१४ दिन अनिवार्यरुपमा क्वारेन्टाईनमा बस्नुपर्ने

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७७
waling1

वालिङ, १२ वैशाख । वालिङ नगरपालिकाले पालिकाभन्दा बाहिरबाट आउने नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने कार्यलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
वालिङमा आज आयोजित सर्वपक्षीय, सर्वदलीय बैठकले वालिङभन्दा बाहिरबाट आउने जो कोहीलाई पनि १४ दिनसम्म नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने निर्णयलाई कडाईकासाथ कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको नगर प्रमुख दीलिपप्रताप खाँणले बताए ।

१४ दिन पूरा गरेपछि क्वारेन्टाईनमा बसेकाहरुलाई स्वास्थ्य परीक्षण गरेपछि घर घरमा जान पाउने ब्यवस्था मिलाईएकाले यस निर्णयलाई सबैले कार्यान्वयन गरी सहयोग गरिदिन नगर प्रमुख खाँणले आग्रह गरे । कोरोना संक्रमितको संख्या बढिरहेका बेला वालिङ नगरपालिकामा संक्रमण फैलिन नदिनका लागि यो निर्णयलाई कडाईका साथ कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख खाँणले बताए ।

वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा नगद तथा जिन्सी गरी कूल ३१ लाख ५० हजार ९ सय २६ संकलन भएकोमा नगरभित्रका १४ वटै वडामा दुई हजार ९ सय ६५ लाई प्रथम चरणको राहत वितरण गरिएको नगर प्रमुख खाँणले बताए । नगरपालिकाले हालसम्म ३१ लाख ३५ हजार ३ सय ४५ बराबरको राहत वितरण गरिएको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा शुक्रबारसम्म साढे ३१ लाख संकलन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width