग जुध्न आह्वान गरिएको लकडाउनले विकास निर्माणका काम प्रभावित बनेको हो । अधिकाँश योजनामा काम गर्ने मजदुर घर फर्किएका छन् ।
जिल्लामा केही पुल र सडक योजनाका कामलाई सीमित मजदुरले सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अवलम्बन गरेर अघि बढाइएको छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयअन्तर्गत कास्की र स्याङ्जामा चालू अवस्थामा रहेका १७ पुलका योजनामध्ये हाल सात वटामा काम जारी रहको छ ।

कास्कीमा तीन र स्याङ्जामा चार पुलका योजना सुरक्षा सावधानी अपनाउँदै काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख एवं डिभिजनल इञ्जिनीयर शोभियत खड्काले जानकारी दिए । कास्कीको मादी गाउँपालिकास्थित मादी नदी ज्याम्दु मोटरेवल पुलको ढलानको काम यही अवधिमा सम्पन्न भएको छ । पहुँचमार्ग र रेलिङ जडानलगायका काम भइरहेको बताइन्छ । गत वर्ष ढिला काम हँुदा सटिङ गरिसकेको सो पुल गत बर्खामा बाढीले बगाएको थियो । हाल सुरक्षा विधि अपनाएर भए पनि पुलको निर्माणकार्य जारी छ । मादीको वडा नं ७ र ३ जोड्ने सो पुल आठ दशमलव दुई मिटर लामो हुनेछ । पूर्वाधार विकास कार्यालयको रु आठ करोड ६९ लाख लागतमा मृत सञ्जीवनी निर्माण सेवाले निर्माणको निर्माण गरिरहेको हो । पोखरा महानगरपालिका–२३ ठूलाखेतस्थित खहरेखोला पुलको काम यस अवधिमा सञ्चालन भइरहेको छ ।

नौ दशमलव ७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने गरी गत वर्ष वैशाखमा शिलान्यास गरिएकामा सो पुलको निर्माणकार्य लकडाउनअघि समेत अत्यन्त सुस्त रहेको थियो । रु छ करोड ७५ लाख लगानीमा पुल निर्माणको जिम्मा निलगिरि कन्स्ट्रक्शनलाई पाएको थियो । हालसम्म पुलको ३५ प्रतिशत सम्पन्न भएको बताइएको छ । प्रदेश सरकारकै लगानीमा निर्माण शुरु गरिएको फुर्सेखोला चिसापानी पुलमा १५ मजदुरले रड बुन्ने तथा रेडिमिक्सबाट ढलानको तयारी भइरहेको छ । “अहिलेको विषम परिस्थितिमा समेत सम्भव हुने ठाउँमा पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइरहेका छौँ । सङ्क्रमण फैलनबाट आवश्यक सावधानी अपनाउने तथा सामाजिक दूरी कायम गरेर सुरक्षित बन्दै केही योजना सञ्चालन छन्”, डिभिजनल इञ्जिनीयर खड्काले भन्नुभयो । सडक योजनाअन्तर्गत बेगनास भोर्लेटारमा काम भइरहेको बताइएको छ । बर्खायाम नजिकिँदै गरेकाले निर्माणाधीन पुलमा हालसम्मको काममा बर्खामा बाढीले क्षति पु¥याउने भएकाले समेत केही निर्माण व्यवसायीले बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिँदै सम्पन्न गराउन लागिपरेका हुन् । पोखरा महानगरपालिकाले समेत सुरक्षाका विधि अवलम्बन गर्दै केही पुल र सडक योजना निर्माणलाई निरन्तरता दिइरहेको जनाएको छ । लकडाउनका कारणले अधिकांश योजना प्रभावित भएकाले अब ती योजना कसरी अघि बढाउने भनेर अगामी बुधबार महानगरमा प्राविधिकको बैठक बस्ने जनाइएको छ ।

पोखरा–१६ अर्मलास्थित तुप्के घोरकुना पुलको लकडाउनकै अवधिमा स्लाब ढलान गरिएको छ । फेवा पिएल जेभी पोखरासँग आगामी मङ्सिर ८ सम्ममा निर्माण सक्ने गरी महानगरले ठेक्का सम्झौता गरेको थियो । रु तीन करोड ३० लाखमा लागतमा २५ मिटर लम्बाइ र पाँच मिटर चौडाइको रहेको महानगरका इञ्जिीनियर ध्रुव भट्टराईले बताए ।
त्यसैगरी महानगरको वडा नं १९ स्थित भोटीखोला पुलसमेत यस अवधिमा बीमको ढलान सम्पन्न भएको र दुई÷तीन दिनभित्रमा स्लाब ढलान गरिने इञ्जीनियर उहाँले जानकारी दिए । प्रदेश सरकार र पोखरा महानगरको लागत साझेदारीमा शुरु गरिएको फेवाताल चेकड्याम निर्माण कार्यको अँधेरीखोलामा ड्याम तथा सिल्ट्रेसन पोखरी निर्माणको काम भइरहेको जनाइएको छ ।

महानगरले विजयपुर बेगनास सडकमा केही मजदूरले नाला निर्माण तथा रिटेलिङ वालको काम गरिरहेको र बैदाम–पामे सडक पनि केही दिनमा शुरु हुने जनाएको छ । महानगरका इन्जिीनियर भट्टराईले भने–सुरक्षा सावधानी सहित महानगरका पुल र सडकका केही योजनामा काम भइरहेपनि अधिकाँस बन्द छन् । अब कुन–कुन योजना अघि बढाउने सकिन्छ भनेर मेयरसा’पले भोलि प्राविधिकहरुको बैठक राखेका छन् । निर्माण व्यवसायीले भने योजना अघि बढाउनलाई मजदूर र निर्माण सामग्रीको अभाव भएको जनाएको छ । नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले केही व्यवसायीले हालको अवस्थामा समेत काम गरिरहे पनि अधिकांश मजदुर र पूर्वाधार निर्माणका लागि अत्यावश्यक रड, सिमेन्ट, बालुवा गिटीलगायत निर्माण सामग्रीको अभाव रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width