एसियाली बजारमा तेलको मूल्यमा भारी गिरावट

रासस
वैशाख ८, २०७७
petrol

हङकङ, ८ वैशाख । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ ।

  • तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।

विश्लेषकहरुका अनुसार यसै अप्रिल महिनामा विश्वका ठूला तेल उत्पादक मुलुकहरुबीच प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति भए पनि त्यसले बजारलाई स्थायित्व दिन सकेको देखिएन । विश्वका धेरै देशमा हाल जारी लकडाउन र यात्रा प्रतिबन्धले अर्बौं मानिस घरभित्रै बस्न बाध्य भएका कारण तेलको मागमा व्यापक कमी आएको छ ।

डब्लुटिआईको ओक्लाहोमास्थित कुसिङ तेल भण्डारणमा तेल भरिन लागेको छ । एएनजेडले मागमा कमी आएका कारण कच्चा तेलको मूल्यमा दबाब रहिरहने बताएको छ ।

इटाली, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्यु दर एवं संक्रमित दरमा कमी आएको बताएका छन् । युरोपका देशहरुले लकडाउनमा विस्तारै सहजीकरण गर्न योजना अघि सार्न थालेका छन् भने संयुक्तराज्य अमेरिकामा अर्थतन्त्र र बजार खुलाउन माग गर्दै प्रदर्शन पनि हुन थालेको छ ।

शेयर बजारतर्फ हङकङ, शाङघाई र सियोलको बजार ०.१ प्रतिशतले बढेको छ भने वेलिङटनको शेयर बजार ०.४ प्रतिशतले वृद्धि भएको छ। तर टोकियो शेयर बजार ०.९ प्रतिशतले घटेको छ । सिड्नी र मनिला शेयर बजार १ प्रतिशतले घटेको छ । ताइपेई, सिंगापुर र जकार्ताको शेयर बजारमा कमी आएको छ ।

लगानीकर्ताहरु वासिङ्टन डिसीतर्फ ध्यानदृष्टि लगाएका छन् जहाँ अमेरिकी कङ्ग्रेस र ह्वाइट हाउसबीच साना व्यवसायलाई मद्दत गर्नेगरी अघि सारिएको ४ खर्ब ५० अर्ब डलरको राहत प्याकेजका बारेमा छलफल जारी छ । अमेरिकी सरकारले यसअघि नै अर्थतन्त्रलाई जोगाउन २० खर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width