राष्ट्रिय चिया दिवस : इतिहास, पर्यटन र स्वास्थ्यमा चिया (फोटो एस्से)

इलाम, झापा, पाँचथर र धनकुटा चिया खेती गरिने प्रमुख जिल्लाहरु हुन्

Suraj Hazare Dahal Suraj Hazare Dahal
वैशाख १५, २०७७

सुरज हजारे दाहाल : विहानको सूर्योदयसँगै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म प्राय सबैले दिनको शुरुवात चियाको चुस्कीबाट गर्छन् । बजारमा डढेको दूधको चियादेखि भान्छामा ग्रीन टि अनि ओछ्यानमा फिका बेड टिसम्मको चर्चा छ । आज त्यहि चियाको २४ औं राष्ट्रिय दिवस हो ।

चियाबारीमा चिया टिप्दै मजदुर ।

२०५४ सालदेखि प्रत्येक वर्ष वैशाख १५ गते चिया दिवस मनाइने गरिएको छ । लकडाउनका कारण आज यो दिवस औपचारिक रुपमा नमाइए पनि आज विहान र दिउँसो तपााईहरुले पक्कै पनि चिया पिउनु भयो होला ।

इलाम, झापा, पाँचथर र धनकुटा चियाको खेती गरिने प्रमुख जिल्लाहरु हुन् । यि बाहेक दोलखा, लम्जुङ तथा हाम्रै कास्कीमा समेत चिया खेती बिस्तार भइरहेको छ ।

विश्वमा पाइने चियाका विभिन्न प्रजातिहरु ।

इतिहासः
धर्का भएको सदाबहार शिशाको फुच्चे ग्लासमा सडक किनारमा र ठेलामा बेचिने चियादेखि सेरामिक कपबाट हामीले चियाको चुश्कि लिएका छौं । नेपालमा चिया खेती भित्राउने श्रेय प्रधानमन्त्री जंगबहादुरलाई जान्छ । विसं १९२० मा चाइनाबाट फर्र्किएपछि चियाको बिउ रोप्ने आदेश उनले आफ्नो ज्वाँइ गजराजसिंह थापालाई दिएका थिए ।

त्यसको दुई वर्षपछि झापामा सोक्तिम चिया कमान स्थापना भएको थियो । राणा शाषणको अन्त्य पछि निजि स्तरबाट पहिलो पटक विसं २०१६ मा बुधकरण चिया बगान स्थापना भयो भने २०२३ मा नेपाल चिया विकास निगम स्थापना भयो । इलाम भन्दामाथि पाँचथरतर्फ ग्रिन टि र इलामतल झापामा सिटिसी चियाको खेती गरिन्छ ।

कन्याम चिया उद्योग इलाम ।

चिया पर्यटन र गीत : पूर्वी तराईको झापा जिल्ला छोडेर नागबेली मेची राजमार्गबाट उकालो लागेसँगै चियाका बगान देखिन्छन् । इलाम शुरु हुनासाथ फिक्कलदेखि पशुपतिनगर, बिपल्याँटेदेखि माईपोखरीसम्म चियाको खेती गरिन्छ । चिया बगानको सबैभन्दा लोभ लाग्दो दृश्य कन्याममा देखिन्छ ।

पुराना नेपाली चलाचित्रहरुका सदाबहार गीतहरु दुई पाते सुइरो, चियाबारीमा हो चिया बारीमा, चियाको बोटैमा लगायतले नेपालीमा पूर्वी क्षेत्र घुम्न प्रेरित गरेको छ । चिया बगानकै विच इलाममा कटेजदेखि रिसोर्ट बनाइएका छन् । चियाबारी भित्रैको गाउँमा होमस्टे संचालन भएका छन् । विहानपख देखिने बादलुको घुम्टोलो चिया बगान छोप्दाको दृश्य शब्दमा वर्णन गर्न सकिन्न, उतै जानुपर्छ ।

कन्याम चिया उद्योगमा चियाको पत्तिलाई पखाल्ने प्यानलमा ।

चियाको फाइदाः
पानी वा दूधमा पकाइने सिटिसी (धुलो चिया) देखि पानीमा पकाए पछि पात खुलेर फुल्ने ग्रीन टिसम्मको आफ्नै फाइदा छ । कुनै पनि चियामा फ्लेबोनोइड्स नामक रसायन हुन्छ जसले रक्त संचारलाई सन्तुलनमा राख्छ ।

अनुसन्धानका अनुसार दिनमा ३ कप चियाको नियमित सेवनबाट मधुमेह रोगबाट बच्न सकिन्छ । चियाले मुटु सम्बन्धि रोग लाग्नबाट पनि बचाउँछ । यसमा हुने एन्टिअक्सिडेन्टले छालामा चाउरीपन त रोक्छ नै चमक पनि दिन्छ अर्थात यसले बुढ्यौलीको संकेतलाई पर धकेल्छ ।

महेन्द्रराजमार्ग स्थित नवलपरासीमा एक विहानै चिया बनाउँदै महिला ।

चियाको पत्ति गिजा सफा गर्न पनि प्रयोग हुन्छ र यसलाई साबुन तथा श्याम्पुमा प्रयोग गरिन्छ । चियाको रुखको तेलले चाँया समेत हटाउन मद्दत गर्ने भएकोले हर्बल कम्पनीले साबुन तथा श्याम्पुमा यसको प्रयोग गर्छन् ।

केहि वर्षदेखि ग्रिन टि पिउने संस्कृति नेपालीमा भित्रिएको थियो तर फेशन आएर हराए झैं गिन टि पिउनेको संख्या अहिले घटेको छ । डिपार्टमेन्टल स्टोरमा पहिले भन्दा अहिले यसको बिक्री कम हुनुले पनि यसको पुष्टि गर्छ ।

पकाइएका चियाका विभिन्न प्रकारहरु ।

राजनीति र समाजमा चिया : नेताहरुले गर्ने जलपान समारोहमा जल भनेकै चिया हो । राजनीतिक दलका कार्यकर्ता भेटघाट कार्यक्रम होस् वा पत्रकार सम्मेलन त्यहाँ चिया नहुने कुरै हुँदैन । अन्य राजनीतिक दलका नेतालाई आफ्नो स्थापना दिवसमा आमन्त्रण गर्दा पनि त्यहाँ चिया नै हुन्छ ।

र अन्त्यमा …. कुनै साथी वा छिमेकी भेटेपछि चिया खानुभयो भनिन्छ जबकी चिया खानेकुरा होइन पिउने पेय पदाथ हो । र त्यो चिया नखाइएको रहेछ भने पनि ल खाना आउनु्ुस् भनिदैन किनकी यो औपचारिकता मात्र हो । चियासँग चुरोट पिउनेहरुको साइनो पनि छ त्यसैले त भनिन्छ चिया र चुरोटको साथी ।

हाम्रो सुझाव