राहत माग्दै महानगर घेराउ गर्न गएका मजदुरको आक्रोश, सर्वपक्षीय बैठक बिनानिष्कर्ष

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७७
20200427_163209

राहत नपाएको गुनासो गर्दै पोखरा महानगरपालिका कार्यालय घेराउ गर्न पुगेका मजदुरलाई महानगरले राहत आश्वासनबिनै घर फर्काएको छ । पोखरा–९, कृष्णटोलका मजदुरको सम्बन्धमा छलफल गर्न कार्यालय प्राङ्गणमा नगरप्रमुख मानबहादुर जिसी लगायत सरोकारको सर्वपक्षीय बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा सहभागी पोखरा वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले बैठक बिनानिष्कर्ष टुंगिएको र अब भोलि (मंगलबार) पुनः बैठक बसी निर्णय गरिने बताए । बैठकमा महानगर प्रमुख, उपप्रमुख, कर्मचारी, पोखरा ९ सहित छिमेकी वडा ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा ७ का अध्यक्ष रामचन्द्र बराल, सुरक्षा निकाय, स्थानीय टोल विकास संस्था, आमा समूह लगायतको उपस्थिति थियो ।


बैठकले आफूहरुको राहतको लागि कुनै आश्वासन नदिएको भन्दै न्यूरोडस्थित कार्यालय बाहिर लगातार धर्ना दिइरहेका करिब ३ सय जना मजदुरले आक्रोश पोखे । उनीहरुले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन् ।

बैशाखी सहारामा अडिएका स्थानीय बुद्धिबहादुर बिकले आक्रोशित बने, ‘हामीहरुले यिनीहरुको चालवाजी बुझ्यौं । अब चुनावको बेलामा भोट माग्न आउलान् नि ?’
लकडाउनको बेलामा पनि सामाजिक दुरी त कहाँ हो कहाँ, एकाएक हुलका हुल मजदुर देखा परेपछि सम्भावित अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी समेत खटाइएको थियो । मजदुरले आइतबार र सोमबार बिहान पनि नयाँबजारस्थित वडा कार्यालयमा समेत धर्ना दिएका थिए ।


अधिकांश सुकुम्बासी तथा ज्याला मजदुरी गरी बस्ने कृष्णटोलमा हाल १ सय ९४ घरधुरी छन् । त्यसमध्ये करिब ३ सय जनाको परिवार छ । टोल विकास संस्थाको समन्वयमा राहतका लागि १ सय ९४ जनाका नाम संकलन गरी वडा कार्यालयमा पठाइएको महानगरहुँदै वडा ९ मार्फत ५१ परिवारलाई मात्र राहत वितरण गरिएको थियो । त्यसमध्ये राहतको ३२ फूल (पूरा) प्याकेज र १९ हाफ (आधा) प्याकेज वितरण गरिएको स्थानीय कृष्णटोल आमा समूहका अध्यक्ष रुपा केसीले बताइन् । केहीको आवश्यक कागजात नपुगेको भन्दै राहतबाट वञ्चित गरिएको थियो । दैनिक ज्यालादारी गरी हातमुख जोर्ने परिवारले महिना दिन लामो लकडाउनमा समेत एकपटक पनि राहत नपाएको भन्दै आक्रोशित बनेका हुन् । वडामा महानगरबाहेक लायन्स क्लब, सिद्धि सेतुली, सांसद बिन्दुकुमार थापा, लायन्स क्लब, भृकुटी सहकारी लगायतले पनि राहतको प्याकेज लगेका थिए । तर त्यो पर्याप्त भएन ।

जसका कारण राहत माग्दै सुत्केरी, एकल महिला, अपांग, वृद्धा सम्मिलित मजदुरले धर्ना दिएका हुन् । कृष्णटोल बस्ने सुनिता सुनार सुत्केरी हुन् । उनी २४ वर्षकी भइन् । मात्र ४ महिनाको छोरा काखमा लिएर उनले राहत माग्दै धर्ना दिएकी छन् । उनका पति ज्यामी काम गर्दछन् । तर महिना दिनभन्दा बढी लामो समयको लकडाउनले काम पाएका छैनन् । काम नपाउँदा दैनिक ज्यालादारी गर्ने उनीहरुको परिवारका ३ सदस्यलाई हातमुख जोड्न धौ–धौ छ । वडा कार्यालयले अहिलेसम्म आफूलाई राहतको नाममा एक गेडो चामल पनि नदिएको सुनिताको गुनासो छ । उनले भनिन्, वडाले पठाएको राहत कृष्णटोल आमा समूहले बाँडेको छ भन्ने थाहा पाएर माग्न गएको खान नपाएकी आएकी होस् भन्दै थर्काएर पठाइदिए । म सुत्केरीले बच्चाको लागि भए पनि पोषिलो खुराक खानुपर्ने बेला एक गास भात खान पनि धौ–धौ भो ।’


