हिउँ पहिरोमा बेपत्ता मध्ये दुई कोरियालीको शव भेटियो

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७
ABC pic

पोखरा, १४ वैशाख । कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा गत माघ तीन गते आएको हिउँ पहिरोमा परी बेपत्ता भएका मध्ये थप दुई जना कोरियाली पदयात्रीको शव भेटिएको छ । उनीहरुको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले पुष्टि गरे ।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित उक्त पदमार्गको हिंकु केभ क्षेत्रमा पहिरो जाँदा चार कोरियाली पदयात्री र तीन नेपाली गाइड तथा पोर्टर गरी सात बेपत्ता भएकोमा यस अघि दुई नेपालीको शव भेटिएको थियो । पहिरो गएको स्थल भन्दा तल मोदी नदी बग्दछ, सोही खोला किनारमा उनीहरको शव भेटिएको थियो ।

स्थानीय पर्यटन व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सुरक्षाकर्मीको टोलीले कोरियालीको शव भेटे पनि भेटिएका शवको नाम पहिचान हुन बाँकी नै रहेको बताइएको छ । अरु बेपत्ताको खोजी कार्य पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हेलिकोप्टर गएर भेटिएका कोरियालीको शव पोखरा ल्याउने र प्रक्रिया सम्पन्न गरी काठमाडौं लगेर सम्बन्धित आफन्तलाई बुझाइने बताइएको छ । दुई कोरियाली र एक नेपाली अझै बेपत्ता छन् । हिउँका कारण हराएकाको खोजी कार्य लामो र कठिन भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width