प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन

रासस
वैशाख १२, २०७७
JanakShrestha_Lamjung_RSS_joronapdaipiclamung

दमौली, १२ वैशाख । तनहुँको म्याग्दे गाउँपालिकाले प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले सबै वडाका टोलहरुमा आजदेखि ज्वरो क्लिनिक सञ्चालन गरेको हो ।

सातवटै वडाका अध्यक्ष, टोल विकास संस्थाका पदाधिकारीसँग आवश्यक समन्वय गरी ज्वरो क्लिनिक सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । ज्वरो क्लिनिक सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई टोल–टोलमा खटाइएको छ ।

“कोभिड–१९ को लक्षणसँग मिल्ने ज्वरो, रुघाखोकी, शरीर दुख्नेलगायतका बिरामीको पहिचानका लागि ८२ वटै टोलमा ज्वरो क्लिनिक सञ्चालन गरिने र सर्वसाधारणको तथ्याङ्क सङ्कलन गर्नेछौँ”, प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने । यस अगाडि गाउँपालिकाले विदेशबाट फर्किएका नागरिकको विवरण सङ्कलनका लागि टोल विकास समितिलाई परिचालन गरेको थियो । टोल विकासमार्फत कोभिड–१९ का शङ्कास्पद व्यक्तिको तथ्याङ्क लिने, सङ्क्रमणको जोखिम, लक्षण र आवश्यकता पहिचान गर्ने काम गरेको थियो । गाउँपालिकामा चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ४३ जना रहेको छ ।

“गाउँपालिकावासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई टोल–टोलमा पठाएर सबैको ज्वरो नाप्न शुरु गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले भने । “यसले कोभिड–१९ रोकथामका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।” रानाका अनुसार विभिन्न देशबाट गाउँपालिकामा आएका व्यक्तिको विवरण लिई उनीहरूको स्वास्थ अवस्थाको निगरानी भइरहेको छ ।

ज्वरो क्लिनिकमा स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य परीक्षण गराउनका लागि सम्पूर्ण नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलाई समन्वयका लागि अनुरोध गरिएको छ । यस्तै गाउँपालिकाले पहिलो चरणमा एक हजार ५६० परिवारलाई राहत वितरण गरेको जनाएको छ ।

स्वास्थ्य सहायता कक्षमा ३ हजार १६३ को परीक्षण

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि तनहुँ जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षबाट तीन हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । तनहुँ जिल्ला प्रवेश गर्ने मुख्य नाका तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको कक्षबाट तीन हजार १६३ जनाको परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहँुका अनुसार उक्त कक्षबाट ७६२ महिला र दुई हजार ४०२ पुरुषको परीक्षण गरिएको छ । कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा राखिएको स्वास्थ्य सहायता कक्षमा एक हजार ९०८, भानु नगरपालिका–३ फुस्रेटार, कालीमाटी, भन्सारमा १२२, म्याग्दे गाउँपालिकाको कार्यालयमा २६३, भीमादमा ७९१, ऋषिङका विभिन्न ठाउँमा २७, देवघाटमा ५२ जनाको परीक्षण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…

hero news full width