सुनिताको जस्तै व्यथा ३७ वर्षीय कमला बिकको पनि उस्तै छ । उनका १३ वर्ष र १६ वर्षका २ जना छोरीहरु छन् । कास्कीको घान्द्रुकी कमला पोखरा ९, कृष्णटोलमै २ छोरीको साथमा डेराकोठामा बस्छिन् । २०५१ सालमा विहे गरेकी उनलाई पतिले २०६३ सालमा अर्की ल्याएपछि छोडेर गए । कुल्ली काम गरेरै अहिलेसम्मको जीवन गुजारा गर्दै आएकी थिइन् । तर लकडाउनका कारण काम गर्न पाएकी छैनन् । सरकारले मजदुरहरुको लागि राहत दिएको भने पनि आफ्नो चुल्होमा राहत नआएको उनको गुनासो छ ।

त्यतिमात्र कहाँ होर, ५२ वर्षका बुद्धिबहादुर बिक बैशाखी सहारामा हिडडुल गर्दछन् । उनी राहत नपाएको भन्दै बैशाखी टेकेरै कृष्णटोलदेखि वडा कार्यालयसम्म आएका छन् । आफूले ज्यामी काम गर्थे । काम गर्नेक्रममा गत पुसमा उनको बायाँ खुट्टा भाँचियो । र, चिकित्सकले प्लाष्टर गरी बैशाखी भिराइदिए । श्रीमती फलफूल बेच्छिन् । परिवारमा २ छोरा र १ छोरा छन् । यसरी ५ जना सदस्यको उनको परिवार राहत नपाउँदा इन्तु न चिन्तु छ । सरकारले घर जान पनि दिँदैन । पर्याप्त राहत त के काम गर्न पनि दिँदैन । बुद्धिबहादुरका अनुसार २ साताअघि मात्र स्थानीय टोल विकास संस्थाले १२ केजी तामल, १ केजी दाल, १ किलो नून दिएको हो । तर त्यत्तिको राहतले के पुग्थ्यो, त्यत्रो ठूलो परिवारलाई । उनी भन्छन्, ‘म काम गर्न नसक्ने भएपछि श्रीमतीले फलफूल बेचेर भएपनि परिवार पालेकी थिई । कि फलफूल बेच्न दिनु परो । कि राहत दिनु परो ।’


धर्ना दिने व्यक्तिहरुको भीडमा थिइन्, प्रभा लामिछाने । ४०वर्षीया लामिछाने किड्नी बिरामी हुन् । केही महिनाअघि मात्र उनको दायाँ मिर्गौला फेरेको रहेछ । बुटवलबाट कामको खोजीमा पोखरा झरेको लामिछाने परिवारमा १२ वर्षका छोरा छन् । उनी काम गर्न सक्दिनन् । श्रीमान ज्यामी काम गर्दछन् । परिवारको लागि एकफेर १२ केजी चामल दिएको लकडाउन बढाएको बढायै गर्दा पनि मजदुरको समस्या नबुझेको भन्दै धर्ना दिन आएको प्रभाले बताइन् ।
वीरबहादुर विश्वकर्माले २ महिनाकी सुत्केरी श्रीमतीका लागि खानेकुरा केही नहँुदा समस्यामा परेको बताए । छरछिमेकीहरुसंग मागेरै छाक टार्दै गरेको उनको गुनासो छ । परिवारमा शिशु (छोरी) सहित अर्का २ छोरी गरी ५ जनाको परिवार छ । अघिल्लो महिना आमाबाबु समेत गुमाएका विश्वकर्माले राहत माग्न जादा नागरिकता नभएको भन्दै फर्काएपछि समस्यामा परेको बताए । सुत्केरीलाई पौष्टिक तत्व खुवाउनु पर्ने समयमा एकछाक दाल भात खान नपाएको भन्दै उनले गहभरि आँसु पारे ।


पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मजदुरको समस्यामा महानगर गम्भीर रहेको बताए । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म साढे ४ करोड रुपैयाँ संकलन भैसकेको जनाइएको छ । महानगरले नगरभित्र ३० हजार बढीलाई राहत वितरण गरेको दाबी गरेको छ ।

पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले कृष्णटोलमा राहत वितरण गरिएको दाबी गर्दै त्यसमा अनियमिता भएको भए खोजीनीति गरिने बताए । पहिलो चरणमा वडाका ६ सय ८८ घरपरिवारलाई राहत वितरण गरेकोले र छुटेकालाई केही संघसंस्थाको समन्वयमा वितरण गरेको उनको भनाइ छ । दोश्रो चरणमा पुनः ९ सय १५ जनाको नाम संकलन गरिसकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width