लकडाउनमा हरियो तरकारी र फलफूलकाे आयात उच्च, स्थानीयले बजार पाएन

रासस
वैशाख १४, २०७७
MD_Biratnagar-d

बन्दाबन्दीका कारण बिक्री नभएपछि मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका किसानले उत्पादन गरेको गोलभेडा बोटमै कुहिने अवस्थामा। तस्बीरः मनोज दाहाल, रासस

बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु ६२ करोड ८५ लाख ९८ हजार बराबरको तरकारी तथा फलफूल आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ५० करोड ८९ लाख २३ बराबरको आयात भएको थियो ।

बन्दाबन्दीको ३१ दिनको अवधिमा रु २५ लाख ९९ हजार मूल्यको २४२ मेट्रिकटन मात्रै हरियो सागसब्जी भारतबाट आयात भएको छ । गत वर्षको यही अवधिमा आयात भएको भन्दा ३१ टन बढी हो ।

प्याजको आयात पनि बन्दाबन्दीको अवधिमा बढी भएको छ । गत वर्षभन्दा पाँच हजार ८०१ मेट्रिकटन बढी प्याज आयात भएकाे छ ।गोलभेडाको आयात पनि बढी भएको देखिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिनुभयो

“स्थानीय तरकारी तथा फलफूलको बजारीकरण नभएकाले भारतबाट आउने तरकारी तथा फलफूलको आयात उच्च भएको हो”, उहाँले भन्नुभयो ।

बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट चना, काँचो नरिवल, काँचो केरा, आँप, सुन्तला, अङ्गुर, कागती, तरबुजा, मेवा, स्याउ, अनार, कटहर गत वर्षभन्दा भारतबाट अत्यधिक बढी नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width