Worldlink ads

“घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्ने?”

रासस
वैशाख १५, २०७७
KD_Kaski- rahat maghdai

पोखरा महानगरपालिका–९ को वडा कार्यालयमा आइतबार टोलवासीसँगै राहत माग्दै वीरबहादुर विश्वकर्मा बायाँ । तस्वीरः कृष्ण दवाडी, रासस

पाेखरा । पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई मात्र ।

केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले नाम फिर्ता पठायो । दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सो बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरुले पटक/पटक वडाको ध्यानाकर्षण गराए । वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरुले आइतबार वडा कार्यालयमा धर्ना दिए ।

सोही धर्नामा हुनुहुन्थ्यो ३९ वर्षीय वीरबहादुर विश्वकर्मा । दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आउनुभएका विश्वकर्माको लकडाउनपछि आम्दानी छैन । पाँच जनाको परिवारमा दुई महिनाको सुत्केरी श्रीमती घरमा हुनुहुन्छ । सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोसिलो खानेकुरा त परै जाओस् साँझ बिहान दुई छाक खाने अन्नसमेत छैन ।

लकडाउनको एक महिना छिमेकीसँग पैँचो मागेर भए पनि सुत्केरी श्रीमती र तीन बालबच्चाको पेट भरेका उहाँको घरमा अहिले पकाउने केही पनि छैन । घरमा चुलो बाल्ने उपाय नभएपछि शनिबार पौरखी समूहले व्यवस्था गरेको पाँच प्याकेट खाना सबैले बाँडेर छाक टारे । साँझ माइली भाउजूले दिएको चामल र छिमेकी दिदी पर्नेले दिएको दालले शनिबार साँझ र आइतबार बिहानको चुलो बलेको तर अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले अन्य टोलवासीसहित वडामा राहतका लागि धर्नामा आएको उहाँले बताउनुभयो ।

“घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्ने ? अहिले सबैको अवस्था मेरोजस्तै हो नि । सरकारले कि हामीलाई काम गर्न जान दिनुपर्याे नत्र परिवार पाल्न राहत चाहियो”, विश्वकर्माको भन्नुभयो । नागरिकता नभएकाले नै आफूलाई राहत पाउनबाट वञ्चित गरिएको हुनसक्ने उहाँको अनुमान छ ।

वर्षौंदेखि मुस्ताङबाट आएर यहीँ बसोबास गरेको बताउँदै उहाँले एक पटक बनाएको नागरिकता हराएपछि पुनः अर्को नबनाएको बताउनुभयो। राहत माग्दै कृष्ण टोल, पार्वती टोल र शान्तिनगर टोलका २०० हाराहारीका उनीहरुले बास्तोलाथरमा रहेको वडा कार्यालयमा मध्याह्नदेखि धर्ना दिएका थिए । प्रभावित परिवारको भीडभाड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मी र वडाका कर्मचारीको पहलमा उनीहरुको नाम सङ्कलन गरिएको थियो ।

टोल विकास संस्थाका उपाध्यक्षसमेत रहनुभएका कान्छा लामाले टोल विकास संस्थाबाट १९४ कै नामावली वडामा पेश गरिएकामा चैत २७ गते ५४ परिवारलाई राहत वितरण गरिएकामा अन्य परिवारले राहत नपाएको बताउनुभयो । वडाध्यक्ष र सचिवलाई पाँच दिनअघि वडामा आएर राहतका लागि आग्रह गर्दा दुई दिन पर्खिन भने पनि केही सहयोग नपाएपछि टोलवासी वडामा धर्नाका लागि आएको तर वडाध्यक्ष सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

“वडाले पक्षपात गरेको छ , एउटै वडामा भए पनि कोहीलाई राति/राति घरमा राहत पुर्याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ कहिल्यै देख्न पनि नपाउने”, लामाले आक्रोश व्यक्त गर्नुभयो ।

वडाध्यक्ष रामराज लामिछानेले राहतका लागि प्राप्त एक हजार ९४५ आवेदनमध्येबाट पहिलो चरणमा ६८८ परिवारलाई राहत वितरण गरिएको बताउँदै पाउनुपर्ने वास्तविकरुपमा प्रभावित कोही छुटेको भएमा दोस्रो चरणमा दिइने बताउनुभयो । एउटै व्यक्तिले पटक/पटक राहत लिने प्रवृत्ति रहेको भन्दै उहाँले दोस्रो चरणको राहत वितरण गर्नुअघि पहिलो चरणमा राहत पाएका सबैको नामावली मागिने र छुटेकालाई वितरण गरिने जानकारी दिनुभयो ।

“राहत वितरणलाई प्रभावकारी बनाउन वडासदस्यको नेतृत्वमा सबै टोल विकास संस्थाका अध्यक्षसहितको वितरण समिति मार्फत राहत दिएका हौँँ । छुटेकालाई केही दाता खोजेर पनि छुट्टै दिएका छौँ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

    • पोखराको सुन्दरतामा रमाए राजदूत

      विजय नेपाल असाेज ११, २०७८
      पोखरा । नेपालस्थित विभिन्न राष्ट्रका ११ राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारी सम्मिलित विशिष्ट पाहुनाको टोली पोखराको सुन्दरतामा रमाएको छ । गण्डकी…
    • लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचित टोलीलाई व्यवसायीको बधाई

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय नेतृत्वको कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना…
    • चुनाव हारेपछि रामराजको राजीनामा

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा, ११ असोज । नेपाली कांग्रेस पोखरा महानगरका तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले सो पदबाट राजीनामा दिएका छन्…
    • लुम्बिनी विकास बैंक र कुटी रिसोर्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा, ११ असोज । लुम्बिनी विकास बैंक लि. ले पोखरा लेकसाइडस्थित कुटि रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा…
    • शवदाह गृहको शिलालेख अनावरण

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      गगनगौंडा । पोखरा ३० गगनगौंडास्थित सतीघाटमा रहेको शवदाह गृहको आइतबार शिलालेख अनावरण गरिएको छ । स्थानीय चन्दादाता र सामुदायिक वनको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